close

मुलुकलाई संकटबाट उतार्न कांग्रेस नेतृत्व आवश्यक : मुख्यमन्त्री पोखरेल

मुलुकलाई संकटबाट उतार्न कांग्रेस नेतृत्व आवश्यक : मुख्यमन्त्री पोखरेल

Trulli
ADVERTISEMENT

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मुलुकका हरेक संकटमा नेपाली कांग्रेसमाथि थप जिम्मेवारी आउने गरेको बताएका छन् ।नेपाली कांग्रेस पोखरा महानगर समितिले दसैँ, तिहार, नेपाल संवत्, छठ तथा इदको अवसरमा बिहीबार आयोजित चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा उनले गत चुनावमा कम्युनिष्टले दुईतिहाइ ल्याएपछि कांग्रेस निर्धक्कसँग प्रतिपक्षमा बसेको र उनीहरुबीचकै कलहले संवैधानिक संकट निम्तिएपछि कांग्रेसले अघि सर्नुपरेको बताए ।

 

उनले कांग्रेस प्रतिपक्षमा बस्दा पनि रचनात्मक भूमिका खेलेको स्मरण गरे । विसं २०६४ को चुनावमा माओवादी ठूलो पार्टी बने पनि संविधानसभाले संविधान दिन नसक्दा कांग्रेसले नै अग्रसरता लिनुपरेको उल्लेख गर्दै उनले विगतका घटनाले आफूहरूलाई पाठ सिकाएको र विकास तथा समृद्धिका लागि कांग्रेसकै नेतृत्व आवश्यक पर्ने गरेको बताए ।

 

कांग्रेस १४औँ महाधिवेशनमा लागिरहँदा वडा, पालिका र हिमाली जिल्लामा चुनाव भइसकेकाले उनले अब पार्टीलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिए । पार्टीभित्र हुने आन्तरिक लोकतन्त्रका लागि चुनावी प्रक्रिया अपनाइए पनि यसलाई सहजरूपमा लिन उनले कार्यकर्तासँग आग्रह गरे ।

 

नगर सभापति सुरेन्द्र बिजुक्छेले कांग्रेस संस्थापक बिपी कोइरालाले सुरु गर्नुभएको चियापान समारोहलाई जिल्ला र पालिकास्तरसम्म पनि निरन्तरता दिइएको बताए । कांग्रेस कास्कीको चिप्लेढुङ्गास्थित पार्टी कार्यालयमा भएको कार्यक्रममा मन्त्रीद्वय कुमार खड्का, बिन्दुकुमार थापा, पार्टीका पूर्वमहामन्त्री तारानाथ रानाभाट, पूर्वमन्त्री यज्ञबहादुर थापा, शुक्रराज शर्मा, महादेव गुरुङ, कास्की सभापति कृष्ण केसीलगायतको उपस्थिति थियो ।