close

अंकगणितमा बहुमत एमाले : ६ वटै प्रदेशमा गुम्यो सरकार

अंकगणितमा बहुमत एमाले : ६ वटै प्रदेशमा गुम्यो सरकार

Trulli
ADVERTISEMENT

काठमाडौं– संघीय, प्रदेश र बहुमत पालिकामा वर्चस्व कायम गरेको प्रतिपक्षी एमाले यतिबेला ७ वटै प्रदेशसहित केन्द्रमा समेत निम्छरो देखिएको छ । सरकार सञ्चालनका लागि बहुमत भए पनि पार्टीभित्रको घरझगडाका कारण एमाले प्रतिपक्षमा खुम्चिन बाध्य भएको हो । पार्टी अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपालबीचको कुर्सी लडाइँले अन्ततः एमालेलाई सत्ताबाट किनारा लाग्नुपरेको छ । 


केन्द्रको झगडाले प्रदेशमा प्रवेश पाएपछि र एमालेबाट चोइटिएर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका नेता नेपालको भरथेगमा प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी प्रदेशमा सरकार फेरिइसकेको छ भने सुदूरपश्चिममा समेत यस्तै संकेत देखिँदै छ । पछिल्लो समय एमाले नेतृत्वको प्रदेश १ सरकार ढालिएको छ । कारण उही, पार्टी झगडा । एमाले फुटेपछि नेकपा एकीकृत समाजवादीतिर लागेकाहरूले प्रदेश १ मा राजेन्द्र राईलाई मुख्यमन्त्रीको रूपमा अगाडि सारेका छन् ।


२ भदौको अकल्पनी पार्टी विभाजनसँगै प्रदेश १ मा अंकगणितीय हिसाबमा एमाले सरकार अल्पमतमा परिसकेको थियो । झगडालाई थामथुम पार्न कुनै बेला नेता नेपाल नजिक मानिने एमाले नेता भीम आचार्यलाई मुख्यमन्त्री बनाइएको थियो, शेरधन राईलाई हटाएर । तर, आचार्य पनि डेढ महिना बढी टिक्न सकेनन् । नेता नेपालकै पार्टीले आचार्यलाई प्रतिपक्षमा बस्न बाध्य बनाइदिएको छ । 


आचार्यले बहुमत नपाउने अवस्थाका कारण राजीनामा दिएसँगै बहुमत सांसदको हस्ताक्षरसहित नेकपा एकीकृत समाजवादीका सचिव राजेन्द्र राईले मुख्यमन्त्री घोषणा गरिएको छ । राईलाई केन्द्रमा गठन भएको कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी गठबन्धन समर्थित पार्टीका ४९ सांसदले ‘ओके’ भनिसकेको अवस्था छ । ९२ सदस्यीय प्रदेश १ को प्रदेशसभामा यो संख्या बहुमत भएकाले राई मुख्यमन्त्री बन्ने पक्का छ ।


प्रदेशमा बहुमत हुँदाहुँदै पनि घरझगडाका कारण एमालेले भने तीन दिनको फरकमा प्रदेश १ र बागमती प्रदेश सरकार गुमाएको छ । १२ कात्तिकमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राजीनामा दिइएकी थिइन् । कारण उही थियो, शाक्यले पनि प्रदेशसभाको विश्वासको मत पाइनन् । शाक्यको राजीनामापछि नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे मुख्यमन्त्री भए भने तिनलाई सत्तारुढ गठबन्धनका ५९ सांसदले समर्थन गरे ।


कुनै बेला बहुमतसहितको सरकार बनाएको एमालेलाई अब संघसहित ७ वटै प्रदेशमा विपक्षी बन्न बाध्य पारिएको छ, अंकगणितका हिसाबमा । २०७४ को निर्वाचनबाट संघसहित प्रदेश २ बाहेक ६ वटै प्रदेशसभामा एमाले पहिलो बनेको थियो । अहिले एमालेलाई सत्ताबाट हटाउने रणनीतिमा लागेको उबेलाको प्रतिपक्षी कांग्रेस हाल सत्तारुढ हुन पुगेको छ, सर्वोच्च अदालतको परामादेशबाट । 


कांग्रेस नेता चन्द्र भण्डारी एमालेले पार्टीलाई सम्हाल्न नसक्दा सत्ताविमुख हुनुपरेको दाबी गर्छन् । ‘पार्टीभित्रको रडाको साम्य पार्न नसक्दा बहुमतको एमाले अल्पमत हुँदै अहिले सत्ताबाटै लखेटिएको हो । यसमा अरू पार्टीलाई दोष दिने ठाउँ छैन’, नेता भण्डारी भन्छन् ।


अंकगणितका हिसाबमा एमाले यतिबेला पनि संघीय संसद्सहित लुम्बिनी, बागमती, गण्डकी र कर्णाली मा पहिलो दल छ । तर, कुनै पनि प्रदेशमा एमाले सरकार रहेन । एमाले नेता गोकर्ण विष्ट भन्छन्, ‘राजनीतिमा अंकगणितको खेलले काम गर्ने हुँदा सरकारबाट हटाइएको हो । राजनीतिले इमान देख्दैन, अंक जुटाउनुपर्दा पार्टीमा चिरा प¥यो । अदालतले पनि न्याय दिएन । अर्को चुनावमा एमाले लोकप्रिय भएको देखाउनेछौँ ।’ 


एमालेले लगालग प्रदेश सरकार गुमाएपछि ‘आफ्नै’ ले धोका दिएको रूपमा लिएको छ । कुनै बेला एमाले राजनीति गरेका नेताले पछिल्लो समय पार्टी अध्यक्ष ओलीलाई देखाइदिने तुष्टिले पनि यसमा काम गरेको पार्टी नेताहरूको दाबी छ । नेपाल कम्युनिस्ट पार्टीलाई सर्वोच्चले एमाले र माओवादी बनाइदिएपछि सत्ताको खेल सुरु भएको नेता विष्टको दाबी छ । 


लुम्बिनीमा शंकर पोखरेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, बागमतीमा अष्टलक्ष्मी शाक्य र प्रदेश १ मा भीम आचार्य अंकगणितकै कारण सत्ताबाट विमुख भएका छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्र एवं प्रदेश २ मा जसपा नेतृत्वमा गठबन्धन सरकार छ । प्रदेश २ मा एमाले विपक्षी भए पनि कर्णालीमा कांग्रेसले मुख्यमन्त्री पाउँदै छ भने सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्रीको दाबी गरिरहेको छ । 


बहुमतसहित सरकार सञ्चालनको तालाचाबी पाएको एमालेले घरझगडाको परिणाम पार्टी अध्यक्ष ओलीले दुई–दुई पटक प्रतिनिधिसभा विघटन गरे । बहुमतको सरकारले विघटन गरेको संसद्लाई सर्वोच्च अदालतले अंकुश लगाइदियो । एमाले एकबाट दुई भयो । 


एमालेभित्र ओली र नेपाल समूहको लाभ लिँदै कांग्रेस–माओवादी–जसपा उपेन्द्र यादव समूहले ओलीलाई सत्ताबाट बाहिर पुर्‍याए । प्रदेशमा निम्छरो अंकगणित र संघमा समेत कमजोर अवस्थाको कांग्रेसलाई सत्ताको लाभ मिलेको छ । एमाले विभाजन भएसँगै संघदेखि प्रदेश सरकारहरू हेरफेर अस्थिरताको संकेत देखिँदै छ ।