close

जुम्ला कांग्रेस अधिवेशन : जिल्ला सभापतिमा शाहीद्वयको रोचक भिडन्त

जुम्ला कांग्रेस अधिवेशन : जिल्ला सभापतिमा शाहीद्वयको रोचक भिडन्त

Trulli
ADVERTISEMENT

जुम्ला– नेपाली कांग्रेस जुम्ला अधिवेशनमा जिल्ला सभापतिका लागि दीपबहादुर शाही र कर्णबहादुर शाहीबीचको स्पर्धा रोचक मोडमा पुगेको छ । दीपबहादुर वर्तमान जिल्ला सभापति हुन् ।


तत्कालीन कांग्रेस सभापति मानव सेजुवालको नेपाल एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएपछि उनले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका थिए ।
योसँगै उनले झन्डै दुई कार्यकाल जिल्ला सभापति चलाइसकेका छन् । उनी यो पटक कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलबाट सभापतिका एक्ला उम्मेदवार हुन् ।


प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा प्यानलबाट सभापतिको उम्मेदवारी घोषणा गरेका कर्णबहादुर शाही कांग्रेस जुम्लाका सचिव हुन् । उनले यसअघि नै सभापतिको उम्मेदवारी सार्वजनिक गरिसकेका थिए । सहमतिको अन्तिम प्रयास असफल भएपछि दुवै पक्षले उम्मेदवारी घोषणा गरिसकेका छन् । 


अहिले दुवै पक्ष प्रचारमा जुटेका छन् । पौडेल प्यानलबाट सभापतिमा दीपबहादुर शाही, उपसभापतिमा दीपक शाही र कार्मा बुढा, सचिवमा गोल्डेन कठायत र लक्ष्मण शाही, सहसचिवमा धनेन्द्र बोहरा र नन्दप्रसाद चौलागाईं उम्मेदवार हुन् । उपसभापति कार्मा बुढा जिल्ला समन्वय समितिका उपप्रमुख हुन् । बुढा यसअघिका कांग्रेस जिल्ला सचिव हुन् । पालिका अधिवेशनमा ८ मध्ये ६ पालिका र प्रदेशका २ वटै क्षेत्र एकलौटी जितेकाले पौडेल पक्ष निर्वाचन जित्ने अपेक्षामा छ तर, देउवा पक्ष पनि खटिएको छ ।  यस पटकको निर्वाचनमा जसरी भए पनि निर्वाचन आफ्नो पोल्टामा पार्ने दाउमा संस्थापन पक्ष छ ।


प्रदेशका २ निर्वाचन क्षेत्रमा गरी ६० मतले देउवा पक्ष पछाडि छ । देउवा प्यानलबाट सभापतिमा कर्णबहादुर शाही, उपसभापतिमा नन्दराम बुढा र मक्कबहादुर हमाल, सचिवमा घनश्याम थापा र दानबहादुर बुढा, सहसचिव नवराज देवकोटा र धनबहादुर रावतको उम्मेदवारी घोषणा भइसकेको छ ।

 

सचिवका उम्मेदवार दानबहादुर बुढा स्थानीय तहको निर्वाचनमा गुठीचौर गाउँपालिका अध्यक्षका प्रत्यासी हुन् । गुठीचौरमा कांग्रेसमा लहर ल्याउने नेतामा पर्छन्, उनी ।

 

देउवा पक्षले एक महिनाअघि नै पदाधिकारीको टुंगो लगाइसकेको थियो । ‘हाम्रो जित्ने अवस्था छ’, क्षेत्रीय सदस्य भक्त बुढाले भने, ‘पार्टी जोगाउनुपर्छ । पार्टीका मूल्य–मान्यता गाउँस्तरसम्म स्थापित गर्नुपर्छ । यसका लागि देउवा पक्षको पदाधिकारी समूह निकै सक्षम देखिएको छ । त्यसैले यो पटक जिल्ला नेतृत्वमा देउवा पक्षको जित सुनिश्चित छ ।’


उनले कर्णबहादुर शाही नेतृत्वको टिम पढेलेखेको बौद्धिक, राम्रो छवि भएको भएकाले सबै कार्यकर्ताले पत्याउने विश्वास व्यक्त गरे । ‘पालिका स्तरदेखि नै निर्वाचनमा होमिँदा कार्यकर्ता निकै निराश छन्’, उनले भने, ‘निराश बनेका कार्यकर्ताको आशाभरोसा भनेको यही टिम हो ।’

 

कांग्रेस जुम्लाले उम्मेदवारी दर्ता प्रक्रिया सुरु भइसकेको जनाएको छ । दुवै पक्षले आफू बलियो भएको प्रचारबाजी गरिरहेका छन् । जिल्ला समितिका पदाधिकारीसहित ५९ जना र केन्द्रीय महाधिवेशन प्रतिनिधि २५ पदमा मतदान हुने भएको हो । कुल १ हजार १८ मतदातामा झन्डै ९ सय ५० जनासम्मले मतदान गर्ने विश्वास गरिएको छ ।