close

देशभर कांग्रेसको प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन

देशभर कांग्रेसको प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा पार्टीको अधिवेशन प्रारम्भ भएको छ । तोकिएको मितिमा सोमबार १२५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन प्रारम्भ भएको पार्टी कार्यालयले जनाएको छ ।

 

मुलुकका कूल १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये यसअघि १६ निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भइसकेको छ । बाँकी १४९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सोमबार अधिवेशन निर्धारण गरिएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

 

अधिवेशन प्रारम्भ भएका जिल्लामा मतदान भई परिणाम प्राप्त भएको, मनोनयन गरी मतदान तोकिएको, सर्वसम्मतिको प्रयास भइरहेकोलगायतका देशभरबाट जानकारी प्राप्त भइरहेको कांग्रेस केन्द्रीय कार्यालयका सूचना अधिकारी केशव रिजालले जानकारी दिए । सोमबार प्रारम्भ हुन नसकेका निर्वाचन क्षेत्रमा समितिको सहमतिमा मंगलबारदेखि अधिवेशन प्रारम्भ हुने उनले बताए ।

 

यस अधिवेशनबाट पार्टीको केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् । हालको विधानअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा २५ जनाका दरले महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । चौधौँ महाधिवेशनका लागि गत भदौ १८ गतेदेखि वडास्तरीय अधिवेशन प्रारम्भ गरेको कांग्रेसले त्यसयता अधिकांश जिल्लामा पालिकास्तरको अधिवेशन र यही मङ्सिर ३ गतेदेखि प्रदेशसभा क्षेत्रीय अधिवेशन प्रारम्भ गरिसकेको छ ।

 

कांग्रेसको पछिल्लो संशोधित अधिवेशन कार्यतालिकाअनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन÷एक क्षेत्रमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन मङ्सिर ६ गतेका लागि निर्धारण गरिएको थियो । यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन यही मङ्सिर १० गते हुँदैछ भने प्रदेश अधिवेशन मङ्सिर १६ र १७ गते गर्ने कार्यतालिका छ । कांग्रेसको १४औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुनेछ ।

 

एकमात्र निर्वाचन क्षेत्र भएका अधिकांश १६ उच्च पहाडी तथा हिमाली जिल्लामा भने कांग्रेसले जिल्ला अधिवेशन नै सम्पन्न गरिसकेको समितिले जनाएको छ । क्रियाशील सदस्यताको विवादका कारण ७७ जिल्लामध्ये सर्लाहीमा भने वडा अधिवेशन प्रारम्भ हुन बाँकी छ ।