close

१५ असाेजमा कांग्रेस केन्द्रीय समिति बैठक

१५ असाेजमा कांग्रेस केन्द्रीय समिति बैठक

Trulli
ADVERTISEMENT

काठमाडौं - नेपाली कांग्रेसले आगामी १४औं महाधिवेशन तयारीबारे छलफल गर्न असोज १९ मा पार्टी मुख्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।


बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थिति हुन निर्देशन गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 


कोभिड–१९ महामारीका कारण बैठक अगाडि कांग्रेसले पदाधिकारी, सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र केन्द्रीय कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीको कोरोना परीक्षण गर्ने भएको छ ।


त्यसका लागि १५ असोज बिहान ११ बाट ३ बजेसम्म सम्पूर्ण पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र कर्मचारीहरूलाई अनिवार्य पार्टी केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गरिएको पौडेलले बताए । 


कोरोना महामारीले फागुन ७ देखि १० का लागि निर्धारित १४औं महाधिवेशन अन्योल बनेपछि कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो । कोरोना महामारीका बीच वर्तमान कार्यविधिभित्र रहेर निर्धारित मितिमा महाधिवेशन गर्न सम्भव नभएपछि बैठकले छलफलबाट निकास खोज्नेछ । 


कांग्रेसमा पार्टी संयोजन, क्रियाशील सदस्यता वितरण र नवीकरणका कार्यसूचीमै कोरोनाको चुनौती खडा भएको छ । असोज ६ सम्म पनि केही जिल्लामा पार्टी संयोजन, क्रियाशील सदस्यता वितरण र नवीकरणको काम सम्पन्न हुन सकेको छैन । 


संक्रमण बढ्दै गएकाले अझै केही साता त्यस प्रकारका राजनीतिक गतिविधि अघि बढाउन सम्भव नहुने र कात्तिक एवं मंसिरको पहिलो सातासम्म दसैंतिहार र छठजस्ता चाडपर्व पर्ने भएकाले निर्धारित कार्यसूचीअनुसार फागुनमा महाधिवेशन हुन नसक्ने देखिएको हो ।  बैठकमा ती सबै विषयलाई ध्यानमा राखेर नयाँ विकल्प अगाडि सारिने कांग्रेस स्रोतले बतायो ।