close

कर्मचारी नियुक्तिमा राजनीतिक दलकाे दादागिरी, विज्ञापन नै नगरी २१ कार्यकर्तालाई जागिर !

कर्मचारी नियुक्तिमा राजनीतिक दलकाे दादागिरी, विज्ञापन नै नगरी २१ कार्यकर्तालाई जागिर !

Trulli
ADVERTISEMENT

दैलेख - भैरवी गाउँपालिकाले लिखित रुपमै राजनीतिक सहमति गरेर कर्मचारी नियुक्तिमा भागबन्डा गरेको छ । गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढाको अगुवाइमा निर्वाचित जनप्रतिनिधिहरूले पालिकालाई आवश्यक पर्ने जनशक्ति सूचना प्रकाशन नै नगरी राजनीतिक भागबन्डामा गर्दै आएको खुलासा भएको हो । 


असोज ९ को राजनीतिक गोप्य सहमतिपत्रमा गाउँपालिका अध्यक्ष बुढा, उपाध्यक्ष पदमकुमारी विष्ट, वडा– ६ का वडाध्यक्ष डिल्लीराम पुरी, वडा–५ का वडाध्यक्ष हेमलाल जैसी, वडा–३ का वडाध्यक्ष देवी भण्डारी, वडा–४ का वडाध्यक्ष वीरेन्द्रबहादुर शाही र कार्यपालिका सदस्य खड्गे नेपालीले संयुक्त हस्ताक्षर गरेका छन् ।


कर्मचारी भर्नामा राजनीतिक सहमति भएको गाउँपालिका अध्यक्ष बुढाले स्वीकारे । ‘निर्णय भइसकेको छैन । छलफलका लागि मात्र एजेन्डा तयार गरिएको हो । यो कुनै नियुक्ति होइन, कुनै निर्णय पनि होइन,’ बुढाले भने ।


कर्मचार राख्न आवश्यक भए-नभएको सम्बन्धमा सोधखोज हुँदा त्यसलाई भागबन्डाका आधारमा कर्मचारी नियुक्त गरेको भन्न निमिल्ने गाउँपालिकाको तर्क छ । 


राजनीतिक सहमतिमा कर्मचारी नियुक्तिको भागबन्डा भएको गलत हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगाली बताउँछन् । ‘राजनीतिक सहमतिमा कर्मचारी भर्ना गर्ने कुनै ऐन, नियम, र कार्यविधिमै छैन । यो सोह्रै आना गलत हो  । यस विषयलाई कुनै जानकारी छैन’, पंगालीले भने ।


‘राजनीतिक सहमति भनेकै आफ्नन कार्यकर्ता र आफन्तलाई जागिर खुवाउनु हो । अहिले सहमति गर्ने तर खबर बाहिरिएपछि स्थगित गरेझै‌ देखिए पनि एक महिनापछि तिनीहरूलाई आन्तरिक सहमतिमा नियुक्ति गर्ने सोच भएको छ’, नाम नखुलाउने सर्तमा एक कर्मचारीले भने ।


कांग्रेस निकट ११ र नेकपा निकट १०  गरी २१ जना कार्यकर्तालाई सूचनाबिनै  राख्न प्रपञ्च भइरहेको ती कर्मचारीको दाबी छ । उनी भन्छन्, ‘पुराना कर्मचारीलाई व्यवस्थापन गर्नुका साटो कार्यकर्ता भर्ती गरिँदै छ ।’

 

यस्तो छ, सहमति–पत्र


असोज ९ को सर्वपक्षीय बैठकमा करार सेवाका कर्मचारीसम्बन्धी सहमतिमा नरेश विक, प्रेमप्रकाश खत्री, एक शाही, अनिल विक, कार्यालय सहयोगी रमेश रिजाल  वडा–६ का लागि कम्प्युटर अपरेटर राखिने सहमति भएको छ ।


ल्याबमा खेमराज थापा, महिला विकास कर्मचारी २ जनाको नाम सार्वजनिक नगरिए पनि सहमति भइसकेको छ ।


यस्तै, राजेश रिजाल, हेमलाल रिजाल, तेजबहादुर थापा, प्रवीण शाही, कम्प्युटर अपरेटरको नाम सार्वजनिक नगरी दलीय सहमतिमा छनोट गरिँदै छ ।


गाउँपालिका वडा–७ को कम्प्युटर अपरेटर र खानेपानी टेक्निसियनको सहमतिमा नाम खुलाइएको छैन । अनमि १ र नरेन्द्र थापा, सुनिल शाहीलाई  छनोट गर्ने गरी १९ कर्मचारीसहितको नामावली रहेको सहमतिपत्रमा उल्लेख छ ।


त्यस्तै, सहमतिपत्रमा भैरवी गाउँपालिका–७ पानीपोखरा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा १ स्वास्थ्यकर्मी (चौथो तह) र १ कार्यालय सहयोगी वडा– ७ ले आर्थिक भार बेहोर्ने गरी नियुक्त गर्ने सहमति पनि भएको छ ।