close

संविधान र संघीयतालाई सही दिशामा अघि बढाउन देउवाको नेतृत्व आवश्यक : पूर्णबहादुर खड्का 

संविधान र संघीयतालाई सही दिशामा अघि बढाउन देउवाको नेतृत्व आवश्यक : पूर्णबहादुर खड्का 

Trulli
ADVERTISEMENT

जनताले कांग्रेसप्रति भरोसा गरेका छन् । त्यसैले कांग्रेसले प्रतिस्पर्धा, सहमति र एकतालाई सँगसँगै लगेको छ । यो महाधिवेशनबाट फर्केर जाँदै गर्दा पार्टीको सिंगो एकताको संकल्प बोकेर जानु छ । ६ महिनापछि हुने स्थानीय तह र त्यसपछि हुने प्रदेश तथा संघको चुनावमा कांग्रेसलाई बहुमत दिलाउनु छ । त्यतिमात्र होइन, केपी ओली नेतृत्वको सरकारको सर्वसत्तावादी निर्णय र दृष्टिकोणले संघीयतालाई हल्लाउने काम गर्‍यो । संवैधानिक संरचना भत्काउने काम गर्‍यो । अब कुनियतका कारण बिग्रेको प्रणालीलाई ‘लिक’ मा ल्याउने जिम्मेवारी कांग्रेसको काँधमा आइपुगेको छ । संविधानको संरक्षण र रक्षा गर्ने, संविधानले परिकल्पना गरेका जनताका हक, अधिकारको संरक्षण र सुरक्षा गर्ने जिम्मेवारी कांग्रेसले वहन गर्नुपर्नेछ । जनताले महाधिवेशनबाट नयाँ र रूपान्तरित कांग्रेस कस्तो हुन्छ भनेर व्यग्रतापूर्वक हेरेका छन् ।

 

२०७४ को निर्वाचनपछि कसैले कल्पना नगरेको अवस्थामा कांग्रेसले सरकारको नेतृत्व गरिरहेको छ । प्रदेशहरूमा पनि कांग्रेसका सरकार छन् । कतै नेतृत्वमा छ, कतै सत्ता साझेदार छ । हामीले सम्झनै पर्छ– अहिलेको परिस्थिति निर्माण कर्णाली प्रदेशबाट सुरु भएको हो । त्यहाँका कांग्रेसका सांसदले माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको पार्टीसँग मिलेर देशलाई नयाँ आयाममा अघि बढाएका हुन् । यसकै कारण अहिले देशभर कांग्रेसको नेतृत्व छ । अब कांग्रेसले देशको नेतृत्वमात्र नभई संविधान, संघीयता र लोकतान्त्रिक अधिकारको संरक्षण गर्नुपर्नेछ । जनतामा विश्वास, भरोसा र नयाँ आशाको वातावरण सिर्जना गरेर अघि बढ्नुपर्ने अवस्था आएको छ । महाधिवेशनमा भएको प्रतिस्पर्धा आन्तरिक लोकतन्त्रको उच्चतम नमुना हो । अब यहाँबाट एकताको, जनताप्रति समर्पणको र दृढताको नयाँ सन्देश बोकेर जानुपर्छ । प्रतिस्पर्धाहरूलाई महाधिवेशनस्थलमै छोडेर जानुपर्दछ । त्यसो भयो भनेमात्र कांग्रेसलाई देशको पहिलो पार्टी बनाउन सकिन्छ । बीपी कोइराला, सुवर्णशमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाजस्ता युग पुरुषले देखाएको बाटोलाई आत्मसात् गरेर, राष्ट्रियता, लोकतन्त्र र समाजवादको संकल्पलाई पनि चरितार्थ गर्न सकियो भने महाधिवेशन साँच्चिकै देश र जनताको पक्षमा हुनेछ ।

 

देश संघीयतामा गइसकेपछि कांग्रेसले पनि विधानलाई समावेशी बनाएको छ । अहिले वडादेखि केन्द्रसम्मका संरचना सबै जाति, वर्ग र समुदायको साझा फूलबारी बनेको छ । नयाँ विधानअनुसार पार्टीलाई समृद्ध र सुदृढ बनाउने, नवीनता दिने जिम्मेवारी र अवसर उहाँलाई दिइनुपर्छ । त्यतिमात्र होइन, तत्कालीन नेकपाको झन्डै दुईतिहाइ बहुमतपछि बनेको केपी ओली नेतृत्वको सरकारलाई विस्थापित गरेर हाम्रा सभापतिको नेतृत्वमा सबै लोकतान्त्रिक शक्तिलाई विश्वासमा लिएर संयुक्त सरकार बनेको छ । यसको निरन्तरता र डरत्रासमुक्त शासन सञ्चालन अहिलेको आवश्यकता हो । ओली सरकारले जोखिममा पारेको संविधान, संघीयतालाई सही दिशामा अघि बढाउनका लागि पनि देउवाको नेतृत्वको निरन्तरता आवश्यक छ ।

 

हामीले पार्टीलाई विधानमा नवीनता त दिएका छौं तर जनताको जीवनशैलीसँग कसरी जोड्ने भन्ने प्रमुख चुनौती हो । कांग्रेसका नेता–कार्यकर्ता सुविधाभोगी भए, जनताबाट टाढा भए भन्ने आमगुनासो बढेको छ । अब कांग्रेसलाई जनताको वास्तविक साथी कसरी बनाउने भन्नेबारे कार्ययोजना बनाउनुपर्छ । शासनमा बस्दा चाहे वडाको होस्, चाहे पालिका हुँदै केन्द्रको होस्, कम्तीमा शासनमा बस्दा जनताको मन दुख्ने काम गर्नु हुँदैन । सुधारका कार्यक्रम सञ्चालन गरिनुपर्छ । कांग्रेसले पार्टीभित्र मात्र नभई शासन सञ्चालनमा समेत ध्यान दिनुपर्ने आवश्यकता छ । अर्को कुरा पार्टी पुनर्निर्माणतर्फ पनि उत्तिकै ध्यान दिनुपर्नेछ । पार्टी वैचारिक तथा सैद्धान्तिक आधारमा अघि बढेको हुन्छ तर भएका विधि, विधान र नियममा बाँधेर कसरी पार्टी चलाउने भन्नेबारे पनि गम्भीर ढंगले सोच्नुपर्छ । (कुराकानीमा आधारित)