close

आठराई त्रिवेणीमा उपाध्यक्षसहितका जनप्रतिनिधि नेकपा एकीकृत समाजवादीमा

आठराई त्रिवेणीमा उपाध्यक्षसहितका जनप्रतिनिधि नेकपा एकीकृत समाजवादीमा

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका उपाध्यक्ष मञ्जु पौडेल भट्टराईसहित मंगलबार थप ७ जनाले नेकपा एमाले परित्याग गरी माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी रोजेका छन् ।


योसहित अहिलेसम्म नेकपा एसका पक्षमा यहाँका २१ जना जनप्रतिनिधिले सनाखत गरेका हुन् । मंगलबार आठराई त्रिवेणी पालिका उपाध्यक्षसहित फुङलिङ नगरपालिका प्रवक्तासमेत रहेका वडा नम्बर २ का वडाध्यक्ष मोहन न्यौपाने, मैवाखोला गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष सुरेन्द्र लिम्बू, फुङ्लिङ नगर कार्यपालिका सदस्य नीताकुमारी सिवाले नेकपा एसका पक्षमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । 

 

यस्तै, फुङ्लिङ नगरपालिका वडा नम्बर २ का वडा सदस्य धनबहादुर लिम्बू, आठराई त्रिवेणी गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य गंगाप्रसाद यक्सो र मैवाखोला गाउँपालिका वडा नम्बर २ का वडा सदस्य दानुपु शेर्पाले नेकपा एसका पक्षमा सनाखत गरेका छन् ।


आइतबार जिल्ला समन्वय समिति उपप्रमुख देवीमाया नेपालीसहित ९ र सोमवार मेरिङ्देन गाउँपालिका उपाध्यक्ष कल्पना तुम्बाहाम्फेसहित ५ जनाले सनाखत गरेका थिए ।


यो समाचार तयार पार्दासम्म ताप्लेजुङबाट जिसस उपप्रमुख, २ गाउँपालिका उपाध्यक्ष, १ जिसस सदस्य, ५ वडाध्यक्ष र कार्यपालिका सदस्य तथा नगर र गाउँसभा सदस्य १२ गरी २१ जनाले नेकपा एस रोजेका छन् ।