close

भैरहवामा कांग्रेस संस्थापन र पौडेल समूहबीच कुटाकुट

भैरहवामा कांग्रेस संस्थापन र पौडेल समूहबीच कुटाकुट

Trulli
ADVERTISEMENT

रूपन्देही–रूपन्देहीमा नेपाली कांग्रेसका कार्यकर्ताबीच कुटाकुट हुँदा ५ जना घाइते भएका छन् । गृहमन्त्री बालकृष्ण खाँण निकटका कार्यकर्ताले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका कार्यकर्तालाई कुटपिट गरेका हुन् ।

 

कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश निर्वाचनका क्रममा सिद्धार्थनगरमा रहेको मतगणना स्थलमा आक्रमण हुँदा ५ जना घाइते भएको प्रदेश ३ ‘क’ का उम्मेदवार पुरण श्रेष्ठले बताए ।

 

सिद्धार्थनगर नगरपालिका भैरहवामा मध्यराती मुख छोपेर आएका केही युवाले आक्रमण गर्दा क्षेत्रीय सचिवका उम्मेदवार शैलेश पन्त गम्भीर घाइते भएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

 

खाँण निकटका उम्मेदवारले मत परिणाममा हार्ने अवस्था आएपछि जेनेरेटर बन्द गराउँदै एक हुल युवा मतगणाना स्थल प्रवेश गरेर आक्रमण सुरु गरेको श्रेष्ठले दाबी गरे ।

 

आक्रमणबाट सामान्य घाइते भएका ४ जनाको भैरहवामा उपचार चलिरहेको छ । आक्रमणपछि मतगणना स्थगित भएको
छ । तरुण दल रूपन्देहीका अध्यक्ष सोमबहादुर गुरुङको नेतृत्वमा आक्रमण भएको पीडित पक्षले बताए । गृहमन्त्री खाँण पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । 

 

क्षेत्र नम्बर ३ प्रदेशसभा ‘क’ का पौडेल समर्थक सभापतिका उम्मेदवार श्रेष्ठले गृहमन्त्री खाँणकै निर्देशनमा आएर आक्रमण गराइएको दाबी गरे । पार्टी कार्यालयमा शान्त वातावरणमा भइरहेको मतगणना बिथोलिएको छ । 

 

‘गृहमन्त्री र पार्टीको जिम्मेवार मान्छेबाट कुटपिटका लागि निर्देशन दिइएपछि मतदान स्थल रणमैदान भएको हो’, उनले भने, ‘सदस्यको मतगणनामा पौडेल समूहले अग्रतान लिइरहेको थियो । तर, आक्रमणपछि मतगणना स्थगित भएको छ । योजनाबद्ध गरिएको कुटपिट हो ।’