close

पाँच दलीय समन्वय समिति गठन गर्ने सत्ता गठबन्धनको निर्णय

पाँच दलीय समन्वय समिति गठन गर्ने सत्ता गठबन्धनको निर्णय

Trulli
ADVERTISEMENT

काठमाडौं– सत्ता गठबन्धनमा सहभागी राजनीतिक दलहरूले सरकार सञ्चालनमा सहयोग पुर्‍याउन पाँच दलीय समन्वय समिति गठन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको बैठकले ११ सदस्यीय समन्वय समिति गठन गर्ने निर्णय गरेको नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।


 
समितिमा ११ सदस्य रहनेछन् । सत्ता गठबन्धनमा रहेका दलबाट दुई–दुई जना र सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सदस्य रहने निर्णय भएको उनले जानकारी दिए । नेता श्रेष्ठका अनुसार हरेक पार्टीले दुई–दुई महिना समितिको नेतृत्व गर्नेछन् । पहिलो संयोजन नेपाली कांग्रेसले गर्नेछ । कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेलले संयोजन गर्ने उनले जानकारी दिए । हरेक बैठकमा प्रधानमन्त्री सहभागी हुने उनको भनाइ छ । समिति गठनको उद्देश्यबारे प्रस्ट पार्दै उनले भने, ‘गठबन्धनलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्ने, सरकार सञ्चालनमा सहयोग पुर्‍याउने तर सरकार सञ्चालन गर्ने संयन्त्र होइन, दलहरूको समन्वय समिति मात्र हो ।’


 
राष्ट्रियताको रक्षा, संविधान र लोकतन्त्रको रक्ष, संस्थागत सुदृढीकरण, सुरक्षा, सुशासन, सेवा र विकास एवं निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने लक्ष्यका साथ समिति गठन गरिएको उनले बताए । गठबन्धन बैठकमा आसन्न राष्ट्रियसभा बैठकमा मिलेर जाने सहमति भएको नेता श्रेष्ठले बताए । न्यायालयमा देखिएको गतिरोध र विभिन्न देशमा रिक्त राजदूत नियुक्तिका विषयमा कुनै छलफल नभएको उनले जानकारी दिए ।