close

एमाले र माओवादी जनप्रतिनिधिबाट गोरखा नगरसभा तयारी बैठक वहिष्कार 

एमाले र माओवादी जनप्रतिनिधिबाट गोरखा नगरसभा तयारी बैठक वहिष्कार 

Trulli
ADVERTISEMENT

गोरखा–गोरखा नगरपालिकाको शुक्रबार हुने नवौँ नगरसभा तयारीका लागि डाकिएको बिहीबारको बैठकमा एमाले र माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्षले वहिष्कार गरेका छन् ।


समन्वय नगरी पूर्वाग्रही ढंगले वडाका योजना छनोट गरी बजेट विनियोजन गरेको भन्दै उनीहरूले बैठक वहिष्कार गरेका हुन् । ‘कोभिडका कारण भन्दै यसअघि वडामा परेका केही योजनाको बजेट पनि रकमान्तरन गरे,’ वडा नम्बर १३ का वडाध्यक्ष हरि खनालले भने, ‘अहिले वडामा नयाँ योजना छनोट गर्दा पनि हामीसँग सरसल्लाह नगरी मनपरी ढंगले गरेपछि विरोध गरेका हाँै ।’


आवश्यकताको आधारमा भन्दा राजनीतिक पूर्वाग्रह प्रेरित भएर बजेट बाँडफाँट गरिएको उनले बताए । वडा नम्बर ११ का वडाध्यक्ष रामबहादुर खड्काले नगर कार्यपालिका बैठक बसेर आवश्यक छलफल गरी योजना छनोट गर्नुपर्नेमा त्यसो नगरिएको दाबी गरे । ‘वडामा योजना छनोट गर्दा सम्बन्धित वडाध्यक्षसँग समन्वय गर्नुपथ्र्याे, हामीसँग छलफल गरेर कहाँ कुन योजना आवश्यक छ, त्यहीअनुसार योजना छनोट गर्नुपर्ने हो । तर, हामीसँग एकपटक पनि छलफल गरेनन्,’ उनले भने ।

 

एकलौटी ढंगले साना योजनामा रकम बाँडफाँट गरिएको भन्दै उनले आक्रोश व्यक्त गरे । ‘हाम्रो पार्टीमा आउने भए योजना पारिदिन्छु भन्दै फकाएको भन्ने सुनेका छौँ । यसरी राजनीतिक हिसाबले चुनाव लक्षित गरी योजना छनोट गर्नु उपयुक्त हुँदैन,’ खड्काले भने । शुक्रबार हुने नगरसभामा सहभागी हुने तर माग पूरा नभएसम्म सभा चल्न नदिने उनीहरूले बताए । वडा नम्बर ३, ७, १०, ११, १३ र १४ का अध्यक्षले बैठक वहिस्कार गरेका हुन् ।