close

इटहरीमा मुख्यमन्त्री राईलाई देखाइयो कालो झन्डा 

इटहरीमा मुख्यमन्त्री राईलाई देखाइयो कालो झन्डा 

Trulli
ADVERTISEMENT

इटहरी/सुनसरी– प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई दोस्रो दिन पनि एमाले निकट अनेरास्ववियु र राष्ट्रिय युवा संघले कालो झन्डा देखाएका छन् । प्रदेश १ सरकारले मन्त्रालय फुटाएको विरोधमा एमाले निकट विद्यार्थी संगठनले मुख्यमन्त्रीलाई लगातार दुई दिनदेखि कालो झन्डा देखाएका हुन् ।

 

दलीय भागबन्डा मिलाउन पाँच दलीय गठबन्धनको प्रदेश १ सरकारले मन्त्रालय विभाजन गरेको विरोधमा शुक्रबार अनेरास्ववियु र राष्ट्रिय युवा संघले इटहरीमा मुख्यमन्त्री राईलाई कालो झण्डा देखाएका हुन् । अनेरास्ववियु केन्द्रीय कमिटीका सचिवालय सदस्य तथा सुनसरी इन्चार्ज जीबी गजल नेतृत्वको  करिब ३० विद्यार्थीको समूहले मुख्यमन्त्रीलाई कालो झन्डा देखाएको हो ।

 

प्रदेशको अर्थतन्त्रले धान्न नसक्ने गरी गठबन्धन सरकारले ७ मन्त्रालयलाई १२ वटामा विभाजन गरेकाले आन्दोलन गर्नुपरेको अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य तथा सुनसरी इन्चार्ज जीबीले बताए । उनले सरकारद्वारा मन्त्रालय विभाजनको निर्णय नसच्याएसम्म आन्दोलन जारी रहने दाबी गरे ।

 

प्रदेश मन्त्रिपरिषद्को आइतबारको बैठकले मन्त्रिपरिषद् कार्य विभाजन नियमावली संशोधनसहित पारित गर्दै मन्त्रालय विस्तार गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सोही निर्णयबमोजिम प्रदेश १ मा तत्काल कायम रहेका ७ मन्त्रालयलाई हाल १२ वटामा विभाजन गरिएको छ । 

 

स्वास्थ्य, सामाजिक विकास, सडक पूर्वाधार तथा सहरी विकास, खानेपानी, ऊर्जा तथा सिँचाइ, उद्योग, श्रम तथा रोजगार, वन, वातावरण तथा भू–संरक्षण, संस्कृति तथा पर्यटन, कृषि तथा पशुपक्षी विकास र भूमि व्यवस्था, सहकारी तथा यातायात व्यवस्था साविकका ४ मन्त्रालय विभाजनपछि बनेका नयाँ ९ मन्त्रालय हुन् । यसअघि अनेरास्ववियुका कार्यकर्ताले बिहीबार मुख्यमन्त्री राईलाई विराटनगरमा कालो झन्डा देखाएका थिए ।