close

एमाले केन्द्रीय सदस्यमा उषाकलाको उम्मेदवारी घोषणा

एमाले केन्द्रीय सदस्यमा उषाकलाको उम्मेदवारी घोषणा

Trulli
ADVERTISEMENT

खोटाङ– नेपाल कम्युनिस्ट पार्टी एमालेको प्रदेश १ कमिटी सदस्य तथा पूर्वसामाजिक विकासमन्त्री उषाकला राईले पार्टीको दसौँ महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यका लागि उम्मेदवारी घोषणा गरेकी छन् ।


एमालेको दसौँ राष्ट्रिय महाधिवेशनको सन्दर्भ पारेर प्रेस चौतारी खोटाङले पार्टी कार्यालय दिक्तेलमा मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा राईले जिल्लाको नेतृत्व गर्दै केन्द्रीय कमिटी सदस्यका लागि उम्मेदवारी दिने घोषणा गरेकी हुन् । ‘एमालेको केन्द्रीय समितिमा बसेर पार्टीको काम गर्न सक्ने क्षमता भएकाले उम्मेदवारी घोषणा गरेको हुँ । यसका लागि सबैको सहयोग अपेक्षा राखेकी छु’, राईले भनिन् ।

 


दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ४ खाल्लेकी राईले प्रदेश मन्त्री हुँदा कोदोको लोकल रक्सीलाई ब्रान्ड बनाइनुपर्ने आवाज उठाएपछि चर्चामा आएकी थिइन् । खोटाङबाट पहिलो महिला मन्त्री बनेकी पूर्वमन्त्री राई २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा एमालेको समानुपातिक कोटाबाट संविधानसभा सदस्य बनेकी थिइन् ।


२०४६ देखि अनेरास्ववियु पाँचौँबाट राजनीतिक यात्रा सुरु गरेकी राई हाल पार्टीको प्रदेश १ समिति सदस्य तथा प्रदेशसभा सदस्य छन् । राई अखिल नेपाल महिला संघको केन्द्रीय सचिवालय सदस्य हुन् ।