close

एमालेको सिंगो जिल्ला कमिटी नेकपा एकीकृत समाजवादीमा समाहित

एमालेको सिंगो जिल्ला कमिटी नेकपा एकीकृत समाजवादीमा समाहित

Trulli
ADVERTISEMENT

जुम्ला– नेकपा एमाले जुम्लाको ६१ सदस्यीय जिल्ला कमिटी सदस्यमध्ये दुई जना मनोनीतबाहेक सबै नेकपा एकीकृत समाजवादीमा खुलेको दाबी गरिएको छ । दुई जना मनोनीत सदस्य मात्र संस्थापन एमालेमा खुलेका हुन् ।


नेकपा एकीकृत समाजवादी जुम्लाले पत्रकार सम्मेलन गरेर सिंगो जिल्ला कमिटी नै आफूहरूमा समाहित भएको बताएको हो । एमालेतिर मेनका पछाई र लाल भट्टराई उभिएका छन् । धीर बोहरा मनोनीत सदस्य भए पनि पार्टीले निष्कासन गरिसकेको थियो । 


योसँगै युवा संघ नेपाल, अखिल नेपाल महिला संघ, अखिल नेपाल किसान महासंघ, संघ, शिक्षक संगठन, निजामती कर्मचारी संगठन र त्रिवि मातहतका सबै संगठन समाजवादीतिरै रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । 


जिल्ला अध्यक्ष तीर्थबहादुर बुढा, उपाध्यक्ष नन्दराम रोकाया, सचिव आदिप्रसाद न्यौपाने र उपसचिव राजबहादुर खत्रीले विज्ञप्ति सार्वजनिक गर्दै सिंगो एमाले जिल्ला कमिटी नेकपा एकीकृत समाजवादीमा समाहित भएको बताए ।


‘जुम्ला प्रदेश क्षेत्र ‘ख’ का सांसद पदमबहादुर रोकायालगायत ७० प्रतिशत जनप्रतिनिधि हाम्रो पार्टी नेकपा एकीकृत समाजवादीलाई समर्थन गरेका छन्’, सचिव न्यौपानेले भने, ‘जसमध्ये चन्दननाथ नगरपालिकामा एमालेबाट जितेका सबै जनप्रतिनिधिले समाजवादीमा सनाखत गरिसकेका छन् । केही उपाध्यक्ष र वडाध्यक्ष पनि सनाखत गर्ने प्रक्रियामा छन् ।’


एमालेमा केन्द्रदेखि जिल्लासम्मै गुटगत प्रवृत्ति हावी भएकाले विकल्पको रूपमा नेकपा एकीकृत समाजवादी पार्टी जन्मिएको सांसद रोकायाको दाबी छ । उनले भने, ‘हामी कुर्सीका लागि होइन, असंगतिविरुद्ध लड्ने जुझारु पार्टी बन्नेछौँ ।’


जुम्लामा नेकपा एकीकृत समाजवादी नै संस्थापन भएको बताउँदै उनले संस्थापन एमाले विद्रोही पार्टीको रूपमा रहेको दाबी गरे । २०७० र २०७४ को चुुनावमा नेता नेपालको प्यानलबाट चुनाव लडेको उनले बताए ।


‘पहिले माओवादीसंँ पार्टी एकता गर्नु ओलीको ठूलो भुल थियो । एकता भइसकेपछि प्रधानमन्त्री र पार्टी सञ्चालनमा भएका समझदारी कार्यान्वयन गर्नुपर्ने थियो । तर, उहाँले त्यसलाई उल्लंघन गर्नुभयो । नेता नेपाल निकटलाई पेलानमा पारियो । विधि, पद्धति र प्रक्रिया मिचियो । नेकपा एकीकृत समाजवादी त्यसैको उपज हो’, उनले भने ।


सांसद रोकायाले जुम्लामा आगामी चुनावमा एमालेले एउटा वडा पनि नजित्ने बताए । तर, एमालेले नजिते पनि नेकपा एकीकृत समाजवादीको वर्चस्व रहने उनले दाबी गरे ।


कर्णालीका १० मध्ये ८ वटा जिल्ला नेकपा एकीकृत सामाजवादीले कब्जा गरिसकेको रोकायाको भनाइ छ । तत्कालीन एमाले सचिव तथा हाल नेकपा एकीकृत समाजवादीका नेता आदिप्रसाद न्यौपाने जुम्लामा ७५ प्रतिशत समाजवादीकै बाहुल्य रहेको दाबी गर्छन् । उनले भने, ‘एमाले २५ प्रतिशत होला तर अब यो पनि घट्दै छ । आगामी चुनावमा माओवादीसँग तालमेल गरेरै भए पनि चुनाव जित्छौँ । एमालेभन्दा ठूलो पार्टी बन्छौँ ।’


एमालेको सूर्य चिह्नले कुनै फरक नपार्ने उनको दाबी छ । पार्टीको विचार, सिद्धान्त र व्यवहारले फरक पार्ने उनको धारणा छ । एमाले कार्यवाहक अध्यक्ष एकीकृत समाजवादीका नेता नन्दराम रोकायाले पार्टी फुटाएर ठीक समय ठीक निर्णय भएको दाबी गरे ।