close

एमाले महाधिवेशन : अध्यक्ष र वरिष्ठ उपाध्यक्षबाहेकका अन्य पदमा लुम्बिनीका ५० बढी नेताको दाबी 

एमाले महाधिवेशन : अध्यक्ष र वरिष्ठ उपाध्यक्षबाहेकका अन्य पदमा लुम्बिनीका ५० बढी नेताको दाबी 

Trulli
ADVERTISEMENT

रूपन्देही– नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि चितवनमा उद्घाटन हुँदै छ । महाधिवेशनका लागि २ हजार प्रतिनिधिसहित नेता, कार्यकर्ता चितवन पुगिसके । चितवनको नारायणी किनारमा एमालेले महाधिवेशन गर्न लागेको हो ।


विधान महाधिवेशन सम्पन्न गरेको एमालेले यो अधिवेशनबाट आगामी ५ वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । एमालेको दसौँ राष्ट्रिय महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वमा लुम्बिनी प्रदेशले बलियो उपस्थिति जनाउने देखिएको छ । नेताहरूको आकांक्षाले उपाध्यक्ष, महासचिव, सचिवसहितका पदमै लुम्बिनीले मौका पाउनेछ । लुम्बिनी एमालेको आधार इलाका मानिन्छ ।


अध्यक्ष र वरिष्ठ उपाध्यक्षबाहेकका पदमा लुम्बिनीका नेताको दाबी छ । शक्तिशाली पद महासचिवमा हालका उप–महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य शंकर पोखरेलको दाबी छ । माओवादीबाट एमाले रोजेका टोपबहादुर रायमाझी उपाध्यक्ष वा महासचिव पद पाउनुपर्ने अडानमा छन् ।


माधव नेपाललाई छाडेर एमालेमै बसेका उपाध्यक्ष युवराज ज्ञवाली, उप–महासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्टको पदाधिकारीमा दोहोरिने आकांक्षा छ । सचिव प्रदीप ज्ञवाली तथा छविलाल विश्वकर्मा, मणि थापा, राधा ज्ञवालीलगायतले पनि पदाधिकारीमा दाबी गरेका छन् । केन्द्रीय सदस्यसहितका पदमा दलबहादुर राना, केन्द्रीय सदस्य खिमलाल भट्टराई, सूर्य थापा, बैजनाथ चौधरी, नजिर मियाँ, लीला गिरी मैदानमा छन् ।


पूर्वमाओवादीका नेता दधिराम शर्मा न्यौपाने, चन्द्रबहादुर खड्का, दिनेश पन्थीलगायतका नेताले उम्मेदवारी घोषणा गरेका छन् । युवराज ज्ञवाली उपाध्यक्षमा नै दोहोरिने आकांक्षामा छन् । उप–महासचिव घनश्याम भुसाल पनि उपाध्यक्षमा उम्मेद्वारी दिने तयारीमा रहेको बताइएको छ । सचिवद्वय प्रदीप ज्ञवाली र गोकर्ण विष्ट पनि सम्मानजनक पदको खोजीमा छन् ।


समावेशीका हिसाबले स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले पदाधिकारीको दाबी गरेका छन् । त्यस्तै, राधा ज्ञवालीले सचिवमा दाबी गरेकी छन् । लुम्बिनी एमालेको गढसमेत भएकाले नेताहरूले महत्त्वपूर्ण पदाधिकारीसहित केन्द्रीय कमिटीमा उपस्थिति दाबी गर्नु स्वाभाविक भएको एमाले नेता तथा लुम्बिनीका प्रचारप्रसार विभाग संयोजक झपेन्द्र जिसी बताउँछन् ।


जिसीले लुम्बिनीका धेरै नेताहरू काबिल रहेकाले जुन पदमा पुगे पनि नेतृत्व हाँक्न सक्ने दाबी गरे । लुम्बिनीमा केन्द्रीय कमिटीमा जान धेरै आकांक्षी देखिएका छन् । पुरानै अनुहारको व्यवस्थापन जटिल भइरहेका बेला लुम्बिनीमा नयाँ आकांक्षीसमेत थपिएपछि व्यवस्था जटिल बन्ने देखिएको छ ।


रूपन्देहीबाट बुटवल उप–महानगरका पूर्वनगरप्रमुख तथा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ, एमाले रूपन्देही अध्यक्ष तथा बुटवल उप–महानगर प्रमुख शिवराज सुवेदी, प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल, प्रदेश सांसद तुलसी चौधरी, नेताद्वय बलबहादुर आचार्य, सावित्रा अर्याल, बुटवल उपप्रमुख गोमा आचार्य, तिलोत्तमा नगरपालिका प्रमुख वासु घिमिरे केन्द्रीय सदस्यका नयाँ आकांक्षी हुन् ।


रूपन्देही उप–महासचिवद्वय विष्णु पौडेल, घनश्याम भुसालको गृहजिल्ला पनि हो । यहाँका नेतामाथि केन्द्रीय कमिटीमा को–कोलाई ल्याउने भन्ने विषयमा दबाब सुरु भएको छ । नेताहरूको व्यवस्थापन नगरे थप जटिल हुने भएकाले दबाब परेको एक केन्द्रीय सदस्यले बताए ।


दाङबाट पनि आकांक्षी धेरै छन् । एमाले नेतृ गंगा चौधरी, जिल्ला अध्यक्ष टीकाराम खड्का, तुलसीपुर उप–महानगर प्रमुख घनश्याम पाण्डे, प्रदेश सांसद सरस्वती गौतम, रेवतीरमण शर्मा घिमिरे, घोराही उप–महानगर प्रमुख नरुलाल चौधरी, लमही नगर प्रमुख कुलबहादुर खत्रीले केन्द्रीय सदस्यका लागि आकांक्षा व्यक्त गरेका छन् ।


कपिलवस्तुबाट बलराम अधिकारी, विश्रामप्रसाद थारु, शान्तिदेवी चमार, प्रदेशसभा सदस्य विष्णु पन्थी केन्द्रीय सदस्यका आकांक्षी हुन् । लुम्बिनीमा वडा, पालिका अधिवेशनबाट अधिकांश प्रतिनिधि सर्वसम्मत छनोट भएका छन् । लुम्बिनीका मात्रै पदाधिकारीसहित केन्द्रीय कमिटीमा कम्तीमा ५० जनाको दाबी देखिएको छ । पश्चिम नवलपरासीबाट जिल्ला अध्यक्ष तुलसी पासी, केन्द्रीय स्कुल विभागका सदस्य बद्रीनाथ खनाल, अनेमसंघका केन्द्रीय सचिवालय सदस्य विमला अर्याललगायत नेताहरू केन्द्रीय कमिटीको लबिइङमा छन् ।


गुल्मीका माओवादीबाट प्रदेशसभा सदस्य निर्वाचित भएर एमाले प्रवेश गरेका दिनेश पन्थी केन्द्रीय कमिटीमा जान इच्छुक छन् । प्यूठानका प्रदेश सांसद हरि रिजाल, बाँकेका कविराम थारु, रुकुम पूर्वबाट आशा स्वर्णकारलगायतका नेताले केन्द्रीय सदस्यका आकांक्षीका रूपमा नेताहरूलाई दबाब दिएका छन् । एमाले महाधिवेशनले २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । १५ सदस्यीय पदाधिकारीमा लुम्बिनी प्रदेशका धेरै नेताले दाबी गरेका छन् ।