close

गिरिजालाई कालो झण्डा, होलेरीमा फायर खोल्दा...

गिरिजालाई कालो झण्डा, होलेरीमा फायर खोल्दा...

Trulli
ADVERTISEMENT

रुपन्देही- लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुल प्रसाद केसी(सोनाम)लाई लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । 


संविधानको धारा १६८(२) अनुसारको सरकार गठन गर्न प्रदेश प्रमुख शेरचनबाट आह्वान भए अनुसार ४२ सांसदको समर्थन रहेको हस्ताक्षर सहित माओवादी केन्द्र संसदीय दलका नेता केसीले दाबी प्रस्तुत गरेपछि प्रदेश प्रमुख शेरचनले केसीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।


अविश्वासको प्रस्तावको सामाना नगरी मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि प्रस्ताव आह्वान गरेका थिए । लुम्बिनी प्रदेशसभाका ३४ सांसदको समावेदनका आधारमा २७ गतेका लागि बोलाइएको विशेष अधिवेशनमा अविश्वासको प्रस्ताव टेवल हुँदै गर्दा मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएका थिए । 

 

विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव दर्ता गर्ने बेलामा नै केसीलाई नयाँ मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेका थिए । मुख्यमन्त्री पोखरेल नेतृत्वको मन्त्रिपरिषदमा आन्तरिक मामिला तथा कानुन मन्त्री केसी थिए ।


को हुन् कुलप्रसाद केसी ?

२०२७ साल माघ १० रोल्पाको कोटगाउँ २, जिबाङमा सामान्य किसान परिवारमा कुल प्रसाद केसीको जन्म भएको हो । बुवा टिकाराम केसी र आमा रजमता केसीको गर्भबाट जन्मेका केसीको पुर्ख्याैली पेशा किसानी नै हो । 

 

सदरमुकाम लिबाङस्थित बालकल्याण उच्च माध्यमिक विद्यालयबाट प्रवेशिका उत्तिर्ण गरेका केसीले दाङको महेन्द्र बहुमुखी क्याम्पसबाट प्रविणता प्रमाणपत्र तह उतिर्ण गरेका छन् ।


केसीका आमा बुवा र अन्य परिवार अहिले पनि रोल्पामा खेतीपाती गर्दै आएका छन् । माओवादीको शसस्त्र बिद्रोह जारी रहेकै अवस्थामा ताराकुमारी घर्तीमगरसँग विवाह गरेका केसीको एक छोरी र एक छोरा छन् । नेकपा मशालबाट राजनीति शुरु गरेका केसी हाल नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य छन् ।

 

राजनीतिक यात्रा

मुख्यमन्त्री केसीले २०४३ सालबाट राजनीति सुरु गरेका हुन् । तत्कालीन मशालको विद्यार्थी संगठन अनेरास्ववियूबाट शुरु गरेका केसीले अहिलेसम्म अविचलित राजनीतिक यात्रा गर्दै आएका छन् । अखिलको साधारण सदस्य बनेका केसी सदस्यता पाएकै वर्ष बिद्यार्थी संगठनको जिल्ला सदस्य बनेका थिए । दिनभर शिक्षण पेशामा देखिने केसी रातभरी मसालको संगठन बनाउन हिंड्ने गर्दथे ।

 

२०४६ देखि २०४७ पार्टीको विद्यार्थी संगठनको दाङ जिल्ला सचिवको जिम्मेवारीको रुपमा काम गरे । केसीले औपचारिक रुपमा पार्टीको सदस्यता भने २०४७ सालमा प्राप्त गरे । २०४८ मा पार्टीले एरिया सेक्रेटरीको जिम्मेवारी दियो ।

 

२०४८ सालमा केसी स्थायी शिक्षकमा रुपमा स्थानीय विद्यालयमा पढाउन सुरु गरेका थिए । उनले शिक्षण पेशासँगै राजनीतिको मार्गलाई छोडेनन् । अध्यापनसँगै पार्टीले दिएको जिम्मेवारी र विभिन्न कार्यक्रममा भाग लिनु केसीको जीवनचर्या जस्तै बन्दै गयो । 


राजनीतिमा अगाडि बढेपनि उनले शिक्षण पेशालाई भने निरन्तरता दिन सकेनन् । २०५० सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जिल्ला भ्रमणमा कालो झण्डा देखाएको अभियोगमा उनलाई राजनीतिक मुद्दा लगाएर शिक्षकबाट निष्काशन गरियो ।

