close

शहरी विकासमन्त्री झाँक्री भन्छिन् : स्थानीय तहले सम्भावनाको खोजी गर्नुपर्छ 

शहरी विकासमन्त्री झाँक्री भन्छिन् : स्थानीय तहले सम्भावनाको खोजी गर्नुपर्छ 

Trulli
ADVERTISEMENT

महोत्तरी– शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले स्थानीय तहले आफ्ना ठाउँको सम्भावना पहिल्याउनुपर्ने बताएकी छिन् । बुधबार महोत्तरीको धार्मिकस्थल मटिहानीका देवस्थलको दर्शन र पूजा, आराधना एवं अवलोकनपछि मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलसहितका जनप्रतिनिधि र सञ्चारकर्मीसँग मन्त्री झाँक्रीले स्थानीयतहको प्रयत्नमा सङ्घीय सरकारको साथ रहने उल्लेख गरिन् । मन्त्री झाँक्रीले मटिहानी–७ स्थित श्री लक्ष्मीनारायण मठको अवलोकन गर्न सँगै भगवान लक्ष्मीनारायणको दर्शन र पूजा, आराधना गरिन् ।

 

मटिहानी भ्रमणका क्रममा मन्त्री झाँक्रीले अति पुरानो पुरातात्विक महत्वको लक्ष्मीसागर तलाउको अवलोकन गरिन् । लक्ष्मीसागर अघि त्रेता युगमा रामसीताको विवाहमा वेदि बनाउन माटो खनिएको ठाउँ भएको विश्वास गरिन्छ । मन्त्री झाँक्रीले मटिहानी धार्मिकस्थलका रुपमा परिचित ठाउँ भएको हुँदा यस ठाउँको विकासका लागि धार्मिक पर्यटनभित्रका विविध सम्भावनाको खोजी गर्न स्थानीय जनप्रतिनिधिलाई सुझाव दिइन् ।

 

‘यो मटिहानी त्रेता युगकालीन कथानकसँग जोडिएको पवित्रस्थलका रुपमा परिचित छ’, मन्त्री झाँक्रीले भनिन्, ‘यो इतिहास र जनविश्वासलाई टेकेर धार्मिक पर्यटन विकासको सम्भावना पहिल्याउनुहोस्, सरकार तपाईहरूका साथमा छ ।’ उनले मटिहानीको शहरी विकासका लागि स्थानीय तह र प्रदेश सरकारले पहलकदमी लिनुपर्ने र सङ्घीय सरकारको साथ सहयोग रहने विश्वास दिलाए ।

 

मन्त्री झाँक्रीलाई नगरप्रमुख मण्डलले लक्ष्मीनाराण मठ, लक्ष्मीनारायण मन्दिर र लक्ष्मीसागरको विस्तृत जानकारी गराउँदै आफ्नो नगर संस्कृत शिक्षाको आदि भूमि रहेको बताए । मटिहानीमा बालगुरु षडानन्दले शिक्षा आर्जन गर्नुभएको मानिने ३०३ वर्ष पुरानो संस्कृत पाठशाला अहिले राजकीय संस्कृत माध्यमिक विद्यालयका नाउँमा सञ्चालित छ । सँगै यही नै संस्कृततर्फ स्नातकोत्तरसम्म अध्ययन, अध्यापन हुने महामुनि याज्ञवल्क्य र लक्ष्मीनारायण मठको संयुक्त नाउँमा याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) सञ्चालित छ ।

 

मन्त्री झाँक्रीले धार्मिक पर्यटनको विकास प्रयत्नमा नगरपालिकाले सम्पन्न गरेको अघि बढाएका योजनाको जानकारी लिइन् । उनलाई नगरका तर्फबाट नगर प्रमुख मण्डलले दोसल्ला ओढाएर सम्मान गरे । मन्त्री झाँक्रीको भ्रमणटोलीमा शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालको पनि उपस्थिति थियो ।