close

कमल थापाले छाडे राप्रपा

कमल थापाले छाडे राप्रपा

Trulli
ADVERTISEMENT

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । थापा गत मंसिरमा भएको राप्रपा महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए । उनले आफूलाई हराउन निर्मल निवासले खेलेको दाबी गर्दै छानबिन गर्न अध्यक्ष लिङ्देनलाई चुनौती दिँदै आएका थिए ।


सुरुमा यसबारे छलफल गर्न अस्वीकार गरेका अध्यक्ष लिङ्देनले शनिबार थापालाई भेटेर मागबारे छलफल भइरहेको र छिट्टै निकास निस्कने जानकारी दिएका थिए । सोमबार आफू पक्षीय नेताहरूको भेला गरेर गृहनगर हेटौंडा पुगेका पूर्वअध्यक्ष थापाले मंगलबार पार्टी परित्यागको घोषणा गरेका हुन् ।


थापाले भनेका छन्, ‘पार्टीसँग ३१ वर्ष लामो सम्बन्ध आजबाट टुट्न गएको छ, म राप्रपाबाट अलग भएको छु ।’ पार्टीभित्र सैद्धान्तिक विचलन र गलत प्रवृत्ति हाबी भएकाले त्यसलाई सुधार गरेर जाने आफ्नो चाहनाको सुनुवाइ नभएकाले अलग भएको उनको भनाइ छ ।


निर्णय दुर्भाग्यपूर्ण : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छाड्ने घोषणा गर्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।  थापाले पठाएको पत्रको विषयमा पार्टीको शीर्ष तहमा छलफल भई समाधानको उपाय खोज्ने अन्तिम प्रयास भइरहेका बेला यस प्रकारको निर्णय हुनु अनपेक्षित भएको उनको भनाइ छ ।

 

उनले थापालाई निर्णय सच्याउन आग्रह गरेका छन् भने थापाको निर्णयबाट विचलित नहुन पार्टी कार्यकर्ता र शुभेच्छुकलाई आग्रह गरेका छन् ।