close

ताप्लेजुङमा ओली समूहलाई चिठ्ठा

प्रचण्ड समर्थक ओलीको कित्तामा

ताप्लेजुङमा ओली समूहलाई चिठ्ठा

प्रचण्ड समर्थक ओलीको कित्तामा

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- नेपाली कांग्रेस र तत्कालीन नेकपा माओवादी केन्द्र मिलेर बनेको संयुक्त सरकारका राज्यमन्त्री ओङ्दी शेर्पासहित ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने ३ जना संविधानसभा सदस्य प्रधानमन्त्री केपी ओलीको नेकपामा देखिएका छन् । उनीहरू सदरमुकाम फुङ्लिङस्थित पाथीभरा गेस्ट हाउसमा आयोजित ओली समूहको प्रारम्भिक भेलामा देखिएका हुन् ।

 

शेर्पासहित संविधानसभा सदस्य भूपेन्द्र थेबे र सञ्चपाल मादेन नेकपाको ओली समूहको भेलामा उपस्थित थिए । पूर्वराज्यमन्त्री शेर्पा २०७० सालको संविधानसभामा तत्कालीन माओवादी केन्द्रबाट समानुपातिक सदस्य थिए ।


थेबे २०७० सालको संविधानसभा निर्वाचनमा ताप्लेजुङ निर्वाचन क्षेत्र नम्बर- १ बाट तत्कालीन नेकपा एमालेको सूर्य चिह्न लिएर विजयी भएका थिए । मादेन २०६४ सालको निर्वाचनमा तत्कालीन नेकपा माओवादीबाट समानुपातिक सदस्यको रूपमा संविधानसभामा थिए ।


कुनै बेला प्रधामन्त्रीका कटु आलोचक रहेका पूर्वराज्यमन्त्री शेर्पा एकाएक ओली समूहमा देखिएका छन् । ‘प्रधानमन्त्री ओलीलाई काम गर्न नदिने, जहिल्यै घेराबन्दी मात्र गर्ने तथा पार्टीलाई विभाजन र अस्थिरतामा धकेल्ने प्रचण्ड-माधव समूहको हर्कतविरुद्ध निर्वाचनबाहेक अर्को विकल्प छैन’, मादेनले भने ।

 

तत्कालीन नेकपा एमाले र नेकपा माओवादीबाट प्रतिनिधिसभा र संविधानसभामा रहेकामध्ये तिलकुमार मेन्याङ्वो, डम्बरध्वज तुम्बाहाम्फे, पासाङ शेर्पा नेकपाको प्रचण्ड-माधव खेमामा छन् ।

 

ओली खेमामा फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेल, नेकपा मिक्वाखोला गाउँपालिका संगठन कमिटी अध्यक्ष दिवस लिवाङ, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष शरदराज निरौला, युवा संघका जिल्ला इञ्चार्ज दीपेन पोमु, सहसंयोजक आशीष केदेम र युवा नेता मणिशंकर पोमु पनि देखिएका छन् ।

 
केन्द्रीय, प्रदेश कमिटी र जिल्ला कार्यालयको पूरै टिम प्रचण्ड-माधव खेमामा 


एकीकृत पार्टी हुँदा ताप्लेजुङबाट ४ जना केन्द्रीय सदस्य थिए । जिल्ला इञ्चार्ज भाष्कर काफ्ले, सहइञ्चार्ज तिलकुमार मेन्याङ्वो, प्रदेश सांसद टंक आङ्बुहाङ र संविधानसभा सदस्य पासाङ शेर्पा चारै जना प्रचण्ड-माधव खेमामा छन् । 

 

प्रदेश कमिटीमा पूर्वएमालेबाट बलबहादुर साम्सोहाङ र अम्बिका राजभण्डारी तथा पूर्वमाओवादी केन्द्रबाट विजयप्रकाश वनेम, खेलप्रसाद बुढाक्षेत्री, लक्ष्मीप्रसाद अन्छङ्वो र मिङ्माडन्डु शेर्पा सदस्य थिए । अहिले सबै प्रचण्ड-माधव खेमामा लागेका छन् ।

 

जिल्ला कार्यालय टिममा तत्कालीन नेकपा एमालेबाट ४ तथा तत्कालीन नेकपा माओवादी केन्द्रबाट ३ गरी ७ सदस्य थिए । कार्यालय टिममा रहेका विजयप्रकाश वनेम, बलहादुर साम्सोहाङ, मातृकाप्रसाद भट्टराई, सन्तोष खतिवडा, गोपाल थोप्रा, वीरु हाङ्वाङ र सुरज ओझा प्रचण्ड-माधव खेमामा देखिएका छन् ।

 

एकीकृत पार्टी हुँदाका जिल्ला अध्यक्ष वनेम र सचिव साम्सोहाङ दुवै प्रचण्ड-माधव खेमामा छन् । २०७४ सालको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा निर्वाचित प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराई तथा प्रदेशसभाका बलबहादुर साम्सोहाङ, टंक आङबुहाङ र होमकुमारी साँवा पनि प्रचण्ड-माधव खेमामा छन् । यीमध्ये साँवा प्रदेशसभामा समानुपातिक सांसद हुन् ।