 

केसीले २०५० सालबाट केसीले भुमिगत राजनीति सुरु गरेका थिए । २०५२ सालमा पार्टीले जनयुद्ध सुरु गर्दा केसी दोस्रो जिल्ला सम्मेलनबाट जिल्ला समिति सदस्यमा चयन भइसकेका थिए । भुमिगत राजनीतिक गतिविधिकै क्रममा सोनाम र ताराकुमारीका बीच २०५२ फागुन ११ गते जनवादी विवाह भएको थियो । 

 

पार्टीले आयोजना गरेको सोही जनबादी विवाहको कार्यक्रममा वर्षमान पुन र ओनसरी घर्ती तथा रणबहादुर मगर र आशा पुनको पनि बिबाह भएको थियो । तत्कालीन माओवादीको युद्ध अभ्यास स्वरुप होलेरी आक्रमण गर्दा उक्त मोर्चामा केसी पनि सहभागी भए । होलेरी आक्रमणमा केसीसँगै वर्षमान पुन अनन्त, ओनसरी घर्ती, ताराकुमारी घर्ती लगायत सहभागी थिए ।


माओवादी आन्दोलनले विस्तारै गति लिन थालेपछि २०५५ सालमा दाङ-सल्यान-प्यूठान संयुक्त जिल्लाको सेक्रेटरीको जिम्मेवारीमा केसीले नेतृत्व गरेका थिए । २०५६ सालमा भेरी-कर्णाली शैन्य कमिसार हुँदै केसी २०५७ सालमा माओवादी पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए ।


भारतीय जेलमा ३ वर्षे जेल यात्रा

२०६० सालमा पार्टीको बैठकको लागि भारत जाँदा केसी भारतको पटनाबाट गिरफ्तार भए । बैठक सहित अल्सरबाट ग्रस्त बिरामी रहेकी केसी पत्नी ताराकुमारी पनि सँगै गिरफ्तार भएकी थिईन् । सोनामले ३ वर्ष ३ महिना र श्रीमती ताराले ३ वर्ष भारतको बक्सर जेलमा कैदी जिवन बिताएका थिए ।


जेलबाट फर्केपछि पुनः राजनीति

२०६३ सालमा जेलमुक्त भएपछि सोनाम पार्टीको कामीडाँडा बैठकबाट जनमुक्ति सेनाको तेस्रो डिभिजन कमिसार भए । साथै उनी नारायणी-भेरी -कर्णाली-सेती र महाकाली ब्यूरो इन्चार्चको जिम्मेवारी समेत सम्हाले । 

 

शान्ति प्रक्रिया सुरु भएपछि सेना समायोजनको क्रममा पार्टीले उनलाई वाइसिएलको इन्चार्जको जिम्मेवारी दिएको थियो । २०५९ सालमा एकीकृत माओवादीको पोलिटव्यूरो सदस्य चुनिएका थिए । माओवादी पार्टीको विभाजन भएपछि भने केसी केहि समय रामबहादुर थापा बादलसँगै मोहन वैद्य समूहमा आवद्ध भए । बैद्य नेतृत्वको पार्टीमा स्थायी समितिमा रहेर काम गरे ।


विभाजनले माओवादी आन्दोलन कमजोर हुने आँकलन गरेपछि २०७३ सालमा माओवादी केन्द्र गठन हुँदा केन्द्रीय कार्यालय सदस्य भए । त्यसपश्चात २०७४ सालको प्रदेशसभा निर्वाचनमा उनलाई पार्टीले रोल्पा जिल्ला निर्वार्चन क्षेत्र नं. १ (क)बाट उम्मेदवार बने र प्रदेशसभा सदस्यमा निर्वाचित भए ।


संयुक्त घोषणापत्रका आधारमा चुनावी मैदानमा गएपनि एमाले र माओवादी एक नहुँदासम्म सोनाम माओवादी केन्द्र संसदीयदलको नेता बने र पार्टी एकिकरण भएर नेकपा बनेपछि पार्टीको प्रदेश सह इन्चार्ज सहित संसदीयदलमा उपनेता बने । पार्टीको तर्फबाट सरकारमा नेतृत्व गरेका उनी शंकर पोखरेल नेतृत्वको प्रदेश नम्बर ५ प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्री बनेका थिए ।