close

कांग्रेसमा गाईजात्रा : चार पटकसम्म सारेर पनि महाधिवेशन मिति अन्योलमै

कांग्रेसमा गाईजात्रा : चार पटकसम्म सारेर पनि महाधिवेशन मिति अन्योलमै

Trulli
ADVERTISEMENT

काठमाडौं– बहुमतको ओली सरकारलाई ढलाएर सत्ताको तालाचाबी जिम्मा लिएको सत्तारुढ नेपाली कांग्रेसभित्रको आन्तरिक किचलो तन्किँदै गएको छ । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच आ–आफ्नै  गुट–उपगुट कायम रहेपछि कांग्रेसले चार–चार पटकसम्म पनि तोकिएको मितिमा महाधिवेशन गर्ने मिति अझै पर धकेलिने भएको छ ।


७–१० फागुन २०७७ सम्म १४औँ महाधिवेशनको मिति तोकेको कांग्रेसले चार पटकसम्म पार्टीभित्रको किचलोलाई देखाएर पुनः महाधिवेशन सार्ने संकेत देखिएको छ ।


सत्तामा रहेको संस्थापन र सत्तामा लाभको पद नपाएको पौडेल पक्षको किचलोका कारण अन्ततः कांग्रेसले पाँचौँ पटक महाधिवेशन मिति तोक्नुपरेको हो ।
आफूलाई प्रजातन्त्रवादी पार्टी भने पनि पार्टीको गुटबन्दीका कारण कांग्रेसले बचेखुचेको इमान पनि गुमाउँदै छ ।


गत साउनमा बसेको केन्द्रीय समिति बैठकले ९ देखि १३ मंसिरसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, उही लफडा । संस्थापनले आफ्ना  मान्छे जिताउन खोज्ने, पौडेल पक्षले प्रतिवाद गर्ने । पार्टीभित्र झांगिएको गुटगत समूह, क्रियाशील सदस्यता विवाद, कोरोना संक्रमणलगायत वहाना बनाएर कांग्रेसले महाधिवेशन सार्न लागेको हो ।


कांग्रेसले २०७६ पुसमै महाधिवेशन प्रक्रिया थाले पनि अहिलेसम्म त्यसले पूर्णता पाएको छैन । महाधिवेशन हुने–नहुने अन्याले बढेको बढ्यै छ । नाममा प्रजातन्त्रवादी भनिए पनि सारमा कांग्रेसले पार्टीलाई लोकतन्त्रको बाटोबाट क्रमशः भीरमा धकेलिरहेको कांग्रेस नेता चन्द्र भण्डारी बताउँछन् । उनले भने, ‘विधि, पद्धतिभन्दा पार्टीभित्रको गुट–उपगुटले उपद्रव गरेपछि कहिल्यै समाधान नहुने गरी कांग्रेस झगडामा अलमलिएको छ । जो सत्ता वरिपरि रहन्छ, उसैले पार्टी कब्जा गर्ने रणनीति पछ्याउँदा यो अवस्था आइलागेको हो ।’


चार–चार पटक अधिवेशनको मिति तोके पनि अहिलेसम्म क्रियाशील सदस्यता विवादको छिनोफानो हुन नसक्नुमा संस्थापन पक्ष गैरजिम्मेवार देखिएको राजनीतिक विश्लेषण गरिँदै छ ।


दुई गुटका कारण हालसम्म रौतहट र रसुवामा क्रियाशील सदस्यता विवाद ज्यूँका त्यूँ छ । अन्य जिल्लामा क्रियाशील सदस्यता विवाद मिलाइएको भनिए पनि वडा अधिवेशन अनिश्चित छ ।


१३ जिल्लामा वडा अधिवेशन गर्न नसकेको कांग्रेसले ६४ जिल्लामा वडा अधिवेशन सके पनि गाउँ/नगर अधिवेशनको टुंगो अहिलेसम्म लगाएको छैन ।
सभापति देउवाले क्रियाशील सदस्यतामा देखिएका विवाद टुंग्याउन केही दिनअघि केन्द्रीय सदस्य रमेश लेखकलगायतसँग बालुवाटारमा छलफल गरेका थिए । तर, अहिलेसम्म त्यो छलफलले काम गरेको देखिएन ।


