close

कांग्रेस महाधिवेशन : पदाधिकारी र केन्द्रीय सदस्यमा धमाधम उम्मेदवारी 

कांग्रेस महाधिवेशन : पदाधिकारी र केन्द्रीय सदस्यमा धमाधम उम्मेदवारी 

Trulli
ADVERTISEMENT

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसको १४औँ महाधिवेशन २४ देखि २६ मंसिरसम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदै छ । कांग्रेसमा वडा, पालिका, क्षेत्र, जिल्ला, प्रदेश अधिवेशन सकिएको छ । प्रदेश २ मा भने अधिवेशन महाधिवेशनलगत्तै गर्ने गरी स्थगित भएको छ ।


महाधिवेशन उद्घाटन हुन ३ दिन बाँकी हुँदा पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी दिने क्रम बढेको छ । कांग्रेसमा अधिकांशले आफ्नै जिल्लाबाट र केहीले काठमाडौंमा उम्मेदवारी घोषणा गरेका छन् ।


कांग्रेसमा केन्द्रीय सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यका आकांक्षी धेरै छन् । उमेर हदका कारण पनि पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नेको संख्या बढेको कांग्रेस युवा नेताको बुझाइ छ ।


सभापतिमा ६ जना बढी आकांक्षी देखिएका छन् । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा.शेखर कोइराला, कल्याण गुरुङले आगामी सभापतिका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् ।


सोमबार मात्रै प्रधानमन्त्री देउवाले एक पटक सभापतिमा उठ्ने घोषणा गरेका छन् । त्यसका लागि सबैको साथ चाहेको बताइसकेका छन् । वरिष्ठ नेता पौडेलले आकांक्षा देखाए पनि प्रकाशमान र शेखरका कारण उनी मैदानमा उत्रिने÷नउत्रिने अझै निश्चित भइसकेको छैन । निधिले सभापतिमा उठ्ने भनेर सम्पर्क कार्यालय खोलिसकेका छन् । गणेशमान पुत्र सिंहले मंगलबार सम्पर्क कार्यालय खोलेका छन् । गुरुङले पत्रकार सम्मेलन गरेरै सभापतिमा उठ्ने घोषणा गरे ।


उपसभापतिमा अहिलेसम्म चन्द्र भण्डारीले मात्र उम्मेदवारीको घोषणा गरेका छन् । गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । एनपी साउदले पनि महामन्त्रीमा उम्मेदवारी दिने बताए पनि घोषणा भने गरेका छैनन् ।  डा.प्रकाशमान सिंहले महामन्त्रीमा दाबी गरे पनि उठ्ने निश्चित भइसकेको छैन ।


कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही, बद्री पाण्डेले सह–महामन्त्रीमा उम्मेदवारीको घोषणा गरेका छन् । केही दिनअघि पाण्डेले सह–महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । पाँचथरका नेता भीष्मराज आङ्देम्बेले पनि सहमहामन्त्रीमा उम्मेदवारी दिने बताएका छन् । यस्तै, केन्द्रीय सदस्य जीवन परियारले पनि सह–महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । 


केन्द्रमा कस्तो समीकरण बन्छ, त्यहीअनुसार पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भनेर कुर्नेको संख्या पनि त्यत्तिकै छ । सबैभन्दा धेरै केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा भएको छ ।

 

उदयशमशेर राणा, जितजंग बस्नेत, मदन अमात्य, अजय शिवकोटी, रामपल्टन साह, नवराज गुरुङले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उम्मेदवारी घोषणा क्रम अझ बढ्न सक्ने देखिएको छ । किनकि, कांग्रेसको महाधिवेशन आउन अझै ३ दिन बाँकी छ ।


कांग्रेस पदाधिकारीमा उम्मेदवारी घोषणा गरेकाहरूले संस्थापन र वरिष्ठ नेता पौडेल पक्षको फेरो भने समाएका छन् । कतिपयले गुटगत रूपमै उम्मेदवारी घोषणा गरेका छन् भने कतिपयले उच्च नेताको ग्रिन सिग्न पाएर उम्मेदवारी दिएका हुन् ।


महाधिवेशनमा सहभागी हुन केन्द्रीय प्रतिनिधि काठमाडौं आउने क्रम सुरु भइसकेको छ । कांग्रेसले महाधिवेशनमा भाग लिन आउने प्रतिनिधिका लागि चार दिनसम्म खाना, खाजा र बास व्यवस्था गरिसकेको बताएको छ । काठमाडौं आउजाउ खर्च भने उम्मेदवार आफैंले बेहोर्नुपर्नेछ ।