close

प्रदेश २ सरकारबाट २ विश्वविद्यालय स्थापना अध्यादेश सिफारिस

प्रदेश २ सरकारबाट २ विश्वविद्यालय स्थापना अध्यादेश सिफारिस

Trulli
ADVERTISEMENT

जनकपुरधाम– प्रदेश २ सरकारले विश्वविद्यालय स्थापनासम्बन्धी २ वटा अध्यादेश सिफारिस गरेको छ ।  प्रदेश मन्त्रिपरिषद्को मंगलबार सम्पन्न बैठकले वीरगञ्ज प्राविधिक विश्वविद्यालय र सप्तरीमा कृषि विश्वविद्यालय स्थापनासम्बन्धी अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए । 


प्रदेश प्रमुखबाट अध्यादेश जारी भएलगत्तै दुवै विश्वविद्यालय स्थापनाको बाटो खुला हुनेछ । कृषि तथा प्राविधिकसम्बन्धी जनशक्ति उत्पादन तथा कृषि र प्राविधिकसम्बन्धी अध्ययन अनुसन्धानलाई समयसापेक्ष व्यावहारिक र स्तरीय बनाउन प्रदेशस्तरीय कृषि तथा प्राविधिक विश्वविद्यालय स्थापना आवश्यक देखिएकाले नेपालको संविधानको धारा २०२ बमोजिम प्रदेशसभा सञ्चालनमा नरहेको अवस्थामा अध्यादेश सिफारिस गरिएको हो ।


सरकारले जनकपुरधाममा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थाापना गरी सञ्चालनमा ल्याइसकेको छ । यसैगरी प्रदेश सरकारले ग्रिन सिटी क्लिन सिटीअन्तर्गत पहिलो चरणमा जनकपुरधाम, राजविराज र वीरगञ्जमा सरसफाइ, बिजुली बत्ती तथा वृक्षारोपण सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता साहले बताए । 


मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारद्वारा सञ्चालित विकास निर्माणलाई प्राविधिकसहितको उच्च स्तरीय टोलीद्वारा स्थलगत निरीक्षण गराई ढिलासुस्ती एवं गुणस्तरहीन काम गरेको पाइए त्यस्ता ठेकेदार कम्पनीको बैंक ग्यारेन्टी जफतदेखि कालोसूचीमा राख्नेसम्मको कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।