यद्यपि संस्थापन पक्षका नेताहरू भने केही दिनमा क्रियाशील सदस्यता विवाद टुंगिने र छठलगत्तै बाँकी रहेका जिल्लामा वडा अधिवेशन हुने दाबी गर्छन् । जति महाधिवेशन मिति लम्बिँदै जान्छ, उति लाभमा रहने सभापति देउवाले लागि आफ्ना  मान्छेलाई प्रतिनिधि चुन्न प्रहरीसमेत लगाए । रामचन्द्र पनि के कम ! सभापति देउवाविरुद्ध खुलेयाम गुटबन्दीमा रमाए । रमाइरहेका छन् । 


यतिबेला कांग्रेसभित्र सभापति देउवाको गुट, कोइराला परिवारको बलियो टेको रहेको वरिष्ठ नेता पौडेलको गुट पार्टी एक भए पनि छुट्टै भएझैँ गरी एकआपसमा पार्टी कब्जाको लाइनमा छन् ।


अझ अगाडि बढेर हेर्ने हो भने सभापतिका आकांक्षी विमलेन्द्र निधि, गणेशमान पुत्र प्रकाशमान सिंहले पनि गुटगत समूहलाई मलजल गरिरहेका छन् । 
संस्थापन पक्षले नै केन्द्रीय महाधिवेशन ९ मंसिर ९ मै सुरु गर्न समय नपुग्ने भनिसक्यो । मंसिर मसान्त वा पुस पहिलो सातासम्म महाधिवेशन सार्न यो पक्षले लबिइङ गरेको छ ।


यसका लागि पार्टी सभापति देउवाले पदाधिकारी र केन्द्रीय समिति बैठक गर्ने तयारी गरेको बताइन्छ । त्यही बैठकले महाधिवेशनको नयाँ मितिको टुंगो लगाउने भनिएको स्रोतको दाबी छ ।


आफैंले बनाएको महाधिवेशन कार्यतालिकाअनुसार काम नगरेपछि कांग्रेसभित्र झगडाको बिउ अझै तन्किने प्रस्ट छ । केही ठाउँका विवादबाहेक पालिका अधिवेशन भए पनि प्रदेश अधिवेशनको टुंगो अझै लागेको छैन ।


कांग्रेस नेता भण्डारीका अनुसार २ जिल्लामा क्रियाशील विवाद कायमै छ । १३ जिल्लामा वडा अधिवेशन भएकै छैन भने ६४ जिल्लामा गाउँ तथा नगर अधिवेशन हुनै सकेन ।


दसैँअघि नै २१ हिमाली जिल्लामा अधिवेशन सम्पन्न गर्ने बताइए पनि जम्मा १४ जिल्लामा मात्र अधिवेश भएको छ । अरूमा विवाद कायमै छ । ताप्लेजुङ, संखुवासभा, ओखलढुंगा, दोलखा, रामेछाप, गोरखा, मनाङ, मुस्ताङ, हुम्ला, मुगु, कालीकोट, रुकुम पूर्व, बझाङ, बाजुरा गरी १४ जिल्लामा कांग्रेसले जिल्ला अधिवेशन गरिसकेको छ । रसुवामा अझै क्रियाशील सदस्यता विवाद टुंगिएको छैन । 


रसुवासहित डोल्पा, सोलुखुम्बु, सिन्धुपाल्चोक, जुम्ला, दार्चुला, धादिङमा जिल्ला अधिवेशन कहिले हुने हो, टुंगो लागेको छैन । कांग्रेसले १८ भदौमा देशभरका ६ हजार ७ सय ४३ वडामा एकै दिन वडा अधिवेशन गर्ने भने पनि १३ जिल्लामा अधिवेशनको टुंगो लागेको छैन । प्रदेश २ का कुनै पनि जिल्लामा वडा अधिवेशन भएकै छैन ।


बारा, पर्सा, सप्तरी, सिरहा, सर्लाही, रौतहट, धनुषा र महोत्तरीमा क्रियाशीलकै विवादले वडा अधिवेशनमा अन्योलमा छ । रौतहटमा क्रियाशील विवाद टुंगिने संकेत देखिएको छैन ।


