close

नेकपा विभाजनपछि काठमाडौंका जनप्रतिनिधिः को कता लागे ?

६ नगरप्रमुख मध्ये ओलीले लगे ४, प्रचण्ड–नेपाललाई २ को साथ

नेकपा विभाजनपछि काठमाडौंका जनप्रतिनिधिः को कता लागे ?

६ नगरप्रमुख मध्ये ओलीले लगे ४, प्रचण्ड–नेपाललाई २ को साथ

Trulli
ADVERTISEMENT

काठमाडौं– नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै देशभर समर्थन र विरोधका कार्यक्रम भइरहेका छन् । नेकपाको विवाद यतिबेला निर्वाचन आयोगमा विचाराधीन छ ।


जनप्रतिनिधिहरू भने ओली र माधव–प्रचण्ड समूहमा विभाजित भइरहेका छन् । काठमाडौं जिल्लाका जनप्रतिनिधि पनि २ समूहमा विभाजित भएका छन् ।


स्थानीय तहको निर्वाचनमा काठमाडौं जिल्लाका १० नगरपालिकामध्ये ६ वटामा नेकपाले विजय प्राप्त गरेको थियो । नेकपाका ४ जना नगरप्रमुख ओली समूहमा देखिएका छन् भने २ जना प्रमुख प्रचण्ड–नेपालतिर लागेका छन् ।


काठमाडौंको शंखरापुरका प्रमुख सुवर्ण श्रेष्ठ, बूढानीलकण्ठका प्रमुख उद्धव खरेल, टोखाका प्रमुख प्रकाश अधिकारी र तारकेश्वरका प्रमुख रामेश्वर बोहरा ओली पक्षको केन्द्रीय सदस्य बनेका छन् । कागेश्वरीका प्रमुख कृष्ण हरि थापा र कीर्तिपुरका प्रमुख रमेश महर्जन प्रचण्ड–नेपाल पक्षमा खुलेका छन् ।

 

त्यस्तै, उपप्रमुखमा कागेश्वरी मनोहराकी उपप्रमुख बिन्दु पुडासैनी, बूढानीलकण्ठकी उपप्रमुख रमा राई, टोखाकी उपप्रमुख ज्ञानमाया डंगोल र चन्द्रागिरिकी उपप्रमुख ओली पक्षमा देखिएका छन् । शंखरापुरकी उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठ र कीर्तिपुरकी उपप्रमुख सरस्वती खड्का प्रचण्ड–नेपाल समूहमा देखिएका छन् ।


त्यस्तै, तारकेश्वरकी उपप्रमुख भवानी डोटेल र नागर्जुनकी उपप्रमुख सुशीला अधिकारी हालसम्म कुनै पक्षमा खुलेर लागेका छैनन् ।


प्रधानमन्त्री ओलीले संविधानविपरीत काम गरेकाले समर्थन गर्न नसकिएको शंखरापुर नगर उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठले बताइन् । व्यक्तिको पक्ष नभई विधि र पद्धतिको पक्ष लिइएको उनको जिकिर छ ।

 

‘जुन समूहले नेकपाको आधिकारिकता पाउँछ, त्यसले कारबाही गर्न सक्छ । यदि भोलि आधिकारिकता पाउने पार्टीले कारबाही गर्छ भने त्यो पनि भोग्न तयार छु’, उनले भनिन् ।