close

८ वटै स्थानीय तहका कार्यकर्ता बोलाएर खलंगामा नेकपा एकीकृत समाजवादीको हुँकार

८ वटै स्थानीय तहका कार्यकर्ता बोलाएर खलंगामा नेकपा एकीकृत समाजवादीको हुँकार

Trulli
ADVERTISEMENT

जुम्ला– नेकपा एमालेबाट चोइटिएर नेता माधवकुमार नेपाल नेतृत्वमा बनेको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले जुम्ला सदरमुकाम खलंगामा शक्ति प्रदर्शन गरेको छ । 

एमालेबाट विभाजितपछि निर्माण भएको एकीकृत समाजवादी पार्टीले जिल्लामा प्रथम जिल्ला कार्यकर्ता भेला तथा शक्ति प्रदर्शन गरेको हो ।

जुम्लामा एमालेभन्दा नेकपा एकीकृत समाजवादी ठूलो भएको प्रमाण देखाउन नेपाल समूहको पार्टीले बृहत् शक्ति प्रदर्शन गरेको बताइएको छ ।

जिल्ला भेलामा जुम्लाका ८ वटै स्थानीय तहका करिब ५ हजार कार्यकर्तालाई सदरमुकाम खलंगामा भेला गरिएको नेकपा एकीकृत समाजवादीको जिल्ला नेतृत्वको दाबी छ ।


एकीकृत समाजवादी पार्टीको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्न एकीकृत समाजवादीका कर्णाली प्रदेश इन्चार्ज तथा पूर्वमन्त्री प्रकाश ज्वाला, कर्णालीका कृषिमन्त्री कुर्मराज शाही, प्रदेशसभा सदस्य पदम रोकायालगायत राष्ट्रिय स्तरका पेसागत संगठनका प्रमुख जुम्ला आएका छन् ।


५ हजार बढी कार्यकर्ताको सहभागितामा जुम्ला सदरमुकाम खलंगाका विभिन्न भागमा ¥यालीसहित शक्ति प्रदर्शन गरेर जिल्ला खेलकुद विकास समितिको कभर्ड हलमा औपचारिक कार्यक्रम गरिएको छ ।

 

प्रथम जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एकीकृत समाजवादी कर्णाली प्रदेश इन्चार्ज पूर्वमन्त्री प्रकाश ज्वालाले हजारौं कार्यकर्ताको समर्थन र उपस्थितिले जुम्लामा एमाले एकीकृत समाजवादीमा विलय भएको ठोकुवा गरे ।


व्यक्तिवाद, अंहकार तथा विधि पद्धति विपरीत काम गर्नेविरुद्ध लड्न नेपाली राजनीतिमा स्थापित भएको नेकपा एकीकृत समाजवादीको विद्रोह जुम्लाबाटै सुरु भएको नेता ज्वालाले बताए ।


सभामा कृषिमन्त्री कुर्मराज शाही, सांसद पदम रोकायालगायतका वक्ताले कर्णालीकै सबैभन्दा ठूलो नेकपा एकीकृत समाजवादी जुम्लामै निर्माण हुने ठोकुवा गरे ।


नेकपा एकीकृत समाजवादीका जुम्ला अध्यक्ष तीर्थ बुढाले एउटै घरभित्र पनि सधैँ किचलो, अन्याय र अत्याचार सहेर बस्न सक्ने अवस्था नभएपछि एमालेबाट विद्रोह गरिएको बताए ।


जुम्लाका एमालेबाट निर्वाचित ९० मध्ये ४४ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् । ६१ जनाको जिल्ला कमिटीमध्य ५८ जनाले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।