close

कांग्रेस पाँचथरको क्षेत्रीय अधिवेशन : प्रदेश क्षेत्र ‘क’ मा प्रधानाध्यापक र ‘ख’ मा पहिलो पल्ट महिला

कांग्रेस पाँचथरको क्षेत्रीय अधिवेशन : प्रदेश क्षेत्र ‘क’ मा प्रधानाध्यापक र ‘ख’ मा पहिलो पल्ट महिला

Trulli
ADVERTISEMENT

पाँचथर– नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनअन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा विद्यालयका प्रधानाध्यापक सभापति निर्वाचित भएका छन् । हिलिहाङ वडा नम्बर ४ पञ्चमीस्थित सिद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक भगिश्वर योङहाङ प्रदेशसभा निर्वाचत क्षेत्र ‘क’ को क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् ।


शनिबार राती प्रकाशित निर्वाचनको मत परिणामअनुसार योङहाङ प्रतिस्पर्धी कुमार राईलाई ३४ मतले पछि पार्दै सभापतिमा निर्वाचित भए । विजयी योङहाङले २९६ र राईले २६२ मत प्राप्त गरे ।


प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा जम्मा ५८४ मध्ये ५७२ मत खसेको थियो । निर्वाचन क्षेत्र ‘क’ मा योङहाङको प्यानलै विजयी भएको हो । क्षेत्रीय उपसभापतिमा भरत खपांगी र सीताराम न्यौपाने निर्विरोध निर्वाचित भएका छन् भने सचिवमा सुन्दर आचार्य र सन्तोष मोक्तान, सहसचिवमा नरेन्द्र पन्धाक र सुन्दर थोक्लिहाङ विजयी बनेका छन् । 


प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ मा जिल्लाको इतिहासमै पहिलोपल्ट महिला नेतृत्व चुनिएको छ । निर्वाचन क्षेत्र ‘ख’ मा मैया श्रेष्ठ लावती प्रतिस्पर्धी नगेन्द्रकुमार लामालाई ६४ मतले पछि पार्दै क्षेत्रीय सभापतिमा निर्वाचित भएकी हुन् ।


आइतबार बिहान भएको अन्तिम मत परिणामअनुसार श्रेष्ठले २७३ मत प्राप्त गर्दा लामाले २०९ मत पाए । क्षेत्रीय उपसभापतिमा जीतबहादुर भण्डारी र तेजबहादुर चेम्जोङ निर्वाचित भएका छन् । भण्डारी श्रेष्ठ प्यानल र चेम्जोङ लामा प्यानलका हुन् । 


सचिवमा भरत तुम्बापो र भक्त लावती निर्विरोध निर्वाचित भएका छन् । सहसचिवमा लामा प्यानलका नरेन्द्र शेर्मा र श्रेष्ठ प्यानलका ज्योति प्रभा भण्डारी निर्वाचित भएका छन् । निर्वाचन क्षेत्र ‘ख’ मा ५०५ मध्ये ४९३ मत खसेको थियो । 


पाँचथरमा कांग्रेसको जिल्ला नेतृत्वका लागि सुरेन्द्रकुमार दाहाल र रुपनारायण जबेगु प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा निर्वाचित योङहाङलाई जबेगुको साथ थियो भने क्षेत्र ‘ख’ मा निर्वाचित श्रेष्ठलाई दाहालको साथ थियो । यसपल्टको पार्टी चुनावलाई कांग्रेस पाँचथरको सबैभन्दा कडा स्पर्धाको रूपमा हेरिएको छ ।