close

कर्णालीमा कांग्रेस–माओवादी सत्ता किचलो

केन्द्रमै हुन सक्छ उलटफेर

कर्णालीमा कांग्रेस–माओवादी सत्ता किचलो

केन्द्रमै हुन सक्छ उलटफेर

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा चलिरहेको नागरिक आन्दोलन थेग्न नसकेर ११ वैशाख २०६२ मा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ताको चाबी ७ राजनीतिक दललाई नै सुम्पिए । 

 

यसअघि २०६२ फागुनको १२ बुँदे दिल्ली सम्झौतामा तत्कालीन नेकपा माओवादीले संसदीय व्यवस्था स्वीकार्ने सर्तमा राजनीतिक पार्टीको मान्यता पायो । यसअघि राज्यले मात्र नभई अन्तर्राष्ट्रिय समुदायले समेत माओवादीलाई आतंकवादी संगठन घोषणा गरेका थिए । 

 

कांग्रेसकै जोडबलमा अन्य राजनीतिक दलसँगै हतियार बिसाएर शान्तिपूर्ण जनआन्दोलनमा सहभागी हुन पायो, माओवादी । ७ राजनीतिक दलको मार्गअनुसार नेपालमा अन्तरिम संविधान, अन्तरिम संसद् हुँदै गणतन्त्रसम्मका गतिविधि शान्तिपूर्ण रूपमा गरिए ।


आन्दोलनरत माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता भएपछि सुरु भयो सत्ताको खेल । बन्दुकबाट सत्ता कब्जाको सपना बुनिरहेको माओवादीलाई तत्कालीन ७ राजनीतिक दलले नेपालको अन्तरिम संविधान, २०६३ निर्माण गरेर अन्तरिम व्यवस्थापिका संसद्मा निर्वाचनबिनै सांसद बनाए । माओवादी त्यतिबेला पनि सत्ता कब्जाकै मेसोमा थियो । तर, गिरिजाप्रसादको नेतृत्वमा माओवादीसमेतको संयुक्त सरकारले संविधानसभाको निर्वाचन गरायो । त्यसपछि सुरु भयो सत्ताको खेल ।

 

संविधानसभा निर्वाचनपछि बसेको पहिलो बैठकले १५ जेठ २०६५ मा नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा ग¥यो । गणतन्त्रमा तत्कालीन राजा ज्ञानेन्द्र सत्ताच्युत हुन पुगे । कांग्रेससँगको भद्र सहमतिविपरीत माओवादीले गिरिजाप्रसादलाई राष्ट्रपति मान्न तयार भएन । परिणाम राष्ट्रपतिको चुनाव भयो । त्यसपछि गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपतिको रूपमा डा. रामवरण यादव र उपराष्ट्रपतिमा परमानन्द झा चुनिए । कांग्रेसले यहीबाटै माओवादीबाट धोका पाइसकेको थियो ।

 

माओवादीले संसदीय प्रजातन्त्रलाई मान्न इन्कार गरिरह्यो । गिरिजाप्रसादले कांग्रेसले हान्ने जान्दाजान्दै संविधानसभाको पहिलो निर्वाचन गराएर र माओवादीलाई सत्ता सुम्पिए ।

 

माओवादीले जनमतबाट सत्ताको हकदार भएपछि राज्य कब्जाको शृंखला चलाएको परिणाम तत्कालीन सेनापति रुक्मांगत कटुवाल प्रकरणले उसको सत्ता गुम्यो । सत्ता गुमेको रिस उबेला माओवादीले कांग्रेस र तत्कालीन राष्ट्रपति यादवमाथि थोपर्‍यो ।

 

२०४६ को राजनीतिक परिवर्तनपछि सत्ता केन्द्रमा रहेका कोइरालालाई माओवादीले खेलाउनसम्म खेलायो । माओवादीलाई मूलधारमा ल्याउन गणतन्त्र आवश्यक थियो । यसका लागि राजा ज्ञानेन्द्रलाई सहमत गराउन गिरिजाप्रसाद सफल भए । सक्रिय राजतन्त्रको असफल अभ्यासमा लागेका राजा ज्ञानेन्द्रलाई नारायणहिटीबाट बाहिर निकाल्ने कामको नेतृत्व उनै गिरिजाले गरे ।

