close

कांग्रेसको १४औँ महाधिवेशन : रूपन्देहीमा देउवा र पौडेल समूहका आ–आफ्नै उम्मेदवार 

कांग्रेसको १४औँ महाधिवेशन : रूपन्देहीमा देउवा र पौडेल समूहका आ–आफ्नै उम्मेदवार 

Trulli
ADVERTISEMENT

रूपन्देही–नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन सकिएका जिल्लामा शनिबार पालिका अधिवेशन हुँदै छ । कांग्रेसको महाधिवेशन कार्यतालिकाअनुसार गत १८ भदौमा वडा अधिवेशन भएको रूपन्देहीका १६ स्थानीय तहमा सोहीअनुसार शनिबार पालिका अधिवेशन हुँदै छ ।


पार्टी केन्द्रमा देखिएको दुई धार जिल्ला तथा पालिकामा पनि प्रस्टसँग देखिएको छ । पार्टी केन्द्रमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा दुई धार भएजस्तै बुटवलमा शनिबार हुन लागेको पालिका अधिवेशनमा पनि दुई धार देखिएको हो ।


रूपन्देहीमा एक उपमहानगर, ५ नगरपालिका तथा १० वटा गाउँपालिका गरी १६ स्थानीय तह छन् । त्यसमध्ये अधिकांश स्थानमा सभापति देउवा र वरिष्ठ नेता पौडेलले नेतृत्व गरेको देउवा इतर समूहबाट छुट्टाछुट्टै उम्मेदवारी घोषणा भएको छ । बुटवल उपमहानगरामा पार्टीको नेतृत्व लिन सभापति देउवा समूहबाट रीता केसी र वरिष्ठ नेता पौडेल समूहबाट खेलराज पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् । पाण्डे यसअघि पनि नगर सभापति थिए ।


त्यस्तै, केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणको गृहनगर तिलोत्तमा नगरपालिकामा तीन जनाको दावेदारी देखिएको छ । यो नगरपालिकामा देउवा समूहबाट हरिलाल पाण्डे र पौडेल समूहबाट नारायण न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन् ।

 

तिलोत्तमा नगरपालिकामा पार्टीको नेतृत्व लिन अर्का स्पर्धी हरि तिवारी पनि चुनावी अभियानमा भिडेका छन् । देउवा समूहबाट उम्मेदवारी घोषणा गरेका पाण्डेले तिलोत्तमामा पार्टीको एक कार्यकाल सभापति भई काम गरिसकेका छन् ।


त्यस्तै, सिद्धार्थनगर नगरपालिका (भैरहवा) मा सभापति देउवा समूहबाट कोसिस खड्का र पौडेल समूहबाट सञ्जीवराज रेग्मीले उम्मेदवारी घोषणा गरी चुनावी मैदानमा छन् । 


सैनामैना नगरपालिकामा पौडेल समूहबाट कृष्ण पोखरेल र देउवा समूहबाट रणबहादुर खनालले उम्मेदवारी घोषणा गरेका छन् । यस अगाडिको स्थानीय तहको निर्वाचनमा एक मात्रै नगरपालिकामा जित हात पारेको देवदह नगरपालिकामा पौडेल समूहबाट गुणाखर भुर्तेल र देउवा समूहबाट झवीन्द्र पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् ।


लुम्बिनी सांस्कृतिक नगरपालिकामा भने यस अगाडिकै सभापति मोहमद खाँको एकल उम्मेदवारी देखिएको छ । १० गाउँपालिका रहेको रूपन्देहीको ओमसतिया, गैडहवा, कञ्चन, मर्चवारी, सम्मरीमाई र कोटहीमाईमा सर्वसम्मत बनाउने प्रयास भएको बताइएको छ । सियारी शुद्धोधन, मायादेवी र रोहिणीमा भने सभापति देउवा र वरिष्ठ नेता पौडेल समूहबाट उम्मेदवारी घोषणा भएको छ ।


कांग्रेस रूपन्देही सभापति अब्दुल रज्जाकले १५५ वडामध्ये ९० प्रतिशत वडामा सर्वसम्मत भएको र पालिकामा पनि सकेसम्म सर्वसम्मत गराउन नेतृत्व लागिपरेको जानकारी गराए । सर्वसम्मत नेतृत्व चयन हुन नसके निर्वाचनका माध्यमबाट गरिने उनको भनाइ छ । अधिवेशनलाई निष्पक्ष बनाउन लागिपरेको बताउँदै उनले अधिवेशनमा जसले जिते पनि हारे पनि सबैले जितको महसुस गर्नुपर्ने सुझाव दिए ।

