close

रूपन्देही कांग्रेसको गाउँ/नगर अधिवेशन : अधिकांश पालिकामा संस्थापन पक्ष विजयी

रूपन्देही कांग्रेसको गाउँ/नगर अधिवेशन : अधिकांश पालिकामा संस्थापन पक्ष विजयी

Trulli
ADVERTISEMENT

रूपन्देही– नेपाली कांग्रेसको गाउँ/नगर अधिवेशनअन्तर्गत रूपन्देहीका अधिकांश पालिकामा संस्थापन शेरबहादुर देउवा पक्षले जित हासिल गरेको छ ।
बुटवल उपमहानगर र देवदह नगरमा बाहेक अन्य नगरपालिकामा सबै देउवा पक्षबाट सभापति चयन भएका हुन् । 


बुटवल उपमहानगर सभापतिमा खेलराज पाण्डेय निर्वाचित भएका छन् । पदाधिकारीमा एक जना सहसचिवबाहेक सबै पदमा पाण्डेय प्यानलका उम्मेदवार विजयी भएका छन् । 


वर्तमान नगर सभापति रहेका पाण्डेयले देउवा समूहकी रीता केसीलाई फराकिलो मतान्तरले पराजित गरे । पाण्डेयले ४१२ मत प्राप्त गर्दा केसीले १२४ मत पाइन् ।उपसभापतिमा ज्योति भण्डारी ४०३ मत र हितमान पुन २ सय ८२ मतसहित विजयी भए । केसी प्यानलका नरबहादुर रजालीले २३८ र हरिलाल सुनार १०२ मत पाए । 


सचिवमा पाण्डेय प्यानलकै गंगा पन्थीले ३०७ मत र छाया पोखरेलले २ सय ९४ मत पाएर विजयी भए । केसी प्यानलका जयप्रकाश भट्टराईले २३९ र सन्तोष पौडेल १४८ मत पाए ।  दुई जना सहसचिवमध्ये पाण्डेय प्यानलका देवलाल अर्गली २९७ र गणेश घिमिरे ३०० मतसहित विजयी भए । 

 

त्यस्तै, तिलोत्तमा नगरपालिकामा देउवा पक्षका हरिलाल पाण्डे झिनो मतले विजयी भए । १७४ मत ल्याएर पाण्डे विजयी हुँदा रामचन्द्र पौडेल समूहका नारायण न्यौपानेले १ सय ७२ मतमा चित्त बुझाउनुर्‍यो  । पाण्डे वर्तमान नगर सभापति हुन् भने न्यौपाने तिलोत्तमा वडा नम्बर ९ का वडाध्यक्ष हुन् । अन्य सबै पदाधिकारी भने पाण्डे प्यानलकै विजयी भए । तिलोत्तमामा सभापतिका अर्का उम्मेदवार हरि तिवारीले ३० मत प्राप्त गरे । सिद्धार्थनगरमा देउवा पक्षकै कोसिस खड्का विजयी भएका छन् । उनले रामचन्द्र पौडेल पक्षका सञ्जीव शर्मा रेग्मीलाई पराजित गरे ।


देवदहमा पौडेल समूहका गुणाखर भुर्तेल विजयी भएका छन् । उनले देउवा समूहका झवीन्द्र भण्डारीलाई पराजित गरेका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिकामा मोहम्मद सइद खान निर्वाचित भए । खानसहित उनको सिंगो कार्यसमिति निर्विरोध चयन भएको हो । 


सैनामैना नगरपालिकाको नगर सभापतिमा रणबहादुर खनाल निर्वाचित भएका छन् । उनले १२६ मत पाएर विजयी हुँदा स्पर्धी कृष्णप्रसाद पोखरेलले १०२ मत पाए ।


खनाल रूपन्देही ५ का संघीय सांसद भरत साह निकट मानिन्छन् भने पोखरेल बालकृष्ण खाँण निकट । शनिबार भएको निर्वाचनमा जिल्लाका ६ वटा नगरपालिकामध्ये सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक, तिलोत्तमा र सैनामैना नगरपालिकामा देउवा पक्षबाट नगर सभापति निर्वाचित भएका छन् । बुटवल उपमहानगर र देवदह नगरपालिकामा पार्टीका वरिष्ठ नेता पौडेल पक्षबाट विजयी भएका छन् । 

 

पाँच पालिकामा निर्विरोध

 
रूपन्देहीका १६ मध्ये ५ स्थानीय तहमा निर्विरोध नेतृत्व चयन भएको छ । जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका, ओमसतिया गाउँपालिका, गैडहवा गाउँपालिका, कोटहिमाई गाउँपालिका र मर्चवारी गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।


गैडहवा गाउँपालिकाको सभापतिमा सत्यनारायण पथिक, कोटहीमाई गाउँपालिकाको सभापतिमा अवधराम यादव, मर्चवारी गाउँपालिकाको सभापतिमा जनार्दन यादव र ओमसतिया गाउँपालिकाको सभापतिमा भगवानप्रसाद चौधरीसहित सबै पदाधिकारी र कार्यसमिति सदस्य निर्विरोध निर्वाचित भएका घिमिरेले जानकारी दिए । बुटवल उपमहानगर तथा सिद्धार्थनगर, तिलोत्तमा र देवदहमा देउवा र पौडेल समूह अलग–अलग प्यानल बनाएर चुनावी स्पर्धामा उत्रिएका थिए ।

 

रूपन्देहीका १६ वटै स्थानीय तहका सभापतिको नाम 

 

बुटवल उपमहानगर : खेलराज पाण्डे

 

तिलोत्तमा : हरिलाल पाण्डे


सिद्धार्थनगर : कोसिसबहादुर खड्का

 

सैनामैना : रणबहादुर खनाल

 

देवदह    ः गुणाखर भुर्तेल

 

लुम्बिनी सांस्कृतिक : मोहमद खाँ

 

कञ्चन : देवीराम रेग्मी

 

गैडहवा : सत्यनारायण पथिक


कोटहीमाई : अवधराम यादव


मर्चवारी :  जनार्दन यादव


ओमसतिया :  भगवानप्रसाद चौधरी 


मायादेवी :  पदम भण्डारी


रोहिणी :  पारसनाथ योगी 


सियारी :  गोपाल पाण्डे 


शुद्धोधन :  दामोदर पौड्याल 


सम्मरीमाई :  रमेश यादव