close

घरगाउँका बाबुसाहेबले गणतन्त्र र लोकतन्त्रको खिल्ली उडाए : डा. राउत 

घरगाउँका बाबुसाहेबले गणतन्त्र र लोकतन्त्रको खिल्ली उडाए : डा. राउत 

Trulli
ADVERTISEMENT

सप्तरी– जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले देशमा विभिन्न राजनीतिक व्यवस्था परिवर्तन भए पनि नागरिकको जीवनस्तर उँभो नलाग्नुमा समाजमा पछिल्लो समय जन्मिएका बाबुसाहेब कारण रहेको बताएका छन् । सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नम्बर ७ मानराजामा शुक्रबार आयोजना गरिएको जनमत पार्टीको आमसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

 

‘राजा, राणा, पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र आए पनि समाजमा अझै बाबुसाहेबहरूको राज्य कायमै छ । छोटे राजाहरूको उन्मूलन गर्ने नै जनमत पार्टीको प्रमुख लक्ष्य हो । जनमतअनुसार चल्ने पार्टी हामी मात्र हौँ,’ डा. राउतले भने । साइकलसमेत चढ्न नसक्नेहरूले नेता बनेपछि अहिले महँगा गाडी र विभिन्न ठाउँमा घर बनाएको उनको दाबी छ । तर, जनता चप्पलबिनै हिँड्न बाध्य रहेको उनले बताए ।


बहुरुपी नेताहरूले पटक–पार्टीको नाम बदलेर समाजमा हैकम जमाउँदै सीधासाधा नागरिकमाथि शासन गरिरहेको उनले आरोप लगाए । ‘चुनावमा नेताहरूको प्रलोभनमा परेर मत बेचिँदै आए पनि बालबालिकाको भविष्य नबेच्न उनले सबै नागरिकलाई आग्रह गरे  । कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष बबिता इसर, उपमहासचिव ई. इन्द्रजीत यादवलगायतले समाज र नागरिकको विकास गर्ने हो भने भ्रष्टाचारलाई जरैदेखि उन्मूलन गर्नुपर्नेमा जोड दिए ।

 

बोदे बर्साइन नगर कमिटीका कार्यवाहक अध्यक्ष सुकदेव साहको अध्यक्षतामा भएको कार्यक्रममा डा. राउतले मधेसमा बेरोजगारीले विकराल रूप लिएको, सर्वसाधारणका छोराछोरी अरबलगायत अन्य मुलुक जान बाध्य हुनुपरे पनि बेरोजगारी समस्या समाधान गर्न कुनै राजनीति दलमा भिजन नभएको दाबी गरे ।