close

न्यायालयको समस्या छिट्टै समाधान हुनेमा सरकार विश्वस्त छ : मन्त्री बडू

न्यायालयको समस्या छिट्टै समाधान हुनेमा सरकार विश्वस्त छ : मन्त्री बडू

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक– कानून, न्याय तथा सङ्घीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले न्यायालयमा देखिएको हालको समस्या छिट्टै समाधान हुनेमा सरकार विश्वस्त रहेको बताएका छन् । 

 

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ वडा कार्यालय भवन तथा सामुदायिक स्वास्थ्य इकाइ भवनको शनिबार उद्घाटन गर्दै उनले न्यायालयको विवाद ‘स्वयं स्वतन्त्र ढङ्गले’ समाधान हुनेमा सरकार विश्वस्त रहेको बताए । ‘हालको न्यायपालिकाभित्रको समस्या समाधान स्वयं स्वतन्त्र ढङ्गले उहाँहरुले आफैँले समाधान गर्नेमा सरकार विश्वस्त छ । सरकारको चाहना पनि त्यही हो’, मन्त्री बडूले भने । न्यायलयभित्र कतिपय सुधारका विषय रहेकाले बार र बेञ्चबीचको आपसी विवाद टुङ्गिएर सद्भावतर्फ अघि बढ्नुपर्ने उनको भनाइ थियो । 

 

‘जनताले न्याय पाउने बाटो धेरै दिन अवरुद्ध हुनुहुँदैन, सरकारको आग्रह र अपेक्षा छ, लामो समय यो विवाद नबल्झियोस्’, मन्त्री बडूले भने । न्यायसम्पादनमा समस्या देखिँदै आएकाले यस क्षेत्रमा सङ्घीयता लागू भइनसकेको प्रभाव देखिएको उनले उल्लेख गरे ।  ‘न्याय क्षेत्रमा सङ्घीयता लागू भए सर्वोच्चमा आएर मुद्दा थन्किने, चाप बढ्ने र न्याय ढिला हुने अवस्था आउने छैन, अब उच्च अदालत र जिल्ला अदातलमा मुद्दालाई विकेन्द्रीकरणतर्फ लाग्नुपर्छ’, उनले भने । 

 

न्याय क्षेत्रमा सङ्घीयता लागू गर्दा पुस्तौनी न्याय खोज्नेलाई राहत मिल्ने उल्लेख गर्दै मन्त्री बडूले वर्तमान संविधानअनुसार जनतालाई छिटोछरितो र सर्वसुलभ न्याय प्रदान गर्नुपर्ने आवश्यकता औँल्याए । उनले भने, ‘अब मुद्दा दायर भएपछि कति समयमा छिनोफानो हुने भन्ने बनाउनुपर्छ ।’ 

 

फरक प्रसङ्गमा मन्त्री बडूले बृहत् शान्तिसम्झौता पूर्ण नभएकाले सरकारले यस विषयलाई पहिलो दायित्वअन्तर्गत प्राथमिकतामा राखेको बताए । ‘सत्यनिरुपण तथा मेलमिलाप आयोगलाई पूर्णता दिनुपर्छ, अब यो समय थपेर जाने विषय हैन, मुलुकमा पीडित र पीडकबीच मेलमिलापको वातावरण बनाउनुपर्छ’, उनले भने । समाजमा मेलमिलापको आवश्यकता खड्किएको उल्लेख गर्दै मन्त्री बडूले आन्दोलनका दौरान कसले पीडा दियो, को पीडित बन्यो छानविन भई परिपुरणसहित मेलमिलाप हुुनुपर्ने धारणा राखे ।  

 

‘राज्य पक्षबाट वा आन्दोलनरत पक्षबाट जसबाट पीडित भएपनि पीडा पाउने आँखिर नेपाली नागरिक नै थिए’, उनले भने ।  बेपत्ता भएका परिवारको पीडा दर्दनाक भएको उनको भनाइ थियो । उहाँले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसद्प्रति इमान्दार नभएको आरोप लगाए । ‘एमाले इमान्दार र सहयोगी नबन्दा अबका कानून फेरि विधेयकमार्फत ल्याउनुपर्ने बाध्यता आउने स्थिति छ’, मन्त्री बडूले भने । सो अवसरमा मन्त्री बडूले भवन निर्माणका लागि सहयोग गर्ने जग्गादाता तथा अन्य सहयोगीलाई सम्मान गरेका थिए । 

 

कार्यक्रममा पूर्वराज्यमन्त्री कञ्चनचन्द्र वादे, नेपाली काँग्रेसका जिल्ला सभापति मधुप्रसाद आचार्य, बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद तिमल्सिना, काँग्रेस नेताद्वय इन्द्रमणि अधिकारी र भगवान् अधिकारी, नेकपा (एमाले) का नेता वेदप्रसाद तिमल्सिना, नेकपा (माओवादी केन्द्र) का नेता बोधनाथ तिमल्सिनालगायतले विकासमा अस्वस्थ प्रतिस्पर्धा नगर्न आग्रह गरेका थिए ।  सो अवसरमा वडाध्यक्ष दिलबहादुर श्रेष्ठले वडा कार्यालय भवन  ७८ लाख र स्वास्थ्य भवन  ३८ लाखको लागतमा निर्माण भएको जानकारी दिए ।