 

ज्ञानेन्द्रको १९ माघको घोषणापछि गिरिजाप्रसादले हत्या–हिंसालाई अन्त्य गरेर शान्तिपूर्ण रूपमा माओवादीलाई मूलधारमा ल्याउन उसले जे–जे भन्छ, त्यही गरिदिए । गणतन्त्र स्थापनाको एक सूत्रीय मागमा निरन्तर अडिग रहे । 

 

माओवादीसँग नलेखिएको कांग्रेसको सम्झौता पहिलो राष्ट्रपतिका रूपमा गिरिजाप्रसादलाई बनाउने थियो । माओवादीलाई मूलधारमा ल्याएर मात्र होइन, राजाको व्यवस्थापन पनि सहजका साथ गरेका कारण उनले यो चाहना राख्नु स्वाभाविकै थियो । तर, माओवादीकै कारण गिरिजाप्रसादको राष्ट्रपति हुने चाहना पूरा भएन । 

 

माओवादीलाई मनोनयनको बाटोबाट अन्तरिम व्यवस्थापिकामा ल्याइएपछि राष्ट्रपतिको निर्वाचन भयो । सबै दलको सहयोग नभएको अवस्थामा गिरिजाप्रसादले राष्ट्रपतिको उम्मेदवारी दिएनन् । ७ चैत २०६६ मा गिरिजाप्रसादको निधन भयो । 

 

पहिलो संविधानसभामा पहिलो दल बने पनि माओवादीकै बखेडाका कारण संघीय संविधान बन्न सकेन । परिणाम दोस्रो निर्वाचन भयो । यो निर्वाचनमा माओवादीले लज्जास्पद हार बेहोर्नुप¥यो । गिरिजाप्रसादलाई राष्ट्रपति नबनाएको पछुतो त्यतिबेलै नेकपा अध्यक्ष पुष्पकमल दाहालले गरिसकेका छन् ।

 

माओवादीबाट बारम्बार धोका पाइरहे पनि सत्ता छाड्न नचाहने कांग्रेसले उसैसँग उठबस गरिरह्यो । हाल प्रधानमन्त्रीमा रहेका तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ मा संघीय गणतन्त्रपछिको पहिलो स्थानीय तह निर्वाचन गरायो । यो निर्वाचनमा पनि कांग्रेसले माओवादीलाई भरथेग सहयोग गर्‍यो  ।

 

प्रचण्डपुत्री रेणुका दाहाललाई उबेलाको भरतपुर उपमहानगर प्रमुख बनाउन बत्ती निभाएर मतपत्र च्यात्नेसम्मको काममा कांग्रेसले सहयोग गर्‍यो  । मतपत्र च्यातेपछि एमाले उम्मेदवारको ठाउँमा कांग्रेस–माओवादी गठनबन्धनबाट उठेकी प्रचण्डपुत्री रेनु भरतपुरकी मेयर बनिन् । पहिलो संविधानसभाको निर्वाचनपछि २ भदौ २०६५ मा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई गिरिजाप्रसादले प्रधानमन्त्रीको कार्यभार सुम्पिए ।

 

२०६४ चैत २८ मा संविधानसभाको निर्वाचन पनि भयो । माओवादी पहिलो पार्टी बन्यो । प्रजातन्त्रका लागि लामो संघर्ष गरेका कांग्रेस र एमाले क्रमशः दोस्रो र तेस्रो स्थानमा खुम्चिए । तत्कालीन प्रधानमन्त्री दाहालले कटवाल प्रकरणमा राजीनामा दिए । कोइरालाले त्यसपछि प्रधानमन्त्रीको रूपमा एमाले नेता माधवकुमार नेपाललाई अघि सारे । ११ जेठ २०६६ मा नेपालको नेतृत्वमा कांग्रेससहितको सरकार बन्यो ।

 