सुर्खेत, डोल्पा, कैलाली, बाँके र रसुवामा पनि वडा अधिवेशन हुन बाँकी छ । यहाँ पनि उही रडाको ! क्रियाशील सदस्यता टुंग्याउन नसक्दा वडा अधिवेशन हुन नसकेको हो ।


चार–चार पटकसम्म महाधिवेशन गर्न नसक्ने अक्षम कांग्रेस नेतृत्वले महाधिवेशन कार्यतालिका परिमार्जन गर्न केन्द्रीय समिति बैठक राख्ने तयारी गर्दै छ । रौतहट र रसुवाको क्रियाशील सदस्यता विवाद टुंग्याएर निर्वाचन समितिले नाम सार्वजनिक गरेपछि पदाधिकारी र केन्द्रीय समिति बैठक गरेर महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने कांग्रेस दाबी छ


रोकिएका अधिवेशन छठपछि सुरु हुने र क्रियाशील विवाद तिहारअगाडि नै समाधान गरिने कांग्रेस सह–महामन्त्री प्रकाशशरण महतले दाबी गरे । विधि, पद्धतिअनुसार पार्टी चल्नुपर्ने र तोकिएकै समय महाधिवेशन गर्नुपर्ने माग पूर्वमहामन्त्री प्रकाशमान सिंहको छ । संस्थापन पक्षले प्रहरी प्रशासन लगाएर अधिवेशन गरेपछि कांग्रेस झगडा झांगिएको उनको तर्क छ ।

 

निकम्मा निर्वाचन समिति

 

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पूर्वनिर्धारित मितिमा महाधिवेशन गर्नै नसकिने बताएको छ । रसुवा र रौतहटको क्रियाशील सूची सार्वजनिक भएको छैन । सबै काम नभई महाधिवेशन कसरी हुन्छ ?’ समिति संयोजक महादेवप्रसाद यादवले भने ।


सभापति देउवाले क्रियाशील सदस्यको नाम बुझाएपछि मात्रै निर्वाचन समितिले सार्वजनिक गर्ने व्यवस्था पार्टी विधानमा छ ।  महाधिवेशनको सबै कार्यतालिका प्रभावित बनिसकेको छ । वडालगायत अधिवेशन तिहार अगाडि गर्ने वा बाँकी रहेका सबै एकै पटक गर्ने भन्नेबारे छलफल चलिरहेको यादव बताउँछन् ।

 

देउवाले कब्जा गरे डडेल्धुरामा


सभापति देउवाको गृहजिल्ला डडेल्धुरामा भएको वडा अधिवेशनका कारण कांग्रेसभित्र विवादको पहाड ठडिएको छ । वडा अधिवेशनदेखि कब्जा गरेर संस्थापनले पार्टी कब्जा गर्न खोजेको वरिष्ठ नेता पौडेल पक्षको आरोप छ ।


जिल्ला सभापति कर्णबहादुर मल्ललगायतको विरोधका बीच गत २५ भदौमा डडेल्धुरामा वडा अधिवेशन भएको थियो । जिल्लाबाट पठाएका क्रियाशील सदस्यको नाम काटेर संस्थापन पक्षले करिब ३ सय जनाको नाम थपेपछि डडेल्धुरामा पौडेल पक्षले वडा अधिवेशन वहिष्कार गरेको थियो ।


पुनः वडा अधिवेशन गर्नुपर्ने र क्रियाशील सदस्यको सूची नयाँ निकाल्नुपर्ने माग राखेर पौडेल पक्ष डडेल्धुरा पार्टी कार्यालयमा धर्ना र अनशनसमेत बसेको थियो । 

 

यस्तो छ, कांग्रेस विधान 


कांग्रेस विधानमा चार वर्षको अन्तरालमा महाधिवेशनबाट नेतृत्व चयन हुनैपर्छ भन्ने लेखिएको छ । विशेष परिस्थितिमा एक वर्ष कार्यकाल थप गर्न सकिने व्यवस्था छ । सोहीअनुसार देउवा सभापतिमा कायम छन् । तर, पार्टी सभापति देउवाले विधानलाई बर्खिलाप गरी कार्यकाल ६ महिना थप गरिसकेका छन् । थपेको समय पनि २३ भदौमा सकिइसकेको छ ।