close

होला त कांग्रेस महाधिवेशन ? 

होला त कांग्रेस महाधिवेशन ? 

Trulli
ADVERTISEMENT

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन कार्यतालिका छोटो अवधिमै सकाएर तोकिएको कार्यतालिकामै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने भएको छ । वडा, गाउँपालिका, नगरपालिका, प्रदेश, संघीय निर्वाचन क्षेत्र र प्रदेश स्तरको अधिवेशनको अन्तर एक÷दुई दिन मात्रै राखेर भए पनि समयमै अधिवेशन गर्ने निर्णयमा कांग्रेस जुटेको हो  । कांग्रेसले १६ भदौमा १४औँ केन्द्रीय महाधिवेशन उद्घाटन हुने कार्यतालिका घोषणा गरेको छ ।


पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विभिन्न तहको अधिवेशन हुने दिनलाई छोट्याएर कार्यतालिका छोटो बनाइने जानकारी दिए । अब वडा र पालिका स्तरको अधिवेशन सम्भव भएसम्म एकै दिन र नभए एक दिन मात्र फरक गरिने उनको भनाइ छ । यसअघिको कार्यतालिकामा वडा र पालिका स्तरको अधिवेशनमा चार दिनको फरक थियो । साथै, जिल्ला र प्रदेश स्तरमा हुने समय छोट्याइनेछ ।


जिल्लामा पनि प्रदेश निर्वाचन क्षेत्र, संघीय निर्वाचनको क्षेत्र र जिल्ला अधिवेशनमा एक-दुई दिनकै फरकमा गरिने मुख्य सचिव पौडेलले जानकारी दिए । स्थानीय स्तरको पार्टी संरचनाको अधिवेशनमा लाग्ने समय छोट्याउन सके निर्धारित समयमै अधिवेशन गर्न सकिने उनको विश्वास छ ।


कांग्रेसले क्रियाशील सदस्यताका बारेमा देखिएको विवादको किनारा ढिलोमा दुई दिनभित्र टुंगो लगाउने भएको छ । मुख्य सचिव पौडेलले शीर्ष नेताहरूले यसमा आवश्यक काम गरिरहेको बताए ।  यसअघि बसेको पार्टी पदाधिकारी बैठकले क्रियाशील सदस्यताबारे बाँकी रहेका विवाद मिलाउने जिम्मेवारी शीर्ष नेतालाई दिने निर्णय गरेको थियो । केन्द्रीय सदस्य रमेश लेखक संयोजकत्वको छानबिन समितिले १२ साउनमा पार्टी सभापति शेरबहादुर देउवालाई छानबिन समितिको अन्तिम प्रतिवेदन बुझाएको थियो । 


छानबिन समितिले धनुषा, सर्लाही, बारा र सप्तरी गरी चार वटा जिल्लामा नयाँ क्रियाशील सदस्यताको विवाद समाधान गर्न सकेको छैन । पार्टी समायोजनका क्रममा वितरण गरिएको क्रियाशील सदस्यताका कारण सिन्धुपाल्चोक र रसुवाको विवादमा पनि छानबिन समिति निचोडमा पुग्न सकेको छैन ।


यी सबै विवाद शीर्ष नेतृत्वले नै समाधान गर्ने गरी छानबिन समितिले प्रतिवेदन बुझाएको छ । अब क्रियाशील सदस्यताको सबै खाले विवाद समाधान गरी पार्टी महाधिवेशनमा जुट्ने मुख्य सचिव पौडेलले बताए ।


कांग्रेसले क्रियाशील सदस्यताको विवाद निष्कर्षमा पु¥याउन नसक्दा १२ साउनका लागि तोकिएको वडास्तरीय र १६ साउनको पालिका स्तरको अधिवेशन स्थगित गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।