close

कांग्रेस महाधिवेशन : रूपन्देही २ मा पौडेल र देउवा समूहका आ–आफ्नै प्यानल

कांग्रेस महाधिवेशन : रूपन्देही २ मा पौडेल र देउवा समूहका आ–आफ्नै प्यानल

Trulli
ADVERTISEMENT

रूपन्देही–नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत रूपन्देहीमा रामचन्द्र पौडेल र संस्थापन पार्टी सभापति शेरबहादुर देउवा समूहले क्षेत्रीय समिति र त्यसअन्तर्गत प्रदेशसभा क्षेत्रीय समितिको अधिवेशनका लागि रूपन्देहीको क्षेत्र २ मा उम्मेदवारी घोषणा गरेको छ ।


दुवै समूहले बुटवलमा कार्यक्रम आयोजना गरी उम्मेदवारी घोषणा गरेको हो । वरिष्ठ नेता पौडेल समूहले रूपन्देहीको क्षेत्र २ मा उम्मेदवारी घोषणा गरेको छ । समूहबाट क्षेत्र २ को क्षेत्रीय सभापतिमा हरि लम्सालले उम्मेदवारी घोषणा गरेका छन् ।


त्यस्तै, क्षेत्र २ अन्तर्गत प्रदेशसभा क्षेत्रीय समिति ‘क’ को सभापतिमा खड्गबहादुर महत र ‘ख’ को सभापतिमा पर्शुराम ढकालले उम्मेदवारी घोषणा गरेका छन् ।
कांग्रेस विधानअनुसार प्रदेशसभा क्षेत्रीय समितिका सभापति स्वतः प्रतिनिधिसभा क्षेत्रीय समितिको उपसभापति हुने व्यवस्था छ । 


रूपन्देही क्षेत्र २ को दुई सचिवमा विमलराज भट्टराई र कुलबहादुर केसी तथा सहसचिवमा राजबहादुर क्षेत्री र मिलन थापालाई अगाडि सारिएको छ । रूपन्देही क्षेत्र २ ‘क’ को उपसभापतिमा कृष्णप्रसाद ज्ञवाली र गणेश पाठक, सचिवमा बालकृष्ण अर्याल र राममाया पौडेल तथा सहसचिवमा सनत गौतम र विष्णुमाया चिदीलाई अगाडि सारिएको छ ।


रूपन्देही क्षेत्र २ ‘ख’ को उपसभापतिमा रवीन्द्रमान श्रेष्ठ र चिन्तामणि भुसाल, सचिवमा कमला न्यौपाने र कृष्णबहादुर केसी तथा सहसचिवमा शिव आचार्य र दीपक घिमिरेलाई अगाडि सारिएको छ । उम्मेदवारी घोषणा गर्दै समूहका संयोजक महासमिति सदस्य रामबहादुर कार्कीले सर्वसम्मत नेतृत्व चयनका लागि सहमतिको प्रयास गरिए पनि अर्को पक्षले बेवास्ता गरेर उम्मेदवारी घोषणा गरेकाले आफूहरूले पनि टिम बनाएर चुनावमा जानुपरेको बताए ।


क्षेत्रीय सभापतिका उम्मेदवार लम्सालले पार्टीको नेतृत्व परिवर्तन प्रमुख एजेन्डा रहेकाले सिंगो टिम आउने गरी चुनावमा होमिन सबैलाई आग्रह गरे । उनले रूपन्देही क्षेत्र २ मा अर्को समूहलाई क्लिन स्विप गर्ने दाबी गरे ।


महाधिवेशन प्रतिनिधि दीर्घबहादुर केसी, गोविन्द लम्साल, बुटवल नगर समिति सभापति खेलराज पाण्डे, परमानन्द भट्टराई, प्रदेशसभा क्षेत्रीय समितिका उम्मेदवारद्वय खड्गबहादुर महत र परशुराम ढकालले पार्टीलाई सदृढ र गतिशील बनाउन प्यानल घोषणा गरिएकाले आफ्नो समूहलाई भोट दिन आग्रह गरे ।


कांग्रेस संस्थापन पक्षले रूपन्देही प्रतिनिधिसभा क्षेत्र २ र प्रदेशसभा निर्वाचन क्षेत्रको नेतृत्वका लागि आफ्नो समूहका उम्मेदवारी घोषणा गरेको छ । संस्थापन पक्षले रूपन्देही जिल्ला प्रतिनिधिसभा क्षेत्र २ क्षेत्रीय सभापतिमा काजीमान श्रेष्ठ, क्षेत्रीय सचिवमा प्रजापाल गिरी र रामबहादुर थापा क्षेत्री तथा सहसचिवमा आनन्दभगत श्रेष्ठ र सीता क्षेत्रीलाई अगाडि सारेको छ । 


त्यस्तै, रूपन्देही क्षेत्र २ ‘क’ को सभापतिमा माधवलाल देवकोटा, उपसभापतिमा राजु गुरुङ र सीता गौतम खनाल, सचिवमा देवप्रसाद खनाल र असीम थापा तथा सहसचिवमा भेषराज पोखरेल र धनकुमारी खनाललाई उम्मेदवार बनाइएको छ । 


रूपन्देही क्षेत्र २ ‘ख’ को सभापतिमा रामेश्वर श्रेष्ठ, उपसभापतिमा प्रेमबहादुर बानिया र सर्वजीत केसी, सचिवमा मीना जिसी र नारायण अधिकारी तथा सहसचिवमा नारायण खनाल र काशीराम शर्मा पौडेल उम्मेदवार बनेका छन् ।


कांग्रेस महासमिति सदस्य तथा रूपन्देही क्षेत्र २ का प्रतिनिधिसभा सदस्यका प्रत्यासी युवराज गिरीको सभापतित्वमा सम्पन्न उम्मेदवार घोषणा कार्यक्रममाा उपसभापति फणीन्द्र शर्मा, जिल्ला सचिव रामकृष्ण खाँणलगायतले पार्टीलाई एकढिक्का बनाएर अगाडि बढ्न सुझाव दिए ।