close

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यको राजीनामा 

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यको राजीनामा 

Trulli
ADVERTISEMENT

काठमाडौं– बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने संकेत देखिएपछि राजीनामा दिएकी छन् । मुख्यमन्त्री शाक्यले प्रदेशसभालाई सम्बोधन गरेलगत्तै राजीनामाको घोषणा गरेकी हुन् ।  प्रदेशसभामा पेस गरेको विश्वासको प्रस्तावमा मत विभाजन हुनुअघि नै उनले बुधबार राजीनामा दिएकी हुन् ।


एमाले उपाध्यक्षसमेत रहेकी शाक्य गत २ भदौमा यसअघिका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएलगत्तै मुख्यमन्त्री बनेकी थिइन् । मुख्यमन्त्री बनेलगत्तैदेखि नै शाक्य अल्पमतमा परेकी थिइन् । 


विपक्षी गठबन्धनले भावी मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अघि सारेका छ । शाक्यको राजीनामासँगै अब पाण्डे मुख्यमन्त्री हुने सम्भावना छ ।


बागमती प्रदेशसभामा विपक्षी गठबन्धनमा रहेका कांग्रेसको २२, नेकपा माओवादीका २३, नेकपा एकीकृत समाजवादीका १३, विवेकशील साझाका ३, नेपाल किसान मजदुर पार्टी र राप्रपाका २–२ जना र जसपाका एक सांसद छन् । प्रदेशसभामा एमालेका ४३ सांसद छन् । विश्वासको मतका लागि भने ५५ सांसद आवश्यक पर्छ ।


बुधबारको बैठकमा मुख्यमन्त्री शाक्यले पेस गरेको विश्वासको मतको प्रस्तावमाथि मतदान हुने कार्यसूची थियो । प्रदेशसभाबाट विश्वासको मत नपाउने लगभग पक्का भएपछि शाक्यले राजीनामाको बाटो रोजेकी हुन् ।