close

एमाले चितवन अध्यक्षमा न्यौपाने

एमाले चितवन अध्यक्षमा न्यौपाने

Trulli
ADVERTISEMENT

चितवन– नेपाल कम्युनिस्ट पार्टी एमाले चितवनको अध्यक्षमा रामप्रसाद न्यौपाने चुनिएका छन् । १०औँ जिल्ला अधिवेशन उद्घाटन भएको १ महिनापछि एमाले चितवनले नयाँ नेतृत्व पाएको हो । एमाले चितवन उपाध्यक्षमा कमलराज पाठक, सचिवमा शैलेश खनाल, सहसचिवमा चन्द्रकान्त न्यौपाने र प्रकाश ढुंगाना चयन भएका छन् ।

 


निर्वाचन मण्डलका अनुसार बुधबार दिउँसो १ बजे नवनिर्वाचित कमिटीको पद तथा गोपनीयताको सपथ कार्यक्रम एमाले पार्टी कार्यालय भरतपुरमा राखिएको छ । एमाले अध्यक्ष बनेका न्यौपाने यसअघि नेकपाको भरतपुर महानगर कमिटी अध्यक्ष थिए । एमाले अध्यक्षका लागि न्यौपानेसँगै कृष्ण भुर्तेल र तेजेन्द्र खड्काले पनि इच्छा देखाएका थिए ।

 

निर्वाचन मण्डलका संयोजक तथा एमाले चितवनका जिल्ला इन्चार्ज देवी ज्ञवालीले सबै भूगोल, पालिका, महिला, लिंग, जातजाति आदिको आधारमा नयाँ कमिटी गठन गरिएको बताए । पार्टी सचिव बनेका शैलेश खनाल रामबहादुर थापा समूहका हुन् । उनी यसअघिको कमिटीमा पनि सचिव थिए । एकता प्रक्रियाबाट आएका झन्डै १५ जना जिल्ला कमिटीमा समेटिएका छन् ।

 

एमालले भरतपुर महानगरबाट २० पुरुष र १२ महिला, रत्ननगर नगरपालिकाबाट ७ पुरुष र ५ महिला, खैरहनी नगरपालिकाबाट ७ पुरुष र ५ महिला, राप्ती नगरपालिकाबाट ७ पुरुष र ५ महिला, कालिका नगरपालिकाबाट ५ पुरुष र ३ महिला, माडी नगरपालिकाबाट ५ पुरुष र २ महिला तथा इच्छाकामना गाउँपालिकाबाट ३ पुरुष र २ महिला जिल्ला कमिटीमा समेटिएका छन् । 

 

निर्वाचन क्षेत्रका आधारमा समेत जिल्ला कमिटीका सदस्यको प्रतिनिधित्व गराइएको छ । एमाले चितवनका नेताहरूलाई जिल्ला अधिवेशनकै क्रममा कोरोना संक्रमण भएको तथा निर्वाचन मण्डलका संयोजक ज्ञवालीका पिताको निधन भएकाले नयाँ नेतृत्व चयनमा ढिलाइ भएको हो ।