close

प्रधानमन्त्री देउवाले सुने बाढीपहिरोपीडित किसानका गुनासा : विशेष राहत प्याकेज ल्याउने घोषणा

प्रधानमन्त्री देउवाले सुने बाढीपहिरोपीडित किसानका गुनासा : विशेष राहत प्याकेज ल्याउने घोषणा

Trulli
ADVERTISEMENT

पाँचथर–प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार पाँचथर र इलामका बाढीपहिरो प्रभावित क्षेत्रको हेलिकोप्टरबाट अवलोकन गरेका छन् ।  दुई जिल्लाका बाढीपहिरो प्रभावित स्थानमा प्रधानमन्त्री देउवाले हवाई अवलोकन गरेका हुन् । हवाई अवलोकनपछि प्रधानमन्त्री देउवाले पाँचथरको राँके बजारमा पीडित परिवारसँग भेटघाट गरे ।


मुलुकमै सबैभन्दा धेरै क्षति भएको पाँचथरका बाढीपहिरो प्रभावितका लागि अल्पकालीन र दीर्घकालीन राहत प्याकेज ल्याउने प्रधानमन्त्री देउवाले प्रतिबद्धता जनाए ।


सरकारले यसअघि नै राहत प्याकेज घोषणा गरेको छ । यद्यपि बढी प्रभावित जिल्लामा थप राहत प्याकेज ल्याउने प्रधानमन्त्री देउवाको भनाइ थियो । काठमाडौं फर्केपछि मन्त्रिपरिषद् बैठक बोलाएर विशेष राहत प्याकेज घोषणा गर्ने पीडित परिवारसँग प्रधानमन्त्री देउवाले बताए । उद्दार, राहत र घाइतेको उपचार तत्कालीन प्राथमिकता भएको बताउँदै प्रधानमन्त्री देउवाले त्यसपछि विस्थापित परिवारलाई सुरक्षित आवास व्यवस्था सरकारले गर्ने जानकारी दिए ।


विपत्तिको समय एकजुट भएर सहयोग पुर्‍याउनसमेत प्रधानमन्त्रीले सबैलाई आह्वान गरे । बाढीपहिरोका कारण पाँचथरमा ३० जना र इलाममा १४ जनाको ज्यान गएको छ । पाँचथरमा ३ र इलाममा ३ जना बेपत्ता छन् ।


प्रधानमन्त्रीसँगको भेटमा विस्थापितहरूले तत्काल सुरक्षित आवास व्यवस्थापन गर्न माग राखे । बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन र पीडितलाई भेट्न आएका कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले पाँचथर–इलामका पार्टीका नेता–कार्यकर्तालाई सम्बोधन गर्दै महाधिवेशन चाँडै हुने आश्वासन दिलाए ।