close

कांग्रेस नगर अधिवेशन : भक्तपुरका चार वटै नगरमा निर्वाचन हुँदै

कांग्रेस नगर अधिवेशन : भक्तपुरका चार वटै नगरमा निर्वाचन हुँदै

Trulli
ADVERTISEMENT

भक्तपुर– कांग्रेस भक्तपुरको चार नगरपालिकाको नगर अधिवेशनको निर्वाचन हुने भएको छ । कांग्रेसले चार वटै नगरपालिकामा सर्वसम्मत नेतृत्व चयनका लागि छलफल चलाएको छ । आकांक्षी धेरै भएपछि शनिबार बिहान ९ बजेदेखि सुरु भएको अधिवेशनमा निर्वाचन प्रक्रियाबाटै नेतृत्व चयन हुने जिल्ला सभापति दुर्लभ थापाले जानकारी दिए ।

 

अधिवेशनसँगै उम्मेदवारी दर्ता गर्ने तथा आइतबार मतदानका लागि कांगे्रसले तालिका तयार गरेको छ । भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिका अधिवेशन स्थलमा बिहानैदेखि कांग्रेसका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति छ । 


चार वटै नगरपालिकामा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाको प्यानलबाट छुट्टाछुट्टै उम्मेदवारी दिने चर्चा अधिवेशन स्थलमा चलेको छ । 

 

अन्तिममा केन्द्रीय तहमा जस्तो नेताहरूको समूहको रूपमा नभई स्थानीय परिस्थितिअनुसार नै प्यानल बनाएर उम्मेदवारी दर्ता हुने अधिवेशन स्थलमा उपस्थित जिल्ला स्तरीय एक नेताले बताए । कांग्रेस भक्तपुरले यसअघि जिल्लाका ३८ वडाको अधिवेशन सम्पन्न गरिसकेको छ । 

 

नगर अधिवेशनमा नेतृत्व लिन नेताहरूको दौडधुप चलेको छ । नगर अधिवेशनको परिणामले नै क्षेत्र र जिल्लाको अधिवेशनलाई प्रभाव पार्ने देखिन्छ । जिल्लाका शीर्ष कांग्रेस नेताहरूले सक्रियता बढाएका छन् । मुख्यगरी सभापति दुर्लभ थापा र १३औँ महाधिवेशनमा सभापतिका प्रत्यासी अष्टकुमार कवेको समूहबीच चार वटै नगरपालिकामा प्रतिस्पर्धा हुने बताइएको छ । 

 

जिल्ला सभापति थापा, पूर्वजिल्ला सभापति गणेशमान चक्रधर, महेश श्रेष्ठ, अष्टकुमार कवे, विनोद कायस्थ, बाबुराजा जोशी, कृष्णलाल भँडेल, कवीर राणा, उद्धव सिलवाल, विदुरमानसिं बस्नेतलगागत नेता उम्मेदवार र मतदातालाई आफ्नो पक्षमा पार्न दौडधुपमा छन् ।

 

भक्तपुर नगरमा वर्तमान सभापति रामप्रसाद कासुला र राजेन्द्र तमखु, मध्यपुरथिमिमा वर्तमान सभापति सुरेन्द्र श्रेष्ठ र हरिदास प्रजापति, सूर्यविनायक नगरमा जिल्ला सचिव निशान ढुंगेल र सूर्यविनायक नगर समितिका वर्तमान उपसभापति रवि राणा तथा चाँगुनारायण नगरको सभापतिमा वर्तमान सभापति एवं चाँगुनारायण नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष शिवहरि केसी, गोपाल पौडेल, राजु पुरीले उम्मेदवारी दिने तयारी गरेका छन् ।