शान्ति प्रक्रियाका हस्ताक्षरकर्तासमेत रहेका गिरिजाप्रसादको तोक आदेशमा माओवादीलाई दिएको राज्यकोष दुरुपयोग विषय पछिसम्म विवादमै रह्यो । महालेखा परीक्षकको कार्यालयले समेत यसरी भएको खर्च बेरुजु भन्दै आएको थियो । 

 

१२ भदौ २०६८ मा डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि उक्त विवादलाई थामथुम पारियो । माओवादीले आप्mना लडाकु शिविरका नाममा उबेलै अर्बौं रुपैयाँ गोलमाल गरेको विषय अहिले पनि राजनीतिक बहस हुँदै आएको छ ।

 

राजनीति विश्लेषक प्रा. कृष्ण पोखरेल २०६२÷६३ को आन्दोलनभन्दा पहिला कोइराला हठी र एकलकाँटे स्वभावको नेता भएको बताउँछन् । ‘कुनै बेला माले, मसाले र मण्डले एकै हुन् भनेर सार्वजनिक रूपमा वक्तव्यबाजी गर्दै आएका कोइरालाले कांग्रेसका हजारौँ कार्यकता माओवादीबाट मारिँदासमेत प्रजातन्त्रका लागि उसलाई स्पेस दिइरहे,’ उनले भने ।

 

अन्तरिम संविधान हुँदै गणतन्त्रसम्म आइपुग्दा माओवादीले कांग्रेससँग गरेको भद्र सहमति तोडेको तोड्यै छ । तर, कांग्रेस भने एमालेलाई साइजमा ल्याउने ताकमा माओवादीसँग निरन्तर उठबस गरिरहेको छ । यसको परिणाम बहुमतसहितको एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई हटाएर माओवादीसँग गठजोडमा कांग्रेस सभापति शेरबहादुर देउवाले हाल प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन् । 

 

देउवाले फुटेको एमालेका नेता, माओवादी र उपेन्द्र यादव नेतृत्वको साथ पाइरहेका छन् । माओवादीको सत्ता मोह अझै उस्तै छ । पछिल्लो कर्णाली प्रकरणमा पनि कांग्रेसलाई माओवादीले थाङ्नामा सुताइदिएको प्रस्टै देखिन्छ ।

 

कर्णाली प्रदेशको राजनीति पहिलो वर्षदेखि नै सत्ता र शक्तिको गन्जागोलमा फसिरहेको छ । २०७४ को प्रदेशसभा निर्वाचनपछि एमालेको समर्थनमा मुख्यमन्त्री बनेका माओवादी नेता महेन्द्रबहादुर शाहीले पछिल्लो समय कांग्रेससँग आधा–आधा वर्ष सत्ता सुम्पिने सर्तमा सत्ता चलाएका छन् । 

 

एमाले–माओवादी भएर बनेको एउटै पार्टी नेकपाभित्रै पूर्वएमालेले अविश्वास प्रस्ताव ल्याएपछि शाहीले कांग्रेसको भरथेग पाइरहेका छन् । तत्कालीन सत्तापक्ष (एमाले–माओवादी) का सांसदले नै उनलाई असहयोग गरेका थिए । 

 

हालका एमाले नेता सांसद यामलाल कँडेलले शाहीको सरकारलाई चार–चार पटक विस्थापित गर्ने योजना बनाए तर कांग्रेसले टेको दिइरह्यो । समझदारीअनुसार कांग्रेसले आधा र माओवादीले आधा समय सत्ता चलाउने भनिएको थियो । अहिले आएर माओवादीले कांग्रेसलाई लोप्पा खुवाइदिएको छ ।

 

तत्कालीन एमाले (हाल नेकपा एकीकृत समाजवादी) कै केही सांसदको समर्थनमा मुख्यमन्त्री शाहीले अहिलेसम्म सत्ता सुरक्षित गर्दै आएका छन् । पछिल्लो समय उनलाई कांग्रेसले पनि साथ दिएको छ ।


