close

कांग्रेस बाजुराको पार्टी सभापतिमा रावल विजयी

कांग्रेस बाजुराको पार्टी सभापतिमा रावल विजयी

Trulli
ADVERTISEMENT

बाजुरा– नेपाली कांग्रेस बाजुरा पार्टी सभापतिमा रामसिंह रावल विजयी भएका छन् । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको सातौँ जिल्ला अधिवशेनबाट रावल विजयी भएका हुन् । रावलले ६०५ मत ल्याएर पार्टी सभापतिमा विजयी भएको कांग्रेस बाजुराले जनाएको छ । उनका प्रतिद्वन्द्वी निवर्तमान पार्टी सभापति कविराज पण्डित ५६६ मत ल्याएर पराजित भए । ३९ मतान्तरले पण्डितलाई पराजित गर्दै रावल विजयी भएका हुन् ।

 
पहिलो चरणको मतदानमा ५१ प्रतिशत मत कसैले पनि नल्याएपछि बिहीबार दोस्रो चरणको मतदान भएको थियो । बाजुरामा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला प्यानलबाट उम्मेदवारी दिएका रावलले संस्थापनका पण्डितलाई हराएका हुन् । कांग्रेसको १४औँ महाधिवेशन तथा बाजुरा जिल्लाको सातौँ जिल्ला अधिवेशनबाट देउवा पक्षलाई पौडेल–सिटौला पक्षले हराएको हो ।


सह–सचिवको एक पदबाहेक सबै पदाधिकारीमा पौडेल–सिटौला पक्षले जित हात पारेको छ । बिहीबार पहिलो चरणको मतदानमा उप–सभापतिमा पदम बडुवाल, नारायण पाध्याय, सचिवमा तिलकराज पुरी र भरतबहादुर रोकाया, सह–सचिवमा कृष्णराज पाध्याय विजयी भए ।

 

सह–सचिव एक पदमा मात्र विजयी भएका सुरेन्द्रबहादुर सिंह संस्थापन खेमाका हुन् । देउवा पक्षमा सह–सचिवका एक जना मात्र विजयी भएका हुन् भने पौडेल–सिटौला पक्षमा पार्टी सभापतिसहित प्यानलै विजयी भएको छ ।


सभापतिमा पण्डित, रावल र चक्र शाह निर्वाचनमा होमिएका थिए । पहिलो चरणको निर्वाचनमा पार्टी सभापतिका लागि ५१ प्रतिशत मत नपाएपछि पुनः बिहीबार मतदान भएको थियो । दोस्रो चरणको निर्वाचनमा रावल र पण्डितको प्रतिस्पर्धा भएको हो । शुक्रबार बिहान मत गणना गरिएको हो ।