close

ताप्लेजुङ कांग्रेसको आङ्खोपबाहेक सबै वडा अधिवेशन सकियो, साढे ९ सय बढी क्षेत्रीय प्रतिनिधि चुनिँदै

ताप्लेजुङ कांग्रेसको आङ्खोपबाहेक सबै वडा अधिवेशन सकियो, साढे ९ सय बढी क्षेत्रीय प्रतिनिधि चुनिँदै

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङका ६१ वडामध्ये नेपाली कांग्रेसले ६० वटा वडामा वडा अधिवेशनमार्फत नेतृत्व र प्रतिनिधि छनोट गरेको छ । सिदिङ्वा गाउँपालिकाको वडा नम्बर ३ आङ्खोपको अधिवेशन भने प्राविधिक कारणले सम्पन्न भइनसके पनि प्रक्रियामा रहेको कांग्रेस अधिवेशन अधिकृत तोकिएका तिलक पाण्डेले जानकारी दिए । 


उनका अनुसार वडा अधिवेशन सम्पन्न भइसकेका ६० मध्ये फुङ्लिङ नगरपालिकाको वडा नम्बर ७ बाहेक सबै वडामा निर्विरोध नेतृत्व र क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । 

 

फुनपा वडा नम्बर ७ मा भने नेतृत्व र क्षेत्रीय प्रतिनिधिका लागि निर्वाचन भएको थियो । पाण्डेका अनुसार गाउँपालिकाभित्रका प्रत्येक वडामा पदाधिकारीसहित २२ र नगरपालिकामा प्रत्येक वडामा पदाधिकारीसहित २७ सदस्यीय कार्यसमिति बनेको छ । 


पालिकासहित जिल्ला अधिवेशनका लागि छानिएका क्षेत्रीय प्रतिनिधिले मात्र मतदान गर्न पाउनेछन् । सम्बन्धित पालिकाभित्रबाट छानिएका क्षेत्रीय प्रतिनिधिले सम्बन्धित पालिकाको कार्यसमितिमा समेत नयाँ नेतृत्वका लागि मतदान गर्न पाउनेछन् भने तिनै प्रतिनिधिलाई जिल्ला कार्यसमिति नेतृत्वका लागि मताधिकार हुनेछ । 


ताप्लेजुङमा १ नगरपालिका र ८ गाउँपालिका छन् । प्रत्येक वडाबाट कम्तीमा वडा सभापतिसहित १६ जनाको दरले क्षेत्रीय प्रतिनिधि चयन हुने व्यवस्था रहेको पाण्डेले जानकारी दिए ।


वडा कार्यसमितिका सभापति स्वतः क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् । पाण्डेले समुदाय र क्षेत्रगत प्रतिनिधि सुुनिश्चित गर्ने व्यवस्थासहितको हिसाब गर्ने हो भने ताप्लेजुङका कुनै वडाबाट वडा सभापतिसहित १७ जनासम्म क्षेत्रीय प्रतिनिधि चयन भएको बताए ।


सरदर १६ जनाका हिसाबले गर्ने हो भने ताप्लेजुङका ६१ वटा वडाबाट ९ सय ७६ जना क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् । समुदाय र क्षेत्रगत प्रतिनिधि सुुनिश्चित गर्ने व्यवस्थाका कारण क्षेत्रीय प्रतिनिधिको यो संख्यामा केही घटबढ हुन सक्ने पाण्डेले बताए ।