close

कांग्रेस केन्द्रीय सदस्यमा जुम्लाबाट दुई महिला नेतृको उम्मेदवारी घोषणा

कांग्रेस केन्द्रीय सदस्यमा जुम्लाबाट दुई महिला नेतृको उम्मेदवारी घोषणा

Trulli
ADVERTISEMENT

जुम्ला– नेपाली कांग्रेसको शुक्रबारदेखि सुरु भएको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि जुम्लाका दुई महिला नेतृले उम्मेदवारी घोषणा गरेका छन् ।

 

चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवाल र युवा नेतृ तथा नेपाल निर्माण व्यवसायी महासंघकी केन्द्रीय सदस्य रामदेवी खड्काले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।

 

चन्दननाथ नगरप्रमुखसमेत रहेकी सेजुवालले कांग्रेसको केन्द्रीय सदस्यमा संस्थापन पक्षबाट उम्मेदवार घोषणा गरेकी हुन् । कांग्रेस जुम्लाका तत्कालीन सभापति मानव सेजुवालको हवाईजहाज दुर्घटनामा परी मृत्यु भएपछि उनकी पत्नी कान्तिका कांग्रेस जुम्लाको राजनीतिमा उदाएकी हुन् ।

 

स्नातकोत्तर अध्ययन गरेकी सेजुवाल शिक्षक पेसाबाट राजीनामा दिएर राजनीतिमा होमिएकी हुन् । स्थापन इतरबाट कांग्रेस केन्द्रीय सदस्यमा खड्काले उम्मेदवारी घोषणा गरेकी हुन् ।

 

खड्काले पार्टी नेतृत्वमा युवाको उपस्थिति र भूमिका, एक व्यक्ति, एक पद, पार्टी र सरकारको नेतृत्वमा युवा महिलाको उपस्थिति, जिम्मेवारी, असल र सफल नेतृत्व निर्माणजस्ता विषयमा सशक्त भूमिका रहने बताइन् । देशभरका महाधिवेशन प्रतिनिधिलाई आफ्नो मत दिनसमेत दुवै उम्मेदवारले आग्रह गरेका छन् ।

 

खड्का ०७४ को निर्वाचनमा कांग्रेसको समानुपातिक सांसदको बन्दसूचीमा परेकी थिइन् । विद्यार्थी जीवनदेखि राजनीतिमा सक्रिय नेतृ खड्काले आफ्नो उम्मेदवारी पार्टीलाई बलियो बनाउन भएको बताइन् ।