close

दाङमा एमाले वडा अधिवेशन, १०० वटै वडामा सर्वसम्मत

दाङमा एमाले वडा अधिवेशन, १०० वटै वडामा सर्वसम्मत

Trulli
ADVERTISEMENT

दाङ–नेकपा एमालेको दसौँ महाधिवेशनअन्तर्गत शनिबार देशभर एकै पटक वडा अधिवेशन भएका छन् । वडा अधिवेशनको पार्टी अध्यक्ष केपी ओलीले भर्चुअल माध्यमबाट एकै पटक उद्घाटन गरे ।  पार्टीबाट वरिष्ठ नेता माधवकुमार नेपाललगायतको समूह बाहिरिएपछि भएको एमालेले वडास्तरीय नयाँ नेतृत्व भने सर्वसम्मत चयन गरिरहेको छ ।


प्रायः युवा नेतृत्व छानिएको चुनावमा दाङका सबै १०० वडामा शनिबार सर्वसम्मत नेतृत्व चयन गरिएको छ । एमालेको प्रथम विधान महाधिवेशनबाट पारित भएको विधानको आधारमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य, दलित, अल्पसंख्यक, जनजाति, अपांगतालगायतको सहभागितामा समावेशी वडा संगठन कमिटी गठन गरिएको एमाले दाङले जनाएको छ । 


१०० वडामध्ये जनजाति २९, दलित ३, महिला ५ र धार्मिक अल्पसंख्यक मुस्लिम समुदायबाट १ जना वडा नेतृत्वमा चुनिएका छन् । एमाले दाङका अनुसार घोराही उपमहानगरमा १९, तुलसीपुर उपमहानगरमा १९, लमही नगरपालिकामा ९, राप्ती गाउँपालिकामा ९, गढवा गाउँपालिकामा ८, राजपुर गाउँपालिकामा ७, बबई गाउँपालिकामा ७, दंगीशरण गाउँपालिकामा ७, शान्तिनगर गाउँपालिकामा ७, बंगलाचुली गाउँपालिकामा ८ गरी १०० वडामा सर्वसम्मत नेतृत्व छानिएको हो । 

१०० मा ५ महिला

एमाले दाङको शनिबार सम्पन्न वडा अधिवेशनले १०० वडाध्यक्ष सर्वसम्मत चयन गरेको छ । तीमध्ये ५ महिलाले मात्रै वडाको नेतृत्व गर्ने अवसर पाएका छन् ।
१०० मध्ये घोराही उमहानगरपालिका वडा नम्बर १ को अध्यक्षमा टोपाकुमारी पौडेल, घोराहीकै वडा नम्बर ४ मा लीला गोतामे चुनिएका छन् ।

 

त्यस्तै, गढवा गाउँपालिका वडा नम्बर ५ मा सीता थापा, दंगीशरण गाउँपालिका वडा नम्बर १ मा दिलकुमारी पुन र बबई गाउँपालिका वडा नम्बर ७ मा रुपा रानाले एमाले वडाध्यक्षको जिम्मेवारी पाएका हुन् । पौडेल घोराही वडा नम्बर १ की निर्वाचित वडा सदस्य तथा घोराही उपमहानगर कार्यपालिका सदस्य हुन् भने गोतामे घोराही वडा नम्बर ४ की निर्वाचित वडा सदस्य हुन् ।


यसैगरी राना बबई वडा नम्बर ७ की वडा सदस्य तथा बबई गाउँपालिका कार्यपालिका सदस्य हुन् । घोराही, दंगीशरण, गढवा र बबई गाउँपालिकाबाहेक अरू ६ वटा पालिकाले महिलालाई मुख्य नेतृत्व दिन सकेनन् । 

 

तुलसीपुर, लमही, बंगलाचुली, शान्तिनगर, राजपुर र राप्तीले कमिटीमा पार्टीको विधानले तोकेको ३३ प्रतिशत समावेशी बनाउने सर्त पूरा गर्नेबाहेक नेतृत्व स्थापित गर्न नसकेको देखिएको छ । पार्टीको निर्णयअनुसार नै दाङमा सर्वसम्मत नेतृत्व चयन गरिएको पार्टी अध्यक्ष टीकाराम खड्काले बताए ।