close

जुम्ला कांग्रेसको जिल्ला अधिवेशन स्थगित 

जुम्ला कांग्रेसको जिल्ला अधिवेशन स्थगित 

Trulli
ADVERTISEMENT

जुम्ला– नेपाली कांग्रेस जुम्लाको जिल्ला अधिवेशन स्थगित भएको छ । १८ असोजमा हुने भनिएको जिल्ला अधिवेशन स्थगित भएको हो । दसैँ नजिकिएको र अधिवेशनका लागि आवश्यक व्यवस्था र प्रमुख निर्वाचन अधिकृत सहाना प्रधानको घरायसी कामले समय नमिलेकाले जिल्ला अधिवेशन स्थगित गरिएको वर्तमान पार्टी सभापति दीपबहादुर शाहीले बताए । 

 

उनले भने, ‘आगामी ३ कात्तिकमा गर्ने गरी जिल्ला अधिवेशन तोकेका छौँ । तर, यसमा पार्टी केन्द्रले १÷२ दिन अघिपछि पनि हुन सक्छ । वडा, पालिका, प्रदेश ‘क’ र ‘ख’ सबै अधिवेशन सम्पन्न गरेका छौँ ।’

 

अब जिल्ला अधिवेशन मात्रै बाँकी रहेको सभापति शाहीले बताए । उनले भने, ‘अधिकांश वडामा सर्वसहमतिमै नेतृत्व चयन गरेका छौँ । । दुई पालिकामा निर्वाचनका माध्यमबाट नेतृत्व चयन भएको हो । चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिकामा निर्वाचन प्रणालीमार्फत नेतृत्व चयहन भएको हो । 

 

जिल्लाका ८ वटा स्थानीय तहमध्ये सिंजा र गुठीचौर गाउँपालिकामा संस्थापन पक्षले पालिका सभापतिमा जितेको छ । चन्दननाथ नगरपालिका, हिमा, तिला, कनकासुन्दरी, पातारासी, तातोपानी र तिलामा वरिष्ठ नेतान पौडेल समूह समथर्एक सभापति चयन भएका छन् । 


अधिकांश पालिका र वडामा सहमतिमा सभापति चयन गरेको कांंग्रेसले क्षेत्रीय अधिवेशनमा भने सहमति गर्न सकेन । लामो समय सहमति प्रयास गर्दा पनि नभएपछि निर्वाचन प्रणालीमार्फत नेतृत्व छनोट गरिएको पार्टी सचिव कार्मा बुढाले बताए । 

 

प्रदेश ‘क’ र ‘ख’ को क्षेत्रीय निर्वाचनमा संस्थापन र पौडेल समूहबीच निर्वाचन भएको थियो । देउवा पक्षबाट विष्णुबहादुर शाही र पौडेल पक्षबाट लक्षिमन बोहरा प्रदेश ‘क’ को उम्मेदवार बनेका थिए ।

 

त्यस्तै, प्रदेश ‘ख’ मा देउवा समूहबाट भीमनिधि हमाल र पौडेल पक्षबाट कालिबहादुर बुढा उम्मेदवार बनेका थिए । दुवै क्षेत्रमा पौडेल समूहको प्यानलै विजयी भएको मतदान अधिकृत हेमन्त महतले बताए । उनले भने, ‘प्रदेश ‘क’ का सभापति बोहरा ४९८ मा २४९ मत ल्याएर विजयी भए । प्रतिस्पर्धी विष्णुबहादुर शाहीले २३१ मत प्राप्त गरे ।’

 

पौडेल पक्षकै उपसभापति रुपबहादुर रोकायले २७९ र तिलकप्रसाद न्यौपानेले २५० मत प्राप्त गरी विजयी भए । प्रदेश ‘ख’ को निर्वाचनमा सभापतिमा कालीबहादुर बुढा विजयी भएका छन् । उनी पनि पौडेल समूहकै हुन् । विजयी उम्मेदवार बुढाले ४९० कुल मतमध्ये २४२ मत प्राप्त गरेको सहायक मतदान अधिकृत खगेश्वर आचार्यले जानकारी दिए ।

 

देउवा समूहका भीमनिधि हमालले १९९ मत ल्याए । उपसभापति दानसिंह खत्रीले २६६ र कालीबहादुर बुढाले २५४ मत ल्याएर विजयी भएको सहायक मतदान अधिकृत आचार्यले बताए ।

 

२३ सदस्यीय प्रदेश क्षेत्रीय कार्यसमितिमा जुम्ला प्रदेश ‘क र ख’ दुवैमा पौडेल समूहले संस्थापनलाई किनारा लगाएको छ । यसैगरी १६ प्रदेश क्षेत्रीय प्रतिनिधिमा पनि सबै पौडेल पक्षका उम्मेदवारले जितेका छन् । कांग्रेस प्रदेश ‘क र ख’ मा पौडेल पक्षको जित भएको छ ।