close

तीन सयभन्दा बढी प्रदेश निर्वाचन क्षेत्रमा एकसाथ अधिवेशन गर्दै कांग्रेस 

तीन सयभन्दा बढी प्रदेश निर्वाचन क्षेत्रमा एकसाथ अधिवेशन गर्दै कांग्रेस 

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश निर्वाचन क्षेत्रमा शुक्रबार प्रदेश तहको अधिवेशन हुँदैछ । देशभरका तीन सयभन्दा बढी प्रदेश निर्वाचन क्षेत्रमा एकसाथ अधिवेशन गर्ने कांग्रेसको कार्यतालिका छ । कुल ३३० प्रदेश निर्वाचन क्षेत्रमध्ये १४ जिल्लामा प्रदेश तथा जिल्ला अधिवेशन भइसकेको छ ।

 

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव तथा अधिवक्ता जगन्नाथ श्रेष्ठले देशभर अधिवेशनका लागि आवश्यक तयारी पूरा गरिएको जानकारी दिए । निर्वाचनका लागि सबै जिल्लामा निर्वाचन अधिकृत खटाइसकिएको निर्वाचन समितिले जनाएको छ । प्राविधिक कारणवश कुनै प्रदेशले अधिवेशन गर्न नसकेको अवस्थामा पनि मङ्सिर ४ वा ५ गतेभित्र अधिवेशन गर्नुपर्नेछ । मङ्सिर ६ गते निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन हुँदैछ ।

 

पार्टीका गाउँ तथा नगरपालिकाका वडास्तरबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि तथा वडाको एकाइ अध्यक्षले प्रदेशको निर्वाचनमा सहभागिता जनाउने छन् । क्षेत्रीय प्रतिनिधिहरूले आफूहरूमध्येबाट अध्यक्षसहित १६ सदस्यीय कार्यसमितिको निर्वाचन गर्नेछ । यसका साथै क्षेत्रीय प्रतिनिधिहरूले आफूहरूमध्येबाट १६ जना प्रदेश निर्वाचनका लागि क्षेत्रीय प्रतिनिधिको चयन गर्नेछ । प्रदेशको निर्वाचन क्षेत्रबाट छानिएका क्षेत्रीय प्रतिनिधिले प्रदेशको सभापतिलगायतका पदाधिकारी चयन गर्नेछन् । सबै प्रदेशमा गरेर पाँच हजारभन्दा बढी प्रदेश क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् । पदाधिकारीका पनि त्यतिकै हाराहारीमा निर्वाचित हुने निर्वाचन समितिले जनाएको छ । काँग्रेसले १४औँ महाधिवेशनबाट सातवटै प्रदेशमा पार्टीको नयाँ संरचनासमेत निर्माण गर्दैछ । कांग्रेसले आगामी मङ्सिर १६ र १७ गते सातवटै प्रदेशका एकैसाथ प्रदेश अधिवेशन गर्दैछ ।

 


कांग्रेसले पार्टीको संरचनामा पहिलो पटक प्रदेश तहको नयाँ संरचनाको अभ्यास गर्दैछ । यसअघि वडा र प्रतिनिधि सभा निर्वाचन क्षेत्रको संरचना पार्टीमा भए पनि प्रदेश तहको संरचना भने थिएन । मुलुक प्रदेश संरचना गएपछि काँग्रेसले आफ्नो विधानलाई सोहीअनुसार बनाएर पहिलो पटक निर्वाचन गर्न लागेको हो ।


शुक्रबार प्रदेश तहको निर्वाचन हुने भएपछि सबै जिल्लाको अधिवेशनमा एकरूपता कायम भएको छ । अब कुनै जिल्लामा वडा अधिवेशन, कुनै जिल्लामा पालिकास्तरको नहुने अवस्था अन्त्य भएको र सबै जिल्लाको अधिवेशनमा अब एकरूपता कायम भएको निर्वाचन समितिका सचिव श्रेष्ठले जानकारी दिए ।