close

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले पाए विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले पाए विश्वासको मत

Trulli
ADVERTISEMENT

रूपन्देही–लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन् । लुम्बिनी प्रदेशसभामा भएको मत विभाजनमा विश्वासको मतको पक्षमा ४२ सांसदले मत दिए भने विपक्षमा कुनै पनि सांसदले मत दिएनन् ।

 

सांसद मत विभाजन प्रक्रियामा समावेश नै भएनन् । प्रदेशसभामा ८० जना सांसद छन् । तीमध्ये ४३ जना मात्रै मत विभाजनको प्रक्रियामा सहभागी भएका थिए ।
नेपालको संविधानको धारा १८८ को उपधारा १ अनुसार केसीले प्रदेशसभामा पेस गरेको विश्वासको मतको पक्षमा बहुमत पुगेकाले प्रदेशसभाको विश्वास रहेको सभामुख पूर्णबहादुर घर्तीले सदनमा जानकारी दिए ।

 

कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले केसीलाई मत दिएका थिए । तर, प्रतिपक्ष एमालेले सदन वहिष्कार गरेका कारण पार्टीका ३७ सांसद मत विभाजनमा उपस्थित भएनन् । 

 

मुख्यमन्त्री केसीलाई कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १८, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय जनमोर्चाका १ र सूर्य चिह्नबाट निर्वाचित एक स्वतन्त्र समूहका १ सांसदले मत दिएका हुन् ।

 

एमालेले आप्mना दुई सांसद अजय शाही र विमलाकुमारी खत्रीमाथि गरेको कारबाहीअनुसार पदमुक्त नगरुन्जेल सदन चल्न नदिने बताउँदै सदनमा उपस्थित भएन ।

 

मुख्यमन्त्री केसीले अगाडि सारे नयाँ नारा 

 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशका लागि नयाँ नारा अघि सारेका छन् । मुख्यमन्त्री भएपछि विश्वासको मत लिन प्रदेशसभामा सम्बोधन गर्दै उनले समृद्ध लुम्बिनी आत्मनिर्भर लुम्बिनी नाराअनुसार अघि बढ्ने उल्लेख गरे ।

 

केसीले यसअघिको नारालाई विकसित रूपमा नयाँ नारा बनाइएको बताए । ‘लुम्बिनी प्रदेशमा पूर्ववर्ती सरकारको सोचको रूपमा रहेको समृद्ध प्रदेश खुसी जनताको नारालाई विकसित रूपमा प्रदेशलाई आत्मनिर्भर बनाउने ध्येयका साथ स्वास्थ्य, शिक्षा र कृषिलगायत कार्यक्रमलाई नयाँ ढंगले अघि बढाइनेछ,’ उनले भने ।