माओवादीले सत्ता नछाड्ने घोषणा गरेपछि कर्णालीमा अहिले मुख्यमन्त्री शाही र कांग्रेस नेता जीवनबहादुर शाहीबीच संघर्ष सुरु हुन थालेको छ । कर्णालीमा माओवादीको सत्ता नछाड्ने घोषणापछि कांग्रेसले पनि त्यसलाई काउन्टर दिने गरी रणनीति बनाउन थालेको विश्लेषण राजनीतिक वृत्तमा गरिँदै छ । 

 

एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतामा परेका मुख्यमन्त्री शाहीले कांग्रेसको सहयोगमा प्रदेशसभाको बैठकबाट ३ वैशाखमा विश्वासको मत लिए । यसमा कांग्रेसले माओवादीलाई सहयोग गर्‍यो, आधा–आधा कार्यकाल मुख्यमन्त्री पद बाँड्ने गरी ।

 

कांग्रेससँगको सहमतिअनुसार दीनबन्धु श्रेष्ठ र यज्ञ बिसी अहिले पनि कर्णाली सरकारमा सहभागी छन् । सुरुमा मुख्यमन्त्री शाहीसँग सत्ता बाँडफाँटको भद्र सहमति भए पनि अहिले किचलो निकालेको कांग्रेस नेता जीवनबहादुर शाहीको दाबी छ । माओवादीले सहमतिअनुसार सत्ता नसुम्पिए केन्द्रमै कुरा लैजाने र कर्णालीमा सरकार परिवर्तन गरिछाड्ने नेता शाही बताउँछन् । 


स्रोतका अनुसार मुख्यमन्त्री शाही र कांग्रेसबीच २ वैशाखमा ११ बुँदे सहमति भएको थियो । सोही सहमतिअनुसार ६ महिनापछि जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बनाइने उल्लेख छ । ६ महिने समय १५ कात्तिकमा सकिँदै छ । 


सहमतिअनुसार कांग्रेस नेता शाही मुख्यमन्त्री बन्नुपर्ने भए पनि माओवादीले सत्ता नछाड्ने अड्को थापेपछि कर्णालीका झगडा केन्द्रमै आइपुगेको छ ।
मुख्यमन्त्री शाहीले भने एमाले फुटेको र नेकपा माओवादी छुट्टै पार्टी बनेकाले कांग्रेसलाई सत्ता नदिने अडान रटिरहेका छन् । उनले सत्ता गठबन्धनको सहमति भए मात्र कांग्रेसलाई सरकार सुम्पिने बताएका छन् ।

 

कांग्रेस नेता शाही भने केन्द्रीय गठबन्धनको वातावरण नै कर्णालीमा भएको समझदारीको उपज भएको सुनाउँछन् । कांग्रेससँग लिखित समझदारी गरे पनि माओवादीले धोका दिएको उनको बुझाइ छ ।


नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशमा कांग्रेसलाई सत्ता हस्तान्तरण नगर्ने निर्णय शनिबार सम्पन्न प्रदेश कार्यालयको विस्तारित बैठकले गरेपछि यसको तरंग केन्द्रसम्मै आइपुगेको छ । कांग्रेसले पूर्वसहमतिअनुसार सरकारको नेतृत्व दाबी गर्ने बताए पनि मुख्यमन्त्री शाही उक्त सम्झौता कार्यान्वयन नगर्ने र बाँकी अवधि आफैंले प्रदेश सरकारको नेतृत्व गर्ने रणनीतिमा जुटेका छन् । 


मुख्यमन्त्रीको लाइनमा रहेका कांग्रेस कर्णाली संसदीय दलका नेता जीवनबहादुर शाहीले २ वैशाखको लिखित समझदारी विपरीत माओवादी गए साथ नदिने बताएका छन् । माओवादीले पटक–पटक धोका दिएकाले कांग्रेसले केन्द्रबाटै निर्णय गरेर यसको छिनाफानो हुनुपर्ने उनको भनाइ छ ।


३५ सदस्यीय कर्णाली प्रदेशसभामा एमालेका सभामुखसहित १३, माओवादीका १२, कांग्रेसका ६, एकीकृत समाजवादीका ३ र राप्रपाका १ सांसद छन् । हाल माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता शाहीको नेतृत्वमा कांग्रेस र एकीकृत समाजवादीको गठबन्धन सरकार छ ।