close

सित्तैमा गाडी र खाना पाएपछि ‘लभ यू केपी बा’ !

सहभागी भन्छन्ः किन आएँ थाहै पो छैन

सित्तैमा गाडी र खाना पाएपछि ‘लभ यू केपी बा’ !

सहभागी भन्छन्ः किन आएँ थाहै पो छैन

Trulli
ADVERTISEMENT

काठमाडौं– प्रधानमन्त्री केपी ओली समूहको नेकपाले काठमाडौंको दरबारमार्ग पूरै ढाकेर शुक्रबार आमसभा गर्‍यो । ओली खेमाले नारायणहिटी गेटमै आमसभा गर्ने उद्घोषसहित २ लाख जनतालाई सडकमा ल्याउने घोषणा गरेको थियो ।

 

ओली खेमाको घोषणाअनुसार हिमाल, पहाड र तराईका जनता सडकमा त देखिए तर केका लागि ल्याइएको थियो, स्वयं उनीहरू नै अनभिज्ञ देखिए ।

 

ओली नेकपाको आमसभामा कतै फोटोसहितको झन्डा बोकेर ‘केपी ओली वी लभ यू’ भन्दै नारासमेत घन्काइयो । आमसभामा काठमाडौं ल्याइएका विशेषगरी तराईबाट आएकाहरूले आफू किन आएको भन्ने भेउ नै पाएका थिएनन् ।

 

एकातिर प्रधानमन्त्रीका कार्यकर्ताले ओलीको जयजयकार गरिरहेका थिए भने अर्कातिर गाउँका नेताहरूले सित्तैमा काठमाडांै जान पाइने, खान, खाजा र गाडी भाडा नलाग्ने आश्वास दिए । सोही कारण कतिपय तराईबासी आमसभाको निहुँ पारेर काठमाडौं देख्ने रहरले पनि आएका भेटिए ।

 

राजधानीमा शुुक्रबार परेको पानीले चिसो मौसम, पटपट फुटेका पाइतला, पातलो धोतीमा सजिएका र हातमा ओलीको फोटोसहितको झन्डा बोकेका मानिसको संख्या बाक्लो थियो ।

 

बिहीबार बेलुका गाडी चढेर शुक्रबार बिहान आमसभाका लागि काठमाडाैं ल्याइएका बाराका श्रीपुजन साह खाना, खाजा र गाडी भाडा तिर्नु नपर्ने सर्तमा आएको बताउँछन् । आमसभा सकेपछि बेलुकै घर जाने उनी सुनाउँछन् ।

 

उनलाई सडकमा आफू किन आएको हो, थाहापत्तै छैन । गाउँका नेताहरूले काठमाडांैमा केपी ओलीको आन्दोलन छ, जानूपर्छ भनेर आफू आएको उनले बताए ।

 

दरबारमार्गको एक कुनामा बसेर बदाम खाँदै गरेका साहले भने, ‘नेताले जानुपर्छ भनेर आएँ । सकेसम्म आजै घर फर्किने हो । अरू मलाई केही थाहा छैन ।’


कतिसम्म भने तराईबाट आमसभामा ल्याइएका वृद्धहरूलाई सञ्चारकर्मीसँग कुरा गर्न पनि गाउँका नेताहरूको अनुमति लिनुपर्ने अवस्था देखियो । आमसभाको रिपोर्टिङका क्रममा उनीहरूसँग कुरा गर्दा यस्तो देखियो ।

 

आमसभाकै लागि काठमाडौं ल्याइएका नरबहादुर बुढाले सरकारले हेरचाह गर्ने आशमा आमसभामा सहभागी भएको बताए । ‘गाउँका नेताले सरकारले वृद्धाभत्ता दियो । जनतालाई हेर्छ भन्दै काठमाडौं ल्याएका हुन्,’ उनले भने ।

 

ओलीको भेलामा गयो भने खान दिने गाउँका नेताले भनेपछि काठमाडाैं आएको रौतहटकी चन्दाकुमारी सुनाउँछिन् । यी त प्रतिनिधि पात्र मात्र हुन् । काठमाडौंमा शुक्रबार भएको आमसभामा रौतहट, बारा, पर्सा, बझाङ, बाजुरालगायत जिल्लाबाट आएका सर्वसाधारण सरकारले के गर्छ र किन जाने भन्ने नै थाहा नभएका समेत भेटिए ।