 

तोकिए मतदान अधिकृत

 

कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत रूपन्देहीमा निर्वाचन अधिकृत खटिएका छन् । जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेले जिल्लाका १६ वटा स्थानीय तहमा शनिबार निर्वाचनको तयारी गरिएको र सोहीअनुसार पालिकामा मतदान अधिकृतलाई खटाइसकिएको बताए ।

 

पार्टीको समन्वयमा १६ वटै स्थानीय तहमा मतदान केन्द्र तोकिएको छ । जसअनुसार बुटवल उपमहानगरको सिद्धेश्वरी माध्यमिक विद्यालय, तिलोत्तमा नगरपालिकाको तिलोत्तमा उद्योग वाणिज्य संघको भवन, सिद्धार्थनगर उद्योग वाणिज्य संघको जिल्ला पार्टी कार्यालय भैरहवा, सैनामैनाको रामापुर क्याम्पस, देवदहको पाठक फुडल्यान्ड देवदह र लुम्बिनी सांस्कृतिक नगरपालिकाको आदर्श कलेज खड्कबजारमा मतदान केन्द्र तोकिएको छ ।


त्यस्तै, बुटवल उपमहानगरमा अधिवक्ता जीवनारायण अधिकारी, तिलोत्तमामा डा. ओमप्रकाश अर्याल, सिद्धार्थनगरमा माधवप्रसाद घिमिरे, सैनामैनामा दिनेश बस्याल, देवदहमा लक्ष्मण कार्की र लुम्बिनी सांस्कृतिक नगरपालिकामा सतिसमणि त्रिपाठीलाई मतदान अधिकृत खटाएको छ । गैडहवा गाउँपालिकाको मतदान केन्द्र सयरवा मदरसामा तोकिएको छ भने दिनेशकुमार उपाध्यायलाई मतदान अधिकृतका रूपमा खटाइएको छ ।

 

कञ्चनको वनकटिया सामुदायिक भवनमा मतदान केन्द्र तोकिएको छ भने नुरजंग केसीलाई मतदान अधिकृत खटाइएको छ । कोटहीमाईको मर्चवार आदर्श माविमा मतदान केन्द्र तोकिएको छ भने अमर खत्रीलाई मतदान अधिकृतका रूपमा खटाइएको छ ।


त्यसैगरी मर्चवारीको मतदान केन्द्र बगौली मावि बगौली र मतदान अधिकृत पिताम्बर तिवारी, मायादेवीको मतदान केन्द्र बेथरी प्रगतिशील आमा समूहको भवन र मतदान अधिकृत कृष्णमोहन कोहारलाई खटाइएको छ ।  ओमसतियाको ओमसतिया मन्दिर वडा नम्बर ५ मा मतदान केन्द्र तोकिएको छ भने त्यहाँ शंकर पन्थीलाई मतदान अधिकृत खटाइएको छ । रोहिणी गाउँपालिकाको रामनरेश माध्यमिक विद्यालय धकधईमा मतदान केन्द्र तोकिएको छ भने त्यहाँ टीका शर्मा पौडेललाई मतदान अधिकृत खटाइएको छ । 

 

सम्मरीमाईको मतदान केन्द्र जनता माबिमा तोकिएको छ भने त्यहाँ होमराज पन्तलाई मतदान अधिकृत खटाइएको छ । सियारीको जनता उमावि अमुवामा मतदान केन्द्र तोकिएको छ भने दीपक काफ्ले र शुद्धोदनमा सिद्धिसिद्धि पार्टी प्यालेसमा मतदान केन्द्र तोकिएको छ भने त्यहाँ जनक न्यौपानेलाई मतदान अधिकृत खटाइएको जिल्ला निर्वाचन अधिकृत घिमिरेले बताए ।


उनका अनुसार मतदान अधिकृतले आवश्यकताअनुसार २/३ जना सहायक मतदान अधिकृत खटाउन सक्नेछन् । सुरक्षाका हिसाबले पनि मतदान केन्द्रमा सुरक्षा प्रबन्ध मिलाउन सुरक्षा निकायलाई जानकारी गराइएको उनको भनाइ छ ।