close

‘अर्ली इलेक्सन’ हुँदैन, चुनावमा कांग्रेस एक्लै लड्छ : नेता गगन थापा

‘अर्ली इलेक्सन’ हुँदैन, चुनावमा कांग्रेस एक्लै लड्छ : नेता गगन थापा

Trulli
ADVERTISEMENT

भक्तपुर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेकपा (एमाले) ले चाहेको जस्तो अर्ली इलेक्सन अहिले असम्भव भएको बताएका छन् । नेपाली कांग्रेस गुण्डुले बुधबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले वैशाखमा स्थानीय तहको निर्वाचनबाहेक अरू कुनै निर्वाचन समयअगाडि नहुने बताए । नेता थापाले राष्ट्रियसभाको रिक्त हुने सदस्य पदमा चुनाव हुँदैछ भने प्रतिनिधिसभा र प्रदेशसभाका रिक्त पदमा पनि उपनिर्वाचनको लागि सरकारले तयारी गरेको जानकारी दिए ।

 

‘कांग्रेस पहिला पनि एक्लै चुनाव लडेर ठूलो पार्टी भएको हो र अहिले पनि एक्लै चुनाव लडेर ठूलो पार्टी बन्छ’, उनले भने, ‘आगामी निर्वाचनमा कांग्रेस एक्लै लडेर पनि एमालेलाई केन्द्र, प्रदेश र स्थानीय तहबाट हराउँछ ।’ 


    
नेता थापाले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर सरकारले गरेका राम्रा र नराम्रा कामबारे जानकारी लिएको बताउँदै नराम्रा काम नगर्न सरकारलाई आग्रह गरेको जानकारी दिए । 

 

कार्यक्रममा वाग्मती प्रदेशका भौतिक पूर्वाधारमन्त्री कृष्णलाल भँडेलले प्रदेश सरकारले जिम्मेवारीपूर्वक काम गर्ने बताए । नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले राजनीति गरेर धन कमाउनेहरुको स्रोत खोज्नुपर्ने बताउँदै मुलुकमा सुशासनको अनुभूति दिलाउनेतर्फ सरकार अग्रसर रहेको उल्लेख गरे । 

 

कार्यक्रममा सूर्यविनायक नगर कांग्रेस सभापति निशान ढुङ्गेल, गुण्डु गाविसका पूर्वअध्यक्ष भेषबहादुर कार्की, कार्यक्रमका सभापति एवं कांग्रेस वडा नं ७ का अध्यक्ष जगदीश बस्नेतले आगामी निर्वाचनमा कांग्रेसले भक्तपुरको सबै ठाउँमा विजयी हुने दाबी गरे ।