close

अर्घाखाँचीमा पौडेल समूहको बाजी : अधिकांश पालिकामा संस्थापनको हार

अर्घाखाँचीमा पौडेल समूहको बाजी : अधिकांश पालिकामा संस्थापनको हार

Trulli
ADVERTISEMENT

रूपन्देही– नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा पालिका स्तरको नेतृत्व छान्न भएको निर्वाचनमा सभापति शेरबहादुर देउवा संस्थापन पक्षको करारी हार भएको छ ।


केन्द्रीय नेतृत्वमा पकड जमाएका नेतृ पुष्पा भुसाल र मानबहादुर विकको गृहजिल्ला अर्घाखाँचीका ५ पालिकामा पौडेल समूह विजयी भएको हो । बाँकी रहेका पालिकामा समेत पौडेल पक्षकै सभापति हुने देखिएको छ ।


६ पालिकामध्ये ५ पालिकामा भएको निर्वाचनमा देउवा समूह शून्य भएको हो । ४ पालिकामा नेता रामचन्द्र पौडेल समूह विजयी भएको छ भने एक पालिकामा निर्वाचित सभापतिले आफू कुनै समूहमा नरहेको जनाएका छन् । 


पाणिनि गाउँपालिकामा विजयी तुल्सी पौडेलले आफू कुनै समूहमा नरहेको बताएका हुन् । यद्यपि देउवा समूहकै एक नेताले उनी पौडेल समूहको भएको स्वीकारे । पौडेल समूहका तर्फबाट सन्धिखर्क नगरपालिकाको सभापतिमा बाबुराम भुसाल, भूमिकास्थान नगरपालिकाको सभापतिमा खडानन्द बेल्वासे, छत्रदेव गाउँपालिकामा प्रकाशराज पन्थी र मालारानी गाउँपालिकामा शोभाखर खनाल निर्वाचित भएका छन् । 

 

छत्रदेव, मालारानी र पाणिनि गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो भने अरूमा चुनाव । सन्धिखर्कको नगर सभापतिमा लीलाधर बस्याललाई ३० मतले पराजित गर्दै भुसाल निर्वाचित भए । भूमिकास्थानको सभापतिमा निकटतम प्रतिद्वन्द्वी खिमकुमार श्रेष्ठलाई २७ मतले पराजित गर्दै बेल्वासे निर्वाचित भए ।सन्धिखर्कमा निर्वाचित भुसालले १५५ मत पाएका थिए भने भूमिकास्थानमा निर्वाचित भएका बेल्वासेले १०३ मत प्राप्त गरे । 


जिल्लामा पौडेल समूह बलियो रहेको कांग्रेस नेताहरूले बताएका छन् । नेतृत्व चयन हुन बाँकी रहेको शीतगंगा नगर सभापतिमा पौडेल समूहकै मोहन पन्थी र मोती बेल्वासे चुनावी मैदानमा छन् । उक्त पालिकामा अहिले निर्वाचन भइरहेको छ ।