close

प्रदेश २ मा ओली समूह कमजोर : पार्टी कार्यालयमा नेपाल-प्रचण्ड समूहको कब्जा

प्रदेश २ मा ओली समूह कमजोर : पार्टी कार्यालयमा नेपाल-प्रचण्ड समूहको कब्जा

Trulli
ADVERTISEMENT

धनुषा- तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी अनौपचारिक रूपमा फुटिसकेको छ । विभिन्न जिल्लामा प्रधानमन्त्री केपी ओली समूहले तत्कालीन एमालेको पार्टी कार्यालय प्रयोग गर्न थालेको छ भने प्रचण्ड-नेपाल समूहले तत्कालीन माओवादीको कार्यालयमा आँखा लगाइरहेको छ । 

 

प्रदेश २ को मुकाम धनुषामा पनि नेकपामा ओली र माधवकुमार नेपाल-प्रचण्ड समूहबीच यस्तै शृंखला दोहोरिँदै छ ।धनुषामा केही नेताबाहेक अधिकांश प्रचण्ड-नेपाल समूहमा देखिएका छन् । रघुवीर महासेठ, जुली महतो र योगनारायण यादव तथा राजकिशोर यादवबाहेकका नेताहरू प्रचण्ड-नेपाल समूहमा रहेकाले धनुषामा ओली समूह कमजोर देखिन्छ ।

 

प्रचण्ड-नेपाल समूहका नेताहरूले सोमबार तत्कालीन एमालेको पार्टी कार्यालय मिथिला भवनमा भेला भएर र केपी समूहलाई खबरदारी गरे । भेलामा रामचन्द्र झा, सत्रुघ्न महतो, श्रीप्रसाद साह, रत्नेश्वरलाल गोइतसहितका नेताहरूले प्रधानमन्त्रीविरुद्ध विष वमन गर्न भ्याए । 


नेता रामचन्द्र झाले भने, ‘कम्युनिस्टको नाममा कतिले गोली र लाठी मात्र खाए । कतिपयले सत्ता र भत्ताको नाममा रजाइँ मात्र गरे ।’ प्रदेश २ का सांसदसमेत रहेका सत्रुघ्न महतोले गणतन्त्र आउँदा ओलीले बैलगाडामा अमेरिका पुगिँदैन भनेको स्मरण गर्दै भने, ‘त्यतिबेलै ओलीले भनेको कुरा नबुझ्दा अहिलेको अवस्था आएको हो ।’

 

अर्का नेता गणेश साह ओलीले गरेको प्रतिनिधिसभाविरुद्ध कम्युनिस्ट शक्ति एक भएर प्रतिवाद गर्नुपर्ने बताए । १४ पुसमा जनकपुरधाममा कम्युनिस्टको शक्ति प्रदर्शन हुने उनको दाबी छ । साहले भने, ‘ढिलै भए पनि ओलीलाई चिनियो । अब परास्त गरेरै छाड्नुपर्छ ।’ नेता श्रीप्रसाद साहले ओलीमा कम्युनिस्टको कुनै गुण नरहेको दाबी गरे । 

 

भेलामा नेता रत्नेश्वरलाल गोइतले समेत ओली अधिनायकवादी भएको आरोप लगाए । प्रतिनिधिसभा सांसद बोधमाया यादव, प्रदेश सांसद भरत साह, श्रवण यादव बरबरिया, यदुवंश झा, दीपक यादव, शीतल झालगायत सहभागी सो भेला मंगलबार हुने देशव्यापी विरोध प्रदर्शनको आधार तयार गर्न आयोजना गरिएको हो ।