close

विश्वासको मत लिँदै बागमती प्रदेशका मुख्यमन्त्री पाण्डे

विश्वासको मत लिँदै बागमती प्रदेशका मुख्यमन्त्री पाण्डे

Trulli
ADVERTISEMENT

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सोमबार विश्वासको मत लिँदै छन् । दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने प्रस्ताव पेस गर्नेछन् ।

 

प्रस्ताव पेस भएपछि मतदान पनि आजै हुने नेकपा एकीकृत समाजवादीका प्रदेश सांसद लक्ष्मण लम्सालले बताए । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाका सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । 

 

यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिन लागेका हुन् । 

 

यसअघि बहुमत प्राप्त दलको हैसियतमा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि पाण्डे ११ कात्तिकमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

 

एमाले विभाजित भएसँगै अल्पमतमा परेकी शाक्यले १० कात्तिकमा विश्वासको मतको प्रस्तावका लागि हुने मतदानमा प्रक्रियामा सहभागी नभई राजीनामा दिएकी थिइन् । 

 

सत्तारुढ गठबन्धनमा आबद्ध कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपालको सहमतिमा नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

 

हाल १०९ प्रदेशसभा सदस्य रहेको प्रदेशसभामा बहुमतका लागि ५५ सदस्य आवश्यक हुन्छ । गठबन्धनबाट मुख्यमन्त्री बनेका पाण्डेको पक्षमा ५९ जनाको हस्ताक्षर थियो ।

 

प्रदेशसभामा एमालेको ४३ जना, माओवादी केन्द्रको २३, कांग्रेसको २२, एकीकृत समाजवादीको १३, विवेकशील साझा पार्टीको ३, नेमकिपा र राप्रपाको २–२ र जसपाका एक प्रदेशसभा सदस्य छन् ।