close

माओवादीले प्रदेश समितिमा पदाधिकारीको संख्या बढायो 

माओवादीले प्रदेश समितिमा पदाधिकारीको संख्या बढायो 

Trulli
ADVERTISEMENT

काठमाडौं– नेकपा (माओवादी केन्द्र) ले प्रदेश समितिको पदाधिकारी र सदस्यको संख्या बढाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी समिति बैठकले प्रदेश समितिको पदाधिकारी सङ्ख्या ९ बनाउने निर्णय गरेको हो ।

 

बैठकले प्रदेश समिति एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय हुने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । यसअघि प्रदेश समितिमा सात सदस्यीय पदाधिकारी रहने व्यवस्था थियो ।


 
प्रदेश समितिको संख्या बढाउने निर्णय पनि भएको उनले बताए । ‘यसअघि प्रदेश समिति न्यूनतम् १७५ सदस्यीय हुने व्यवस्था थियो, तर त्यति सङ्ख्याले मात्र नपुग्ने भएकाले प्रदेश र सङ्घीय निर्वाचन क्षेत्रलाई आधार बनाएर थप्ने निर्णय भएको छ’, उनले भने ।


 
१ नं प्रदेशमा २५९, २ नं प्रदेशमा २७१, वाग्मतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ सदस्यीय समिति हुनेछ । पछिल्ला समय अन्य पार्टीबाट माओवादीमा प्रवेश गर्नेको सङ्ख्या बढ्दै गएको भन्दै पार्टी प्रवेश गर्नेको सन्दर्भमा अध्ययन गर्न नेता देवप्रसाद गुरुङको संयोजकत्वमा नेता गिरिराजमणि पोखरेल र पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकाल सदस्य रहेको कार्यदल बनाइएको उनले बताए ।


 
‘पार्टी प्रवेश गर्ने व्यक्तिले यसअघि कुन पार्टीमा कस्तो जिम्मेवारी सम्हाल्नुभएको हो, त्यसका बारेमा अध्ययन गर्ने र कस्तो राजनीतिक र साङ्गठनिक जिम्मेवारी दिने भन्ने विषयमा कार्यदलले अध्ययन गर्नेछ’, उनले भने ।


 
बैठकले पार्टीमा महिला प्रतिनिधित्व वृद्धि गर्न महिला विभाग गठन गर्ने निर्णय गरेको छ । विभागको प्रमुखमा पम्फा भुसाललाई तोकिएको छ । विभागलाई छिट्टै पूर्णता दिने निर्णय भएको उनले बताए । माओवादीले यसअघि विभिन्न ३४ वटा विभाग गठन गरिसकेको छ ।