close

कांग्रेस सहमहामन्त्रीमा उपाध्याय, परियार र आङ्दाम्बे विजयी

कांग्रेस सहमहामन्त्रीमा उपाध्याय, परियार र आङ्दाम्बे विजयी

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाली कांग्रेसको महिलातर्फको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी भएकी छिन् । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत २७ गते भएको निर्वाचनको बिहीबार अबेर सम्पन्न मतगणनामा २ हजार ५३३ मत ल्याएर महिलातर्फ सहमहामन्त्रीमा उपाध्याय विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी कमला पन्तले २ हजार १०५ मत ल्याएकी छिन् । महिलातर्फ कूल चार हजार ६५० मत खसेकामा ५४ मत बजर भएको कांग्रेसको केन्द्रीय निर्वाचन समिति सदस्य सीताराम केसीले जानकारी दिए ।

 

यसैगरी दलिततर्फको सहमहामन्त्रीमा जीवन परियार विजयी भएका छन् । उनी २ हजार २१२ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी मानबहादुर विश्वकर्माले २ हजार १७५ र गङ्गा सुनारले २२९ मत प्राप्त गरेका छन् । दलिततर्फ कूल ४ हजार ६७० मत खसेको थियो ।

 

त्यस्तै कांग्रेसको जनजाति क्लस्टरअन्तर्गत सहमहामन्त्रीमा भीष्मराज आङ्दाम्बे २ हजार ७११ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी विकास लामाले १ हजार ९१३ मत प्राप्त गरेका छन् । आदिवासी जनजातीतर्फ कूल ४ हजार ६८१ मत खसेको थियो । कांग्रेसको सभापतिबाहेकका पदाधिकारी र सदस्यको पार्टी केन्द्रीय कार्यालय सानेपामा मतगणना भइरहेको हो । कांग्रेस सहमहामन्त्रीमा आठ जना निर्वाचित हुने व्यवस